बाँच्ने आसामा एआरटी खाँदै डोटीका एचआईभी संक्रमितहरु



विमल विष्ट, डोटी ।
डोटीमा पाँच सय १२ जना एचआईभी संक्रमितहरु बाँच्नका लागि नियमित रुपमा एआरटी नामक औषधी सेवन गर्न थालेका छन् । नियमित औषधी सेवन गर्नेहरु फुर्तिलो भई सहज जिवनयापन गर्दै आएको पनि पाइएको छ । औषधी सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भन्ने जानकारी पाएपछि उनिहरु लगातार रुपमा एआरटी नामक औषधी खानथालेको बताईएको छ ।

आर्थिक बर्ष २०७३÷७४ सम्ममा एचआईभी÷एड्सका कारण डोटीमा एक सय ११ जना ज्यानको गईसकेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिष विष्टले बताउनु भयो । आर्थिक वर्ष २०७१÷७२ मा एचआईभी÷एड्सका कारण मृत्यु हुनेको संख्या ८७ थियो भने आर्थिक बर्ष २०७२÷७३ मा ९४ जना पुगेको थियो । जिल्लामा जम्मा ९ सय ३१ जना एचआइभी संक्रमितको संख्या रहेकोमा त्यसमध्ये ७ सय १५ जनाले एआरटी सेवन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका एमडिजिपि डाक्टर गिरिस अवस्थीले जानकारी दिनु भयो ।

आर्थिक बर्ष २०७१÷०७२ मा एआरटी सेवन गर्नेको संख्या ४ सय ३१ थियो भने आर्थिक वर्ष २०७२÷०७३ मा आएर ५ सय १२ जना पुगेको थियो । डोटीमा खासगरी कामको शिलशिलामा भारत जाने पुरुषहरुले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्क गर्दा उनिहरुबाटै एचआईभिको संक्रमण बढ्ने गरेको एचआईभी÷एड्सको क्षेत्रमा काम गर्ने संस्थाहरुको तत्थ्यांकमा उल्लेख छ ।

यतिमात्र नभई संक्रमित भएकाहरुबाट तिनका श्रीमतीहरु समेत संक्रमित हुने गरेको र संक्रमित आमाबाट जन्मेका सन्तानहरुमा पनि नयाँ संक्रमण बढी रहेको पाईएको छ ।

सुदूरपश्चिमका अछाम,कैलाली तथा डोटीमा एचआईभी संक्रमितहरुको संख्या अरु जिल्ला भन्दा बढी भएको तत्थ्यांक संकलकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्