सेनाद्वारा जिम्बावेका राष्ट्रपति नजरबन्दी बनाइए



 

राजनीतिक संकट गम्भीर
हरारे, (एजेन्सी)
जिम्बावेको सेनाले राष्ट्रपति रोवर्ट मुगावेलाई राजधानी हरारेमा नजरबन्दी बनाइएको दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोव जुमाले बुधबार बताएका छन्। मुगावेले जुमालाई टेलिफोन गरी आफू सकुशल रहेको बताएको दक्षिण अफ्रिकी नेताको कार्यालयले जनाएको छ।

सरकारी टेलिभिजन कब्जा गरिसकेका फौजले हरारेमा गस्ती गरिरहेको छ भने तिनीहरूले अपराधीहरूमा लक्ष्य बनाइरहेको बताएका छन्। बीबीसीका पत्रकारहरूले यो कदमको उद्देश्य मुगावेलाई विस्थापित गरी बर्खास्त गरिएका उपराष्ट्रपति इम्मर्सन नान्गाग्वालाई सत्तामा ल्याउने हुनसक्ने बताएका छन्।

गत साता नान्गाग्वालाई बर्खास्त गरिएपछि मुगावेकी पत्नी ग्रेसलाई राष्ट्रपतिको उत्तराधिकारी बनाइने सम्भावना देखिएको थियो। बुधबार बिहान सबेरै हरारेको उत्तरी भागमा भीषण गोलाबारी भएको सुनिएको थियो। सन् १९८० मा संयुक्त अधिराज्यबाट स्वाधीनता हासिल गरेयता जिम्बावेको राजनीतिमा हाल ९३ वर्ष पुगिसकेका मुगावेको एकछत्र राज चलेको देखिन्छ।

बेलायती विदेश मन्त्रालयले हाल जिम्बावेको हरारेमा रहेका आफ्ना नागरिकलाई सुरक्षित ढंगले घरमै बसिरहन र परिस्थिति सामान्य नबनुन्जेल बाहिर ननिस्कने सल्लाह दिएको छ। त्यसै गरी हरारेस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकलाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा बसिरहन आग्रह गरेको छ। जिम्बावेको सबैभन्दा ठूलो व्यापार साझेदार चीनले यस घटनालाई निकटबाट हेरिरहेको र सम्बन्धित पार्टीहरूले तिनीहरूको आन्तरिक मामिला राम्ररी हल गर्ने आशा लिएको जनाएको छ।

हरारेबाट बीबीसीका पत्रकार सिन्गाइ न्योकाले मुगावेलगायत थुप्रै उच्च पदस्थ सरकारी अधिकारी बसोबास गर्ने हरारेको उपनगरहरूमा बिहान सबेरैदेखि गोली चलेको आवाज सुनिएको बताएका छन्। दक्षिण अफ्रिकाका राष्ट्रपति जुमाले दक्षिणी अफ्रिकी विकास समुदायका विशेष दूतहरूलाई जिम्बावे पठाइने जानकारी दिएका छन्।

जिम्बावेका सैनिक अधिकारी मेजर जनरल सिबुसिसो मोयोले सैनिक हस्तक्षेपछि सरकारी टेलिभिजनमार्फत मुगावे र उनका परिवार सकुशल रहेको र तिनीहरूको सुरक्षाको ग्यारेन्टी भएको जानकारी दिएका थिए। उनले अगाडि बताए– ‘हामीले मुगावे वरपरका अपराधीहरूलाई मात्र तह लगाउन खोजिरहेका छौं। तिनीहरूले देशको सामाजिक र आर्थिक स्थिति ध्वस्त पारिसकेका छन्। हाम्रो मिशन पूरा हुनासाथ परिस्थिति पुनः सामान्य अवस्थामा नै फर्कनेछ।’

मेजर जनरल मोयोले सुरक्षा निकायहरूलाई पनि राष्ट्रको हितमा सहयोग गर्न अपिल गर्नुका साथै निहुँ खोज्नेलाई उचित प्रतिक्रिया दिइने चेतावनी पनि दिएका छन्। तर सेनाको यस अभियान कसले नेतृत्व गरिरहेको छ भन्ने स्पष्ट भएको छैन। गत साता चीनको औपचारिक भ्रमण गरेका सेना प्रमुख जनरल कोन्स्टान्टिनो चिवेन्गाले सोमबार पीएफ पार्टीको अन्योल समाप्त गर्न सेना सत्तामा जान तयार रहेको बताएका थिए।

जिम्बावेको राजनीतिक संकट निकै गहिरिएको रातारात राजनीतिक अवस्था फेरिन सक्ने सम्भावना पनि रहेको राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन्। यसैबीच हाल निकै कमजोर र लज्जास्पद अवस्थामा पुगेका मुगावेलाई इज्जतका साथ सत्ताबाट बाहिरिने मौका दिइने सम्भावना पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्