ठोरीका मतदाता भन्छन् “हामी दुई नम्बर प्रदेशमा बस्दैनौं”



 

कृष्णउदास खनाल, वीरगन्ज
मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा पर्सा जिल्लामा ठाउँ ठाउँका मतदाताको अपेक्षा उम्मेदवारसँग फरक फरक रहेको पाइएको छ।

पर्साको ठोरी गाउँपालिकाका मतदाता भने पर्सा जिल्ला र दुई नम्बर प्रदेशबाट नै अलग गराउने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्रै मत दिने पक्षमा रहेको बताएका छन्।

निकै पहिले चितवनवासी रहेका ठोरीका नागरिक फेरि चितवनवासी हुने इच्छा जनाएका छन्। करिब एक महिनाअगाडि नै ठोरी गाउँपालिकाले चितवन जिल्लामा आफूहरू समाहित हुने निर्णय गरेको थियो। ठोरीका नागरिकहरूको चाहनाअनुसार नै यस्तो निर्णय गरिएको ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले बताउनुभयो। उहाँले ठोरीका नागरिकलाई वीरगन्जभन्दा भरतपुर जान सजिलो हुने भएकाले पनि यस्तो निर्णय गरिएको बताउनुभयो।

पर्साको सदरमुकाम वीरगन्जबाट करिब ६८ किलोमिटर सुदूरउत्तरमा रहेका ठोरी र त्यस गाउँपालिकाका मतदाताले अहिले भोट माग्न आउने राजनीतिक दलका उम्मेदवारसँग भन्ने गरेका छन्– ‘ठोरीलाई चितवनमा गाभ्ने मुख्य राजनीतिक एजेण्डा बनाइदिनुस्।’

जुन दलका उम्मेदवारले ठोरीलाई तीन नम्बर प्रदेशमा समायोजन गर्ने नीति लिएर आउनेछन् उसैलाई मत दिने निर्णयमा आफूहरू पुगेको ठोरीका स्थानीय मतदाता रवीना ढुंगानाले बताउनुभयो। ठोरीसहित पर्साको निर्मलबस्ती र सुवर्णपुरका वासिन्दा चितवनमा समाहित हुन चाहे पनि मधेसवादी दल र नेपाली कांग्रेसले भने उनीहरूको चाहना असम्भव रहेको बताउँदै आएका छन्।

ठोरीबाट वीरगन्जभन्दा भरतपुरमा बढी यात्रुवाहक बस सेवा सञ्चालनमा आउने गरेको स्थानीयहरूले बताएका छन्। भौगोलिक रूपबाट पनि भरतपुरनजिक भएकाले ठोरीका नागरिकले यस्तो माग गरेको ठोरी गाउँपालिका–१ का वडा अध्यक्ष रामप्रकाश कँुवरले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्