यसकारण प्रचण्डले जित्नै पर्छ



 

चितवन नेपालकै मध्यभागमा छ। मेचीदेखि महाकाली होस् वा पश्चिम–पूर्वबाट राजधानी पुग्न चितवन भएर नै जानुपर्दछ। चितवनलाई नेपालकै ७६ औं जिल्लाको रुपमा हेरिँदै आइएको छ। त्यसो त चितवनलाई वैकल्पिक राजधानीको रुपमा विकास गर्ने भनी कसरत नभएको पनि होइन। देश लामो समयदेखि राजनीतिक संक्रमणमा गुज्रियो। नेपाली जनताले यसबीचमा आफैंले लेखेको संविधान ७० वर्षपछि पाए।

यसबीचमा नेपाल विकासको दृष्टिकोणले पछाडि पर्यो। नयाँ संघीय संरचनाअनुसार लामो समयदेखि रोकिएको स्थानीय चरणको चुनाव पनि सकिएको छ। अहिले हामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा छौं। जनताले छोटो समयमा धेरै विकास होस् भन्ने चाहेका छन्। चितवनका जनताले पनि यसबीचमा विकासको स्वाद चाख्न पाएका छैनन्। देशमा भएका निर्वाचनले जनताका प्रतिनिधि त चुन्यो तर कुनै पनि देखिने गरी विकास नभएपछि रुष्ट बन्नु स्वाभाविक हो।

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारी परेको छ। उम्मेदवारी परेसँगै धेरैमा नयाँ आश पलाएको देखिन्छ। प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला चितवनबाट उठ्ने संकेत दिइसकेका थिए। प्रधानमन्त्री भएका बेला चितवनको विकासका लागि ठूलो बजेट पारेका थिए। यसले भावी दिनमा उनले चितवनको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण गर्न सकिन्छ। गृह जिल्ला चितवन भए पनि विभिन्न कारणले चितवनबाट उम्मेदवारी दिन नपाएका प्रचण्ड यसपटक ठूलो आँट गरेर निर्वाचनमा आएका छन्। दुई दशकदेखि यसै क्षेत्रबाट चुनाव लड्दै आइरहेका विक्रम पाण्डे उनको प्रतिस्पर्धामा छन्। यदि वाम गठबन्धनको सबै मत प्रचण्डलाई नै आउने हो भने उनी विजय हुने पक्का छ। प्रचण्ड अहिले देशकै नेतृत्व तहमा छन्। उनी माओवादी केन्द्रका पार्टी अध्यक्ष र दुईपटक प्रधानमन्त्री भइसकेका छन्। यसकारण पनि उनको अनुभव राम्रो छ।

चितवनबाट विजयी सांसद नगन्यरुपमा मन्त्री भएको पाइन्छ। प्रचण्ड यस्ता व्यक्ति हुन की चितवन गृह जिल्ला भई नेपालको प्रधानमन्त्री भएको। नेपालको राजनीतिमा आमूल परिवर्तनमा उनको डिसिजन महत्वपूर्ण देखिन्छ। प्रचण्डले १० बर्से जनयुद्धको नेतृत्व गरेको माओवादीलाई अहिलेको स्थानसम्म ल्याउन ठूलो भूमिका निर्वाह गरेका छन्। उनी कुनै पनि विषयमा बोल्ड डिसिजन गर्न माहिर मानिन्छन्। लामो समयसम्म राजधानी केन्द्रित रहेर उनी आफ्नो गृह जिल्ला फर्किएसँगै उनलाई महत्वपूर्ण ढंगबाट हेरिएको छ। अब उनी यसै स्थानबाट प्रतिनिधि हुन चाहन्छन्। उनले उम्मेदवारी दिएसँगै चितवनमार्फत देशको नेतृत्व गर्न चाहन्छु भन्ने गरेका छन्।

पछिल्लो समय के पनि भन्ने गरेका छन् भने, निर्वाचनमा पराजय हुन परे सहजै स्वीकार गर्छु। चितवनको जनताले पराजय गरे पराजय भोग्छु भन्नुले उनी चितवनबाटै निर्वाचन जित्न चाहन्छन्। चितवनको तीनवटै क्षेत्रमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये उनी पाका छन्। वामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एमाले नेता सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेलले अभिभावकको रुपमा हेरेका छन्। उनीहरु पनि प्रचण्डको उम्मेदवारीपछि उत्साहित बनेका छन्। उनीहरु आफ्नो क्षेत्रको प्रचारप्रसारभन्दा पनि प्रचण्ड उठेको क्षेत्रको प्रचारप्रसारमा व्यस्त बनेको पाइन्छ। अर्को बलियो पक्ष भनेको यस क्षेत्रका जनताले नयाँ प्रतिनिधि आओस् भन्ने चाहना राखेका छन्। पुराना सांसदहरुले लामो समयसम्म विकासकार्यलाई अगाडि नबढाएकाले पनि उनीहरुको मनमा तिक्तता पैदा भएको छ। विषेश गरी माडीका जनता यस समस्याबाट ग्रसित भएको पाइन्छ। माडीमा भएको स्थानीय तहको निर्वाचनमा राप्रपाले मेयर र उपमेयरमा पराजय भोग्नुपर्यो। राप्रपाको राम्रै गण मानिएको माडीमा मत नआएपछि जनता नयाँ प्रतिनिधिको खोजीमा छन् भन्ने राम्रोसगँ बुझ्न सकिन्छ।

प्रचण्डको उम्मेदवारीपछि उनको पक्षमा राजनीतिक माहोल शुरु भएको छ। धेरै जनाले माओवादी पार्टीभन्दा पनि प्रचण्डलाई रोजाइमा पारेका छन्। उनको विजय सहज देखेर सँगै नेपाली कांग्रेसदेखि राप्रपासम्मका कार्यकर्ताहरु धमाधम माओवादीमा प्रवेश गरेका छन्। प्रचण्डलाई चितवनमा स्थापित गराउन सबैले चोसो दिएको बुझिन्छ। यसै क्षेत्रका लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले लामो समयदेखि विकासको नारा दिँदै आएको भए पनि कुनै त्यस्तो देखिने गरी विकास भएको छैन।

त्यसैले पनि प्रचण्डको सम्भावना बलियो देखिन्छ। प्रचण्ड नेतृत्व तहमा पुग्ने सम्भावना पनि त्यस्तै छ। नेपाली राजनीति उनको पेरिफेरीमै छ। उनीले फेरि देशको नेतृत्व सम्हाल्ने समय नजिक नै रहेको आँकलन गर्न सकिन्छ। त्यसो भयो भने चितवनको विकासले फड्को मार्ने देखिन्छ। अहिलेको निर्वाचनबाट प्रचण्ड निर्वाचित भए चितवनको विकास हुने आधार तयार हुनेछ।
– संकल्प तिमिल्सिना, चितवन,
हालः नयाँ बानेश्वर, काठमाडौं

प्रधानमन्त्रीले नै सम्हालेको मन्त्रालय पनि सुनसान
सिंहदरबारभित्रै कर्मचारी बेरोजगार शीर्षकमा मधुसूदन रायमाझीले नेपाल समाचारपत्रमा लेखेको समाचार पढेपछि केही आफ्ना कुरा लेख्न मन लाग्यो। सिंहदरबारभित्र रहेका सबै मन्त्रालयमा कार्यालय समयमा भीडभाड भए पनि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भने सुनसान रहेको हुन्छ। त्यहाँका कर्मचारीले पनि काम नपाएर समय कटाउन समस्या परेको जस्तो देखिन्छ। सरकारले औपचारिकता देखाउन खोलेको यो मन्त्रालयको अवस्था बिजोग छ। प्रधानमन्त्री आफैंले सम्हालेका कारण पनि यस्तो अवस्था भएको हो। यस विषयमा नेपाल समाचारपत्रले निरन्तर खबरदारी गरोस्।
– सुरवीर खत्री, पुल्चोक, ललितपुर

प्रतिक्रिया दिनुहोस्