आउँदो मंसिर २१ हुने प्रतिनिधिसभाको निर्वाचनमा ललितपुर क्षेत्र नं १ मा वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा एमालेबाट नवराज सिलवालले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। प्रहरी नायब महानिरीक्षकबाट अवकाश लिएर राजनीतिमा प्रवेश गर्नुभएका उम्मेदवार सिलवालसँग नेपाल समाचारपत्रका लागि सुनील महर्जन र सुरेश तामाङले गरेको कुराकानीको सम्पादित विवरणः

तपाईंको उम्मेदवारी किन ?

म चुनाव लडेको निर्वाचन क्षेत्रमा अधिकांश जनता गरिबीको मारमा छन्। राज्यको स्रोत र साधनबाट विमुख छन्। जनता राज्यका पहुँचसम्म पुग्न नसकेका मुद्दा छन्। आर्थिक रुपमा परिवार, व्यक्तिलाई स्वावलम्बन नबनाइकन यो विकासका जतिसुकै कुरा गरे पनि त्यसले जनताको जीवनस्तमा खासै प्रभावित पार्ने भएन। सडक बनाउने भनियो। सडक बनायो। सडकमा धुलो छ। सडक वरपरका घरका मान्छे पूरै रोगी भएका छन्। बिहान उठ्नेबित्तिकै स्वच्छ हावाको सट्टा धुलो खान बाध्य छन्। अब विकासका नाममा मान्छेको स्वास्थ्य खराब हुने स्थिति भएको छ। विकासलाई योजना बनाएर सन्तुलित रुपमा गर्नुपर्ने हो त्यो देखिएन। कृषि पेसा निर्वाहमुखी हिसाबले गरिरहेका छन्। उद्योगधन्दा छैनन्।

भूकम्पपीडित अझै पनि पालमुनि बास बस्न बाध्य छन्। उनीहरूले राज्यबाट पाउनुपर्ने किस्ता पाउन सकिरहेका छैनन्। र त्यो ठाउँसम्म हामीले चुनेर पठाएका जनप्रतिनिधिसमेत पुग्न सकेका छैनन्। भोट माग्न मात्रै त्यस ठाउँमा पुग्ने गर्दछन्। त्यसपछि पुग्दैनन्। यसमा उनीहरूमा वितृष्णा उत्पन्न भएको छ। त्यसलाई चिरेर कृषिमा पर्यटनका सम्भावनाहरू, विद्युत्का सम्भावनाहरूमा सहकारीसँग माइक्रो क्रेडिट जोडेर प्रत्येकको घरघरमा महिलालाई पनि उत्प्रेरित गर्नुपर्दछ। उनीहरूले पनि आफैं काम गर्न सक्ने बनाउने भनेर आर्थिक समृद्धिको नारालाई मैले महत्त्वपूर्ण रुपमा उठाएको हुँ।

जहाँ स्वास्थ्यचौकी छन् त्यहाँ स्वास्थ्य कर्मचारी छैनन् अथवा कर्मचारी छन् औषधी छैन। ललितपुरको दक्षिण भेगका बासिन्दा कर्णालीजस्तै बत्तीमुनिको अँध्यारोमा छन्। अझै पनि त्यहाँका महिलाहरू सुत्केरी हुन अस्पताल सही समयमा पुग्न नसकेर बीच बाटोमा प्राण त्याग्नुपरेको दुरावस्था ज्युँका त्युँ छन्। त्यसकारण स्वास्थ्य, शिक्षाका कुरा, स्वच्छ पिउने पानीका कुरालगायतका राज्यले नागरिकलाई नदिईश नहुने आधारभूत कुरा जोड्ने, गाउँमै बसेर पनि समृद्धि ल्याउन सकिने भएकाले त्यहीं विकास भएको कृषि खेतीलाई आधुनिक प्रविधिसँग जोडेर आर्थिक समृद्धि ल्याउनका लागि सहयोग गर्न मैले उम्मेदवारी दिएको हुँ।

तपार्इं लामो समय राज्यको एउटा महत्त्वपूर्ण निकाय नेपाल प्रहरीमा काम गर्नुभएको व्यक्ति। त्यतिबेला दक्षिण भेगका जनताको कष्टकर अवस्था वा राज्यको विभेदको अनुभूति गर्नुभएको थियो त ?

मैले यसरी नजिकबाट हेरेको थिइनँ। मैले शान्ति सुरक्षाको कोणबाट मात्र हेर्थंे। त्यसकारण यहाँ राज्यको सेवा सुविधाबाट वञ्चित, पीछडिएका, जनप्रतिनिधिको पहँुचबाट बाहिर रहन्छ होला भन्नेचाहिँ सोचेको थिइनँ।

अहिलेको विन्दुबाट हेर्दाखेरी राज्यको बनोट कस्तो पाउनुभयो त ?

यही जिल्ला सदरमुकामबाट ३०⁄३५ किमिका गाउँमा त यस्तो स्थिति छ भने, बाहिरको अवस्था कस्तो होला ? राज्य त खालि सिंहदरबारभित्र मात्रै सीमित रहेर बसेको छ। राज्य पहुँचवालाहरूमा मात्रै पुग्ने। जो गरिब छ, निमुखा छ, जो कुनै समूहमा सक्रिय रुपमा छैन। त्यसता जनता धेरै छन्, जो मजदुर छन्, किसान छन्। ती तहका जनता राज्यका पहुँचभन्दा बाहिर भएको अनुभुति भएको छ। त्यो अत्यन्तै दुःखद कुरो हो। राज्यको यस्तो पराकाष्ठा उदासीनता देख्दा एक किसिमले दुःख पनि लागेको छ भने अर्काे कुरा यसलाई जोडेर अगाडि जानुपर्दछ र यसलाई फेरि जहाँ–जहाँ खाली ठाउँ छन्, त्यसलाई भरेर जानुपर्दछ भन्ने सकारात्मक सोच पनि मैले अगाडि बढाउँदै लगेको छु।

तपाईंले घरदैलो अभियान शुरू गर्नुभएको छ। यस क्रममा जनताको आकांक्षा के–कस्तो पाउनुभएको छ ?

यस भेगका जनताले हामीले चुनेर पठाएका उम्मेदवार सुख दुःख पर्दा बारबार घरदैलोमा आइपुगोस्। हाम्रा समस्या सुनोस्। विकासका कुरा अगाडि बढाइयोस्, सामाजिक सवालका विषयमा छलफल गरोस्। फेरि अर्काे ५ वर्षपछि भोट माग्न आउँदा गर्न नसक्ने सपना बाँड्नुको सट्टा गर्न सक्ने काम मात्रै भनोस्। गर्न सक्ने कुरामा मात्रै प्रतिबद्धता दियोस् भन्ठान्नुहुन्छ। त्यसकारण मैले एकदमै ठूल्ठूला कुरा गरेको छैन।

मैले सामान्य रुपमा कृषिलाई प्रविधिमा जोडेर अगाडि बढन सक्छौं। त्यस्तै अर्काे पर्यटनको सम्भावना रहेका स्थानमा होमस्टेको प्रवद्र्धन गरेर आर्थिक आर्जन गर्न सकिन्छ। हाम्रा युवालाई त्यहीं रोजगारी सिर्जना गर्न सकिन्छ। मासखण्ड, दलचोक जस्ता पर्यटनका उच्च सम्भावना बोकेका अनेकन ठाउँ छन् जहाँ राज्यको लगानी मात्रै होइन स्थानीय निजी लगानीकर्तालाई उत्साहित गरेर व्यवस्थित ढंगले गरियो भने पनि विकासलाई मजबुत बनाउन सकिन्छ। महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनका लागि पनि जोड दिनुपर्दछ। किनकि यसो भएमा महिला भोलि उत्पीडन र शोषणमा पर्ने सम्भावना रहन्न।

निर्वाचनमा तपार्इंले किन जित्नै पर्दछ ?

आर्थिक समृद्धिका लागि अगाडि बढ्नुपर्ने जति पनि समस्या छन् त्यसका लागि आर्थिक समृद्धिका सवाललाई अगाडि बढाउनका लागि, सुशासनका मुद्दाहरू स्थापित गर्नका लागि, सामाजिक न्याय स्थापना गर्नका लागि, युवाहरू विदेसिनुपर्ने बाध्यता छन्, उनीहरूलाई गाउँ फर्काएर यहीं रोजगारी सिर्जना गर्दै विदेश कमाउनेभन्दा बढी यहीं कमाउन सक्ने खालका वातावरण बनाउन, यहीं नै उत्पादन भएका कृषि सामग्रीलाई बजारीकरण गर्न, र समग्र यस भेगको भौतिक विकासका लागि निकासीका माध्यम खोल्नका लागि सक्षम रहेको हुनाले मैले यस क्षेत्रमा जित्न आवश्यक छ। किनकी यो सबै काम मेरो जितले सम्भव छ। अरुले यो काम गर्न सक्दैन। अरुले त सपना बाँड्दै हिँड्ने मात्रै हुन्।

तपाईं लामो समयसम्म प्रहरी सेवामा हुनुहुन्थ्यो, तपाईं राजनीतिमा आउनुको मुख्य कारणचाहिँ के हो त ?

म राजनीतिमा आउनुको कुनै खास कारण छैन। यो परिस्थितिले ल्याएको परिणाम मात्रै हो। परिस्थितिले मलाई राजनीतिमा ल्यायो, यो एउटा कुरा भयो। अर्काे कुरा, म अर्कै दुनियाँमा थिए। तर उद्देश्य एउटै थियो। देश र जनतालाई निःस्वार्थ सेवा दिइरहने। देश र जनतालाई सेवा गर्न त्यो सीमित मात्रै हुन्थ्यो भने यो अलि बृहत्तर भाग हो भन्ने मलाई लागेको छ।

त्यसकारण मैले राजनीतिमा आएर राम्रै काम गरेको छु जस्तो लागिरहेको छ। यो बेला मलाई जनताको आशा र भरोसा छ। यो कुनै नवराज सिलवालको सवाल होइन, पूरै मुलुकको सवाल हो, यो समृद्धिलाई अगाडि पुर्याउने सवाल हो। लोकतन्त्रलाई संस्थागत रुपमा अगाडि बढाउने सवाल, संविधान कार्यान्वयन गर्ने सवाल हो, समग्रमा राष्ट्रिय सार्वभौमसत्ता, मुलुकको पहिचान र प्रतिष्ठा छ हाम्रो नागरिकको, त्यसलाई बढाउने सवाल भएकाले त्यसमा मेरो भूमिका रहन्छ र जुन राजनीतिप्रति युवापिँढीको अनि जनमानसको आम वितृष्णा छ त्यसलाई चिरेर राजनीति भनेको पवित्र सेवा हो। यसमा लागेर पनि सेवा गर्न सकिन्छ भन्ने कुरा स्थापित गराएर राजनीतिप्रति सकारात्मक सोच जनतासम्म पुर्याउन सकियो भने मेरो योगदान ठूलो हुन्छ भन्ने लाग्छ।

तपाईं राजनीतिमा आउँदा अरू राष्ट्रिय दल पनि थिए। तपाईंचाहिँ एमालेमा प्रवेश गर्नुको कारणचाहिँ के होला ?

म जतिखेर अदालतमा एक्लै पूरै लडिरहेको थिएँ। राज्य सञ्चालक र देशका प्रमुख पार्टीले मप्रति जुन व्यवहार देखाइरहेका थिए। त्यसमा अदालतको समेत निर्णय नमान्ने भएपछि, सरकारले नै न्यायिक स्वतन्त्रतामाथि धावा बोल्ने कार्य भइसकेपछि विपक्षी दलले आवाज उठायो। विधिको शासनको अभ्यास गरिरहेको मुलुकका पार्टी र सरकारले अदालतको आदेशलाई मान्नुपर्दछ, लोकतन्त्रमा यसरी जानुहुँदैन भनेर सशक्त आवाज उठायो। यो आवाजले म एक्लै लडिरहेका बेला मलाई सहारा मिलेको जस्तो भयो। मेरो पक्षमा आवाज उठाएका कारणले गर्दा म यो पार्टीप्रति प्रभावित भएर आवद्ध भएको हो।

तपाईंका मुख्य चुनावी एजेन्डा के–के हुन् ? मैले यो यो कामलाई पहिलो प्राथमिकता दिन्छु भन्ने केही सोच्नुभएको छ ?

प्राथमिकताको कुरा गर्दाखेरी आधारभूत रुपमा विकासका पूर्वाधारलाई जोड्नु पर्यो। आर्थिक समृद्धिलाई अगाडि लैजानका लागि कृषिलाई आधुनिकीकरण गर्ने, कृषि प्राविधिकको व्यवस्था गर्ने, आधुनिक कृषिबाली, माटो परीक्षण गरी खेती गर्न प्रणालीको विकास, प्रांगारिक खेतीलाई निरन्तरता, कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने, पर्यटनमा पदमार्गको विकास र विस्तार गर्ने, होमस्टेको प्रशस्त विकास गर्नेजस्ता काम म प्राथमिकताका साथ काम गर्नेछु। शिक्षा, स्वास्थ्य खानेपानीको सेवा दिनसमेत आवश्यक रहेकोले यसमा काम गर्नुपर्दछ भन्ने लागेको छ। गाउँ–गाउँमा रोजगारी सिर्जना गराएर गाउँमै समृद्धि खोज्ने काम मेरो प्राथमिकतामा परेको छ।

तपाईंले यस क्षेत्रमा जित्नै पर्ने आधार के–के छन् ?

यस क्षेत्रमा घरदैलो गर्दा सबै जनतामा मभन्दा पहिलाका उम्मेदवारप्रति जुन किसिमको वितृष्णा पैदा भएको छ। र उहाँले बाँडेका जति पनि आश्वासन थिए, त्यो पूरा हुन नसकेका कारणले पनि जनतामा निराशा छ।

र यस क्षेत्रमा म नयाँ अनुहार हुँ। मेरा मुद्दा स्पष्ट छन्। मेरो सोच स्पष्ट छ। मेरो दृष्टिकोण स्पष्ट छ। मैले गर्न नसकिने ठूल्ठूला र झुटा आश्वासन जनतालाई बाँडेको छैन। म तपाईंको घरदैलोमा आएर तपाईंसँगै सधैभरि यसरी नै जोडिने छु। त्यो प्रकारले गरेको हुनाले जनताको मप्रतिको आशा, भरोसा र विश्वास जनताको आँखामा देखेको छु। जनताका यिनै विश्वास नै मेरो जितका आधार हुन्। हिजोका दिनमा पनि म आफ्ना कार्य निष्ठावान् रहेर गरेको सबैले देख्नुभएको र विचार गर्नुभएको कुरा हो। यसकारण पनि अन्य पार्टीका साथीले पनि मेरो।निष्ठा, क्षमतालाई ध्यानमा राखेर मत दिनुहुनेछ भन्ने आशा गरेको छु। यिनै कुरा म जित्ने आधार हुन्।

तपाईं राजनीतिमा आउनुभएको छ। अहिले उम्मेदवारको रूपमा चुनावी राजनीतिक पृष्ठभूमिभन्दा बाहिरको माहोललाई हेर्दा तपाईंले कस्तो अनुभूति गरिरहनुभएको छ ?

मेरो पेसा र राजनीति फरक विषय हो। तर मैले नेपालको राजनीति, समाज, अर्थतन्त्र, भूगोल, यथार्थ, संस्कृति, इतिहास बुझेको हुनाले त्यस्तो मलाई गाह्रो त भएको छैन तर चुनौती त छ। प्रशस्तै अवसर पनि छ। म उत्साहित पनि छु। जनताको माया र स्नेहले गर्दा म एकदमै उत्साहित भएर अगाडि बढेको हो। र म यो मुलुकको सेवामा अझ बढी बृहत्तर रूपमा आफ्ना क्षमता र प्रतिबद्धता लिएर सेवा गर्न सक्छु र राजनीतिमा एउटा फरक धारको पहिचान, सकारात्मक परिवर्तन ल्याउने एजेन्टका रूपमा आफूलाई प्रस्तुत गर्न सक्छु।

ललितपुर जिल्ला अवैध रूपमा ढुंगा खानीहरू भएकाले गर्दा निकै विवादित पनि बनेको छ। यसमा तपार्इंको धारणा केही छ कि ?

यो विवादित कुरा तपाईंले सोधिहाल्नुभयो। मेरो यसमा के छ भने, खानीक्षेत्र व्यवस्थापन गर्नुपर्छ। निश्चित ठाउँमा खानीक्षेत्र तोक्नुपर्छ। उद्योगधन्दालाई करको दायरामा ल्याउने, वातावरणको पनि संरक्षण हुने ढंगले व्यवसायीलाई उत्साहित र लगानीलाई पनि प्रोत्साहन गर्दै रोजगारीको सिर्जना गरिनुपर्दछ।

खानीक्षेत्र सञ्चालनका लागि बस्तीलाई समेत व्यवस्थापन गर्नुपर्ने देखिन आएको छ। यसलाई नीतिअन्तर्गत ल्याउनु आवश्यक छ। भूकम्पका कारण भग्नावशेषमा परिणत भएका घरलाई पुनःनिर्माणका लागि पनि खानीजन्य सामग्रीको आवश्यकता परेकाले पर्यावरणलाई खलबल नबनाइकन व्यवस्थित रुपमा खानी सञ्चालनमा ल्याउनुपर्छ।

प्रहरी सेवाबाट सेवा निवृत्त भइसकेर राजनीतिमा प्रवेश गरेका थुप्रै भीआईपीहरू फेल भएका उदाहरण पनि छन्। तपाईंचाहिँ पास हुनुहुन्छ भन्नेमा तपार्इंलाई कत्तिको विश्वास छ ?
तपाईं हेर्दै जानुहोस्। मेरो कामले तपाईंलगायत जनतालाई प्रभाव पार्नेछ।

LEAVE A REPLY