दा भिन्चीको पेन्टिग कीर्तिमानी लिलामी



न्युयोर्क, (एजेन्सी)
अमेरिकाको न्युयोर्कमा जिसस क्राइस्टको शताब्दियौं पुरानो पेन्टिग ४५ करोड डलरमा एक ग्राहकले किनेका छन्। इसामसिहको उक्त ५ सय वर्ष पुरानो पेन्टिगको नाम ‘साल्भाडोर मुन्डी’ (धर्तीका संरक्षक) हो र यसलाई लियोनार्दो दा भिन्चीले बनाएका थिए।

उक्त पेन्टिगको लिलामीले विश्वमा अहिलेसम्मको सबैभन्दा महंगो कलाकृति बनेको कीर्तिमान बनाएको छ। चर्चित कलाकार लियोनार्डो दा भिन्चीको सन् १५१९ मा निधन भएको थियो। विश्वमा उनले त्यतिबेला बनाएका २० भन्दा कम मात्र पेन्टिग बाँकी छन्।

खरिदकर्ताले उक्त पेन्टिगका लागि करिब ४५ करोड डलर दिएर किनेका छन्। यद्यपि पेन्टिग किन्ने व्यक्तिको नाम गोप्य राखिएको छ। न्युयोर्कमा लिलामीका क्रममा खरिदकर्ताले २० मिनेटसम्म टेलिफोनमा कुरा गर्दे पेन्टिगका लागि ४० करोड अमेरिकी डलरको अन्तिम बोली लगाएका थिए।

अन्य शुल्कसँग यसको मूल्य ४५ करोड डलर पुगेको हो। कुनै बेला उक्त पेन्टिगलाई ६० डलरमा लिलाम गरिएको थियो। त्यतिबेला उक्त पेन्टिग दा भिन्चीका कुनै शिष्यले बनाएको अनुमान गरिएको थियो। अहिलेसम्म पनि यो लियोनार्दो दा भिन्ची कै पेन्टिग हो भन्ने विषयमा आम सहमति बनेको छैन। एक जना विश्लेषकले यो एकै समयमा नयाँ र पुरानो लाग्ने गरेकाले उक्त पेन्टिगको सतहमा अहिलेसम्म धेरैपटक काम भइसकेको बताए।

भल्चर डटकममा जेनी साल्ट्जले लेखेकी छिन्– यदि कुनै निजी संग्रहकर्ता यो पेन्टिग किनेर आफ्नो अपार्टमेन्टको स्टोरमा राख्छ भने उसका लागि ठिकै हो। उक्त पेन्टिग १५ शताब्दीमा इंल्यान्डका राजा चाल्र्स प्रथमको सम्पत्तिका रूपमा रहेको मानिएको छ। ४ वर्षअगाडि मात्रै रुसी संग्रहकर्ता दि मित्री इ रयाबोलोब्लेवले उक्त पेन्टिग १२ करोड ७० लाखमा किनेका थिए। १९औं शताब्दीको पेन्टिग र अन्य कलाकृतिको क्षेत्रमा विशेषज्ञ डाक्टर टिम हन्टरले उक्त पेन्टिगलाई २१औं शताब्दीको सबैभन्दा खोज भएको कृति भएको बताए।

प्रतिक्रिया दिनुहोस्