८ हजार वर्ष पुरानो रक्सी



 

तिब्लिसी, (एजेन्सी)
मदिराको प्रयोग मानव सभ्यताको शुरूवातदेखि नै भएको मानिन्छ। वैज्ञानिकहरूले जर्जियामा उक्त मान्यतालाई पुष्टि गर्ने प्रमाण फेला पारेका छन्। ८ हजार वर्ष पुरानो माटोको भाँडो र त्यसमा अंगुरबाट रक्सी बनाइएको प्रमाण भेटिएको छ।

शोधकर्ताहरूले अंगुरबाट मदिरा बनाएको यो सबैभन्दा पुरानो र शुरूवातको प्रमाण भएको बताएका छन्। यो जर्जियाको राजधानी तिब्लिसीको दक्षिणी इलाकामा दुई स्थान भेटिएको हो। उक्त स्थान नवपाषाण युगसँग सम्बन्धित छ। ती भाँडामा मदिराको केही अवशेष प्राप्त भएको हो। केही भाँडामा अंगुरको गुच्छा र नाच्दै गरेका एक व्यक्तिको तस्वीर पनि भेटिएका छन्।

जर्जियामा प्राप्त ती नयाँ वस्तुहरूका बारेमा प्रोसिडिंग्स अफ द नेसनल एकेडमी अफ साइन्सेजमा अनुसन्धान प्रतिवेदन छापिएको हो। टोरन्टो युनिभर्सिटीका वरिष्ठ अनुसन्धानकर्ता र सोधका सहलेखक स्टिफन बाट्युकले भने– ‘यो जंगलमा फल्ने युरेसियाइ अंगुरबाट मदिरा बनाएको सबैभन्दा पुरानो उदाहरण हो भन्ने हामीले मानेका छौं।’

पश्चिम सभ्यतामा मदिराको विशेष स्थान रहेको छ। उनीहरूले यसलाई औषधिका रूपमा सामाजिक मेलमिलापका लागि प्रयोग गर्छन् र मदिरा समाजदेखि अर्थव्यवस्थासम्म र औषधिदेखि खानपानसम्म केन्द्रमा हुने गरेको स्टिफनको धारणा छ।

यो भन्दाअगाडि मदिरा बनाएको सबैभन्दा पुरानो प्रमाण इरानमा फेला परेको थियो। इरानमा भेटिएको मदिराको भाँडो ७ हजार वर्ष पुरानो भएको बताइएको थियो। सन् २०११ मा आर्मेनियाको एक गुफामा ६ हजार पुरानो मदिराको अवशेष भेटिएको थियो।

विश्वको सबैभन्दा पुरानो अंगुरविनाको मदिरा सात हजार वर्ष पुरानो हो। चीनमा प्राप्त मदिरा चामल, सखर र फलफूलबाट बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्