होचो कदका कलाकार शाहको निधन



रश्मी थापा

संसारकै सबैभन्दा होचो कदका कलाकारका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन प्रयासरत कलाकार दिपेन शाहको बिहीबार बिहान असामयिक निधन भएको छ।

छाती र मृगौलामा इन्फेक्सन तथा उच्च रक्तचाप भई ४ दिनदेखि उपचारार्थ ललितपुरको किष्ट अस्पतालमा भर्ना भएका शाहको उपचारकै क्रममा बिहीबार निधन भएको हो। केबल ३१ इञ्च कदका उनलाई शुरूमा छातीमा इन्फेक्सन देखिए पनि पछि मृगौलाको इन्फेक्सन भएको रिपोर्ट आएको थियो। अन्तिम अवस्थामा मुटुको धडकन कम भएको र प्रेसर पनि बढेको थियो। केही चलचित्रका साथमा हास्य टेलिशृंखला भ्mयाइँकुटी भ्mयाइँमा दिपेन सरका रूपमा अभिनय गर्दै आएका दिपेन संसारकै होचा कलाकारको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउने अन्तिम तयारीमा रहेको उनलाई यस अभियानमा सहयोग गर्दै आएका शिखर नेपालका अध्यक्ष शेखर खनालले जानकारी दिएका छन्। ‘उनलाई म र दमन रूपाखेतीले कलाकारितामा ल्याएका हौं। उनलाई काम गराउन निकै सजिलो थियो। एकपटक भनेको कुरा टिपेर उनले काम गर्थे’, शेखरले आफ्नो अध्यक्षतामा दीपेन शाह फाउन्डेशन खोल्ने अन्तिम चरणमा पुगेका बेला अकस्मात दीपेनको निधनले आफू मर्माहत भएको खुलाउँदै भने– ‘उनी संसारका अन्य होचा व्यक्तिभन्दा फरक थिए। यस्तो अवस्थाका व्यक्तिको बोली प्रायः अस्पष्ट हुन्छ तर उनको बोली प्रस्ट र अन्य मानिससरह एक्टिभ थिए।’

१९ वर्षीय शाहको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि बिहीबार दिउँसो नै चाबहिलस्थित चलचित्र विकास बोर्डमा राखिएको थियो। बुबा दीपक शाह तथा आमा धनकुमारी शाहको कोखबाट २०५५ सालमा दोलखामा जन्मिएका उनी परिवारको कान्छो छोरा थिए। उनको दाइ दिपेश शाह फिल्म सम्पादनमा सक्रिय छन्। १२ वर्षदेखि अभिनय गर्दै आएका उनले छेउ न टुप्पो, झयानकुटी भ्mयाइँलगायतका सिरियलमा अभिनय गरी दर्शकको मन जित्दै आएका थिए। उनीद्वारा अभिनित फिल्म जोकर रिलिजको तयारीमा छ। जसमा उनी नायकका रूपमा देखिएको फिल्मका निर्माता, निर्देशक महादेव त्रिपाठीले बताए। दिपेनले ठोक न मादल ठोक, जादुगरजस्ता फिल्ममा पनि अभिनय गरेका थिए भने विभिन्न मेला महोत्सवका अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा हास्य प्रस्तुति पनि प्रस्तुत गर्थे। दिपेनको बिहीबार नै अन्तिम संस्कार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्