काठमाडौंमा कांग्रेसलाई साख



 

जोगाउन मुस्किल
दोस्रो चरणअन्तर्गत मंसिर २१ गते निर्वाचन हुने काठमाडौंको चुनावी माहोल अझै तातिसकेको छैन्। मुलुकको राजधानीसमेत रहेको काठमाडौंमा उम्मेदवारहरू घरदैलो र कोणसभा गर्दै चुनाव प्रचारप्रसारमा जुट्न थालेसँगै यहाँ चुनावी माहोल विस्तारै बढ्दै भने गएको छ। प्रदेश नम्बर ३ अन्तर्गत पर्ने काठमाडौं जिल्लामा रहेका १० वटा क्षेत्रमध्ये कांग्रेसले ९ वटा क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ भने एउटा क्षेत्रमा गठबन्धनका तर्फबाट राप्रपालाई सघाउने भनेको छ।

प्रतिनिधिसभातर्फ कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, २ मा दीपक कुइकेल, ३ मा अम्बिका बस्नेत, ४ मा गगन थापा, ५ मा डा. प्रकाशशरण महत, ६ मा भीमसेनदास प्रधान, ८ मा नवीन्द्रराज जोशी, ९ मा ध्यानगोविन्द रञ्जित र १० मा राजनकुमार केसीलाई उम्मेदवार बनाएको छ। यीमध्ये केही कांग्रेसका प्रभावशाली नेता छन्। प्रतिनिधिसभातर्फ कांग्रेसले जित्ने दाबी गरेको ७२ सिटमध्ये काठमाडौंमा ४ सिट जित्ने अनुमान गरेको छ।

आन्तरिक रुपमा गुट उपगुटमा विभाजित कांग्रेस एक ढिक्का भएर चुनावमा होमिएको जनाए पनि टिकट वितरणमा भएको असन्तुष्टि प्रकट गर्दै काठमाडौंमा कांग्रेस (वीपी) को नाममा समेत केही नेताले उम्मेदवारी दिएका छन्। विकल्प शक्तिका रुपमा देखा पर्न लागेका विवेकशील साझा पार्टीका प्रभावशाली नेताले पनि काठमाडौंमा उम्मेदवारी दिएका छन्। स्थानीय निर्वाचनमा वैकल्पिक शक्ति र आन्तरिक विवादका कारण अन्य जिल्लामा जस्तै काठमाडौंमा पनि अनपेक्षित हार व्यहोरेको कांग्रेसलाई २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि सकस भएको छ। प्रारम्भिक अनुमानमै कांग्रेसले जितको आकलन गरेको काठमाडौंका केही क्षेत्र भने विवेकशील साझा पार्टी प्रमुख चुनौतीका रुपमा देखिएको छ। प्रमुख वाम घटक दल नेकपा एमाले र माओवादी केन्द्र संयुक्त चुनावी मोर्चामा होमिएका बेला काठमाडौंका केही क्षेत्रमा विवेकशील साझा पार्टीको चुनावी प्रचारप्रसार आक्रमक भएसँगै जित निश्चित भनिएका क्षेत्रमा पनि कांग्रेस अत्तालिएको छ।
काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंह यस क्षेत्रका चर्चित उम्मेदवार हुन्। गणेशमान सिंहका लिगेसी मात्र हैन कांग्रेस राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाइसकेका कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले आफ्नो क्षेत्रमा प्रतिस्पर्धी नै नभएको बताइरहेका छन्।

यही क्षेत्रमा विवेकशील साझा पार्टीका चर्चित उम्मेदवार रवीन्द्र मिश्र चुनावी मैदानमा छन्। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी नेता अनील शर्माको भन्दा बढी चर्चा भइरहेको मिश्रको भनाइ पनि सिंहको जस्तै चुनावी मैदानमा आफूले हार्ने कुनै संकेत नभएको भन्ने छ। काठमाडौं क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चुनावी मैदानमा छन्। कांग्रेस नेता कुइँकेललाई आफ्ना प्रमुख प्रतिपक्ष उम्मेदवार नेपाललाई पाखा लगाउन हम्मेहम्मे पर्ने छ। यही क्षेत्रमा विवेकशील साझा पार्टीले डा. सूर्यराज आचार्यलाई उम्मेदवार बनाएको छ।
काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले मन्त्री अम्बिका बस्नेतलाई उठाएको छ भने वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष कृष्ण राईलाई उठाएको छ। यो क्षेत्र एमालेको पकेट क्षेत्र हो।

काठमाडौंका चर्चित क्षेत्रमध्ये क्षेत्र नम्बर ४ र क्षेत्र नम्बर ५ पनि पर्दछन्। क्षेत्र नम्बर ४ मा वाम गठबन्धनबाट एमालेका डा. राजन भट्टराई र विवेकशील साझाबाट सबुना बस्नेत चुनावी मैदानमा छन्। चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका भट्टराई र बस्नेतको तुलनामा कांग्रेसका उम्मेदवार थापा यो क्षेत्रमा बलियो उम्मेदवार भएको अनुमान गरिएको छ। क्षेत्र नम्बर ५ मा भने कांग्रेसका डा. प्रकाशशरण महतलाई चुनाव जित्न सजिलो नभएको बताइन्छ। यसअघि कांग्रेस नेता नरहरी आचार्यले चुनाव जित्दै आएको यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेका प्रभावशाली नेता ईश्वर पोखरेल र विवेकशील साझाका संयोजक उज्ज्वल थापा चुनावी मैदानमा छन्। प्रमुख प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार पोखरेल नै हुने अनुमान गरेको कांग्रेसले विवेकशील साझा पार्टीले कति मत लैजान्छ भन्ने अनुमान गर्न सकेको छैन।

मतदाताको घरदैलो अभियानमा गइरहेका काठमाडौं क्षेत्र नम्बर ८ का कांग्रेस उम्मेदवार नवीन्द्रराज जोशी आफूले जित्नेमा ढुक्क भएको भन्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो क्षेत्रमा सधैं मतदाताका घरदैलोमा पुगेको छु। साथै यहाँका जनताको दुःख कष्टमा साथ दिनुका साथै विकास निर्माणमा पनि आफूले पुर्याएको योगदानका बारेमा यहाँका जनतालाई राम्रोसँग थाहा छ।’ जहिले पनि यो क्षेत्रबाट चुनाव जित्दै आएका जोशीले चुनावी मैदानमा आफ्ना प्रमुख प्रतिद्वन्द्वी वाम गठबन्धनका जीवनराम श्रेष्ठ नै हुने बताउनुहुन्छ।

त्यस्तै क्षेत्र नम्बर ९ मा कांग्रेसका ध्यान गोविन्द रञ्जित र एमालेका कृष्ण गोपाल श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।यहाँ अहिले माओवादी र एमालेबीच चुनावी तालमेल भएकाले श्रेष्ठको पल्लाभारी भएको बताइएको छ।

यसअघि सम्पन्न संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हराएर चर्चामा आएका काठमाडौं क्षेत्र नम्बर १० का उम्मेदवार राजनकुमार केसी यो पटक अझै फराकिलो मत अन्तरले आफू विजयी हुने बताउनुहुन्छ। यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हितमान शाक्य चुनावी मैदानमा छन्। सत्तारुढ दल नेपाली कांग्रेसलाई काठमाडौंमा पुरानो साख जोगाउन मुस्किल परिरहेको सन्दर्भमा काठमाडौं जिल्लाका पूर्वसभापति एवं क्षेत्र नम्बर ६ का उम्मेदवार भीमसेनदास प्रधान भन्नुहुन्छ– ‘स्थानीय चुनावको परिणाम र वाम गठबन्धनका कारण काठमाडौंमा कांग्रेसलाई अप्ठेरो परेको भनिए पनि अनपेक्षित मत ल्याएर कांग्रेस विजयी हुन्छ।’

प्रतिक्रिया दिनुहोस्