नेपालमा अब कहिल्यै नाकाबन्दी हुन सक्दैनः ओली



दुर्गाप्रसाद शर्मा, पर्वत
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा नेपालमा कहिल्यै पनि नाकाबन्दी हुन नसक्ने बताएका छन्। संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले कुस्मा बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने बताएका हुन्।

वाम गठबन्धनले चुनाव जितेपछि नाकाबन्दी हुन्छ भनेर हौवा फैलाइएको बताउँदै अध्यक्ष ओलीले भने– ‘उत्तर–दक्षिणका नाका खोलिएका छन्, कसैले चाहेर पनि नाकाबन्दी हुन सक्दैन।’ उनले उत्तर तर्फ खोलिएका नाकाहरू पुग्ने मोटरबाटो अब पक्की बनाएपछि उत्तर–दक्षिणमा सहज व्यापार गर्न सक्ने उनको भनाइ थियो। ओलीले आफू प्रधानमन्त्री हुँदा मुस्ताङ र तिब्बत जोड्ने कोरल्ला नाका पुग्ने बाटोका लागि ३ अर्ब ६० करोड रुपियाँ बजेट समेत विनियोजन गराएको बताउँदै ३ वर्षभित्र कालोपत्रे गरिसक्ने आश्वासन पनि दिए।

मध्यपहाडी लोकमार्ग पूरा भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिर्वतन ल्याउँदै उनले काठमाडौंदेखि पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पुर्याउने बताए। ‘पोखरासम्म आउने रेललाई कुस्मा हुँदै बेनी पुर्याउने छौं’, उनले भने– ‘यसका लागि केही वर्ष मात्रै लाग्छ।’

यसैगरी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले समयमा निर्णय गर्न सक्ने हो भने सय ५० वर्षको समयलाई अगाडि ल्याउन सकिने बताए। उनले कम्युनिस्टहरूको एकता मुलुकको आवश्यकता भएकाले त्यसबाट तर्सिएको कांग्रेसलाई लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न आग्रह गरे। ‘कम्युनिस्टहरूलाई विभाजित गरेर शासन गर्ने सपना नदेख्नुस्’, उनले भने– ‘अब कम्युनिस्टहरूले ५० वर्ष मुलुकमा शासन गर्छन्, मुलुकमा आमूल परिर्वतन ल्याउँछन्।’ उनले कम्युनिस्टहरूको एकता बहुमतको सरकारलाई मात्रै नभई राजनैतिक स्थिरताका लागि भएको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्