निर्वाचनमा सुरक्षा चुनौती



 

दुई चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा चुनौती बढ्दै गएको छ। चुनाव प्रचारप्रसारमा रहेका उम्मेदवारमाथि एकपछि अर्को गर्दै लगातार आक्रमणका घटना भैरहे पनि सरकार सुरक्षा चुनौतीप्रति गम्भीर नभएको आभास भैरहेको छ। यससँगै कतिपय ठाउँमा उम्मेदवारका कारण मतदाताहरुले स्वतन्त्र र खुल्लारुपमा चुनावी बहस गर्न नपाएको घटना पनि आइरहेका छन्। चुनावको मिति जति नजिकिँदै गयो त्यति नै उम्मेदवार र मतदातामाथि विभिन्न किसिमले अवरोध गर्ने क्रम बढ्दै गएको छ। कतिपय ठाउँमा एउटा पार्टीका उम्मेदवारले अर्को पार्टीका उम्मेदवारलाई प्रचारप्रसारमा जान नदिने तथा मतदातालाई समेत चुनावी प्रचारप्रसारको कार्यक्रममा भाग लिन नदिनेजस्ता घटनाहरु भैरहेका छन्।

पछिल्लो समय माओवादी नेता जनार्दन शर्मा, वर्षमान पुन तथा एमाले नेता शेरधन राईलगायतका नेताहरुमाथि आक्रमणको प्रयास भएका घटना सार्वजनिक भएका छन्। चुनावी सभा, घरदैलो अभियान गर्दै मत माग्ने क्रमले चुनावी माहौललाई रौनकता दिइरहेको बेला यस्ता घटना नरोकिँदा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न हुनेमा आशंका पैदा भएको छ। कतिपय उम्मेदवारहरु विगतमा आपराधिक क्रियाकलापमा संलग्न रहेका छन्। उनीहरुको मानसिकता नै झैझगडा गरेर, धाँधली गरेर जसरी पनि निर्वाचन जित्ने भन्ने पनि छ। चुनावी प्रचारप्रसारका क्रममा समेत उनीहरुले त्यस्तो छनक देखाएको पाइन्छ। अन्य दललाई प्रचारप्रसार गर्न नदिने, आफ्नो एरियामा अन्य दलका उम्मेदवारलाई मत माग्न आउनै नदिने तथा मतदातालाई पनि त्रसित बनाउनेजस्ता गतिविधि गरिरहेका छन्।

अहिले केही ठाउँमा चर्चा पाएका उम्मेदवारहरुमाथि आक्रमणका प्रयास मात्र भैरहेका छन्। सरकारले सुरक्षा चुनौतीलाई बेलैमा अन्दाज नगर्ने हो भने अब केही दिनपछि मतदातामाथि पनि आक्रमण हुन शुरु हुनसक्छ। मतदानको दिन अर्को पक्षका मतदाता पैल्याउँदै उनीहरुलाई मतदान गर्न नदिन बाटोमै रोक्ने प्रयास पनि हुनसक्छ। स्वतन्त्ररुपमा चुनाव प्रचारप्रसार गर्न पाउने र स्वतन्त्ररुपमा मतदान गर्न पाउने वातावरण बनेन भने निर्वाचन सम्पन्न हुनुले मात्र कुनै अर्थ राख्दैन। संविधान कार्यान्वयनको अन्तिम चरणको रुपमा हेरिएको यो निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा चुनौतीप्रति सरकार गम्भीर हुनुपर्छ र, निर्वाचन विरोधी कुनै पनि गतिविधि तत्काल रोकिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्