शल्यचिकित्सामा बिरामीको मृत्युको सम्भाव्यताः एक कारण



 

डा. अनुपराज उपे्रती
क्लिनिकल फर्मासिस्ट
(डाक्टर अफ फार्मेसी)

केही हप्ताअगाडि पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको खबरले ओम अस्पताल परिसर निकै तातेको थियो। यस्तो शल्यक्रिया बिरामीलाई पूर्णरुपमा चेतना शून्य गराई (जेनेरल आनेस्थिजियामा) गर्ने गरिन्छ। बिरामीको आफन्तका अनुसार शुरुमा आत्तिनुपर्दैन, अपरेसन सफल भयो भनियो। तर, त्यसको केही क्षणमा बिरामीको मांसपेशी जाम भएर उठाउन सकिएन भनियो अनि केही क्षण अन्योलता, अस्थिरता र अन्ततः बिरामीको मृत्यु।

जेनेरल आनेस्थिजियामा गरिने शल्यक्रियामा सधैँ आनेस्थिजियाको प्रतिकूल असरको सम्भाव्यता हुन्छ। माथि उल्लिखित घटनामा पनि बिरामीको मृत्यु मलिग्नेन्ट हाइपरथर्मियाको कारण हुनसक्छ। मलिग्नेन्ट हाइपरथर्मिया प्राणघातक क्लिनिकल सिन्ड्रोम हो, जसले मांसपेशीको रस प्रक्रिया (मेटाबोलिज्म) अत्यधिक मात्राले बढाउँछ। यो सिन्ड्रोम केही व्यक्तिमा जेनेरल आनास्थिजिया, सक्सिनाइल कोलिन नामक औषधि वा अन्य औषधिको कारण देखिन सक्छ। यस्तो प्रतिकूल असर जेनेरल आनेस्थिजियाको कारण ५ हजारदेखि ५० हजार बिरामीमध्ये एकजनामा देखिने गरेको पाइन्छ। जेनेरल आनेस्थिजियामा शल्यक्रिया गर्दा प्रचण्ड मात्रामा मांसपेशीहरु फक्रिनु, अत्यधिक ज्वोरो आउनु र मुटुको चाल बढ्नु यो सिन्ड्रोमका प्रमुख लक्षणहरु हुन्। यस्तो लक्षण अपरेसन गर्दागर्दै वा अपरेसन गरिसकेको केही समयपश्चात् देखिने गर्दछ। मलिग्नेन्ट हाइपरथर्मियाको मृत्युदर ७० प्रतिशतदेखि ८० प्रतिशत छ।

मलिग्नेन्ट हाइपरथर्मिया किन हुन्छ त भन्दा, केही व्यक्तिमा मांसपेशीमा हुने र्यानोरिडिन नामक रिसेप्टर साधारण व्यक्तिको भन्दा अस्वाभाविक स्वरुपको हुन्छ। यो अस्वाभाविक स्वरुपले गर्दा क्यालसियमको मात्रा मांसपेशीमा अत्यधिक वृद्धि हुन्छ, जसका कारण कार्बनडाइअक्साइडको मात्रा बढ्दै जान्छ, शरीरको तापक्रम बढ्छ। साथै पोटासियमको मात्रा पनि अधिक हुन्छ, जुन मुटुको लागि हानिकारक छ। र, अन्त्यमा मल्टिपल आर्गन फेलियर भई बिरामीको मृत्यु हुनसक्छ। मलिग्नेन्ट हाइपरथर्मिया जेनेटिक डिफेक्ट वा त्रुटिका कारण हुने भएकाले यो सिन्ड्रोम वंशाणुगत पनि हुनसक्छ। यसको अर्थ यो सिन्ड्रोम देखा परेको बिरामीको छोरा वा छोरीमा यस्तो सिन्ड्रोम हुनसक्ने अवस्था ५० प्रतिशत छ।

त्यसै गरी बिरामीको नजिकको नातेदार जस्तै– मामा, माइजू, नातिमा यस्तो सिन्ड्रोम हुनसक्ने सम्भावना २५ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ। यही कारणले गर्दा यो सिन्ड्रोमलाई फर्माकोजेनेटिक डिस्अर्डर पनि भन्ने गरिन्छ। अझ डरलाग्दो कुरा के हो भने, यो सिन्ड्रोम मान्छेको जीवनकै पहिलो अपरेसनमा नदेखिए तापनि त्यसपश्चात्को अपरेसनमा पनि यो सिन्ड्रोमको खतरा रहेको अनुसन्धानबाट पुष्टि भएको छ।
यो सिन्ड्रोम कुनै व्यक्तिमा हुन्छ वा हुँदैन भनेर पत्ता लगाउन क्याफिन हेलोथेन कन्ट्राक्चर टेस्ट गरिन्छ, जुन विश्वभर ३० राष्ट्रमा मात्र हुन्छ। यो टेस्टको खर्च ५ हजार डलरसम्म पर्न सक्छ। अर्को विधि जुन अलिक सस्तो छ, त्यो विधिलाई मलिकुलर जेनेटिक टेस्ट भनिन्छ।
जेनेरल आनेस्थिजियापश्चात् कुनै व्यक्तिमा मलिग्नेन्ट हाइपरथर्मिया भएको आशंका लागेमा डेन्ट्रोलिन नामक औषधि दिइन्छ। यो औषधिपश्चात् मृत्युदर ५ प्रतिशतमा झरेको छ। तर विडम्बना, यो औषधि हाम्रो देशभरि नै उपलब्ध छैन। यो औषधिको प्रयोग निकै कम हुने भएकोले फर्मासिटिकल कम्पनीले वा आयातकर्ताले यस्ता औषधि बिक्री वितरण गर्ने गर्दैनन्। यस्तो अवस्थामा नेपाल सरकारले यस्ता औषधि भित्र्याउने पहलकदमी चाल्नुपर्ने देखिन्छ। डेन्ट्रोलिनजस्ता औषधि जसको प्रयोग दुर्लभ रोगमा मात्र गरिन्छ, त्यस्ता औषधिलाई अर्फन ड्रग भन्ने गरिन्छ। अमेरिकाजस्ता राष्ट्रमा यस्ता औषधि बनाउन, आयात गर्न, सञ्चय गर्न आदि सजिलो होस् भन्ने हेतुले अर्फन ड्रग एक्ट भन्ने ऐन नै लागू गरिसकिएको छ।

माथि उल्लिखित घटनाहरुले क्लिनिकल फार्मासिस्टको आवश्यकतालाई पनि स्वीकार गर्दछ। क्लिनिकल फार्मासिस्टहरु चिकित्सक, नर्सलगायत अन्य स्वास्थ्यकर्मीसँग हातेमालो गरेर बिरामीलाई दिइएको औषधि उचित छ वा छैन, दिइएको औषधि बीचमा अन्तरक्रिया हुन गई कुनै नकारात्मक असर देखिएको छ वा छैन, औषधिको मात्रा, दिएको तरिका ठीक छ वा छैन भन्ने कुरामा अग्रसर हुन्छन्। उदाहरणका लागि मलिग्नेन्ट हाइपरथर्मियाको उचित व्यवस्थापन गर्न क्लिनिकल फार्मासिस्टको दायित्व भनेको डेन्ट्रोलिन नामक औषधिको उचित प्रयोग गर्न सुझाव दिनु, त्यस औषधिको मात्रा बिरामीअनुसार मिलाउनु, त्यस्ता औषधि खरिद र सञ्चय गर्न अस्पताल प्रशासनसँगको बैठक गर्नु, मलिग्नेन्ट हाइपरथर्मिया आकस्मिक सन्दुक बनाउनु, यो सिन्ड्रोमबारे स्वास्थ्यकर्मी र आमजनतामा जनचेतना जगाउनु इत्यादि हो।

क्लिनिकल फार्मासिस्टको अवधारणा अमेरिका र युरोपजस्ता देशमा सन् १९७० देखि शुरु भएको देखिन्छ। हाम्रो देशमा पनि सय बेड वा सो भन्दा माथि बेड भएका अस्पतालहरुमा क्लिनिकल फार्मासिस्ट राख्नुपर्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयन खासै भएको छैन।

अन्ततः बिरामीको मृत्युको उचित छानबिनविना नै स्वास्थ्यकर्मीको दक्षता, सामथ्र्य र योग्यताप्रति प्रश्न गर्नु, लासमाथि पैसाको सौदाबाजी गर्नु, यस्ता कार्य गर्न हुल वा जमातलाई प्रोत्साहन गर्नुजस्ता गतिविधिले केवल जनमानसमा एलोपेथिक चिकित्साप्रति भय पैदा हुन्छ। यस्ता कार्य गर्नुभन्दा मृत्युको कारण के हो भनी छानबिन गरिनुपर्दछ। मानौं, यदि माथि उल्लिखित ओम अस्पतालमा भएको घटना मलिग्नेन्ट हाइपरथर्मिया हो भने बिरामीको आफन्तजनभित्र देखिन सक्ने सोही घटनाप्रति हामी कति गम्भीर र सचेत छौं ? डेन्ट्रोलिन नामक औषधिको उपलब्धताबारे हामी के गर्दै छौं ? यस्ता प्रश्नको उत्तर भनेको निरुत्साहित स्वास्थ्यकर्मी भने पक्कै होइन।

प्रतिक्रिया दिनुहोस्