खबर पाऊँ है !



 

मुलुकभरका सरकारी कार्यालय र तीनले उपलब्ध गराउने सेवाका बारेमा धरहराले धेरै बेलीविस्तार लगाइरहनुपर्दैन। त्यसैले त अधिकांश सर्वसाधारण कुनै कार्यालय जाने योजना बनाउँदै गर्दा त्यहँँको उकुसमुकुस वातावरण सम्झेर हैरान हुन्छन्। त्यस्तो अवस्था तपार्इंलाई पनि पक्कै पर्या छ।

यातायात व्यवस्था विभाग र मातहतका लगभग सबै कार्यालयमा सहज वातावरण महशुस गर्न सकिँदैन। सवारीधनीले राज्यलाई कर बुझाउन जाँदा गतिलै सजाय भोग्नुपर्छ। धुँवा, धूलो, घाम, पानी सबै बिर्सिएर घण्टौंसम्म लाइन लाग्नुपर्ने बाध्यता छ। सर्वसाधारणले ‘क्यु सिस्टम’ को सेवा पाउनु धेरै टाढाको कुरा हो, अनि अस्तव्यस्त पार्किङ ती कार्यालयको वर्षौंअघिदेखिको गतिलो परिचय हो।

राज्यलाई स्वतःस्फूर्त कर बुझाउन जाने वातावरण कहिले बन्छ ? राज्यको ढुकुटीमा दैनिक जम्मा हुने लाखौं रुपियाँको सानो हिस्सा खर्चिएर सेवाग्राहीका लागि यस्ता सुविधा प्रदान गर्न राज्यलाई ठूलै व्ययभार थपिने हो कि ? कि त त्यस्तो संरचना र सुविधा थप्न विदेशी दाता नै गुहार्नुपर्ने हो ? धरहराले बुझ्न सक्या छैन। दलहरूका पछिल्ला चुनावी घोषणापत्रमा त्यस्तो सुविधा थप्ने ग्यारेन्टी गरिएको छ भने खबर पाऊँ है पाठकवृन्द!

प्रतिक्रिया दिनुहोस्