प्योङयाङद्वारा अमेरिकालाई पहिले हतियार त्याग्न आग्रह



सोल, (एजेन्सी)
उत्तर कोरियाले बुधबार यदि अमेरिकाले पहिले आफ्नो आणविक हतियार त्यागेको खण्डमा आफूले पनि त्यसको अनुशरण गर्ने जनाएको छ। उत्तर कोरियाको वर्कर्स पार्टीको मुखपत्र रोडोङ सिन्मुनले राष्ट्रको नेतृत्वले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाको शक्तिशाली र ठूलो आणविक हतियार नष्ट गर्न र निशस्त्रीकरण नीति अवलम्वन गर्न चेतावनी दिएको हो।

उत्तर कोरियाले अमेरिकाले सर्वोच्च नेता किम जोङ उनको सत्ता पल्टाउने सन्त्रासकै कारण आमविनाशकारी हतियार थुपार्नु परेको दाबी गरेको छ। हुन पनि अमेरिकाले उत्तरले आणविक हतियार विकास कार्यक्रम नत्यागेको खण्डमा किमलाई अपदस्थ गराउने चेतावनी दिँदै आएको छ। अमेरिकी धम्कीलाई मात ख्वाउने उद्देश्यले नै उत्तरले अन्तर महादेशीय क्षेप्यास्त्र विकास गरेको सिन्मुनले जनाएको छ।

यसैबीच फिलिपिनी राष्ट्रपति रोड्रिगो डेटेर्टेले उत्तर कोरियासँगको सैनिक द्वन्द्वले संसारमै महाविनाश निम्त्याउने राजधानी मनिलामा आयोजित एक सम्मेलनमा बताएका छन्। ट्रम्पको १२ दिने एसियाली मुलुकको भ्रमण सकिन लागेका बेला डुटेर्टेले यदि अन्तरमहादेशीय क्षेप्यास्त्र विस्फोट हुने हो भने पृथ्वीमा मानव जातिकै अन्त्य हुने जनाएका छन्। ट्रम्पले पूर्वनिर्धारित कार्यक्रममा नभए पनि दक्षिण र उत्तर कोरियाबिचको असैनिक क्षेत्रको पनि भ्रमण गर्न खोजेका थिए। तर हुस्सु लागेको मौसमका कारण सो भ्रमण रद्द गरिएको हो। यसै गरी सिन्मुनले ट्रम्पले गत साता सोलमा विधायकहरूलाई सम्बोधन गर्ने क्रममा उत्तर कोरिया विरुद्ध अभिव्यक्त गरेका कुराहरूलाई लिएर उनले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्