खुला दिसापिसाबमुक्त बनाउन नयाँ अभियान



 

नयाँदिल्ली, (एजेन्सी)
भारत सरकारले सन् २०१९ सम्म खुला दिसापिसाब गर्ने समस्याबाट छुटकारा पाउने लक्ष्य राखेको छ। यसका लागि सरकारले २० अर्ब अमेरिकी डलरको धनराशी छुट्याएको छ र तीव्र रूपमा शौचालय बनाउने काम देशभरि सञ्चालन गरिरहेको छ।

भारतको पिछडिएको राज्य विहारमा यो चुनौतीलाई एउटा सामाजिक संस्थाले अनौठो ढंगले लिइरहेको छ। यो संस्था शौच ऊर्जाको मद्दतले शौचालय बनाउने र त्यसको रेखदेख गर्ने काम गरिरहेको छ। भारतको दुर्गम इलाकामा ५० करोडभन्दा धेरै मानिस आज पनि शौचालय प्रयोग गर्दैनन्। जसले कयौं स्वास्थ्यसम्बन्धी र सामाजिक समस्या उत्पन्न हुने गरेको छ। बच्चाहरू स्कुल जान पाउँदैनन् र महिलाहरू शौचका लागि खुला ठाउँमा जाँदा यौन उत्पीडनको शिकार हुने गरेका छन्।

सरकारी प्रयासबाहेक सामाजिकस्तरमा पनि मानिसहरू शौचालय निर्माण प्रक्रियामा लागेका छन्। तीमध्ये एक एसचआरआईको टोलीले नयाँ प्रयोगसँगै यस अभियानलाई अगाडि बढाइरहेको छ। एसएचआरआईको टोलीले बनाउने शौचालय स्थानीयले निःशुल्क प्रयोग गर्न पाउनेछन्। सरकारका तर्फबाट बनाइएको शौचालयमा कयौं समस्याहरू देखिएका छन्। ती शौचालयहरूमा सरसफाइ र अन्य व्यवस्थापनमा समस्या आइरहेको छ। एसएचआरआईको टोलीले बनाइरहेका शौचालयमा उनीहरूले शौचालय सफा गर्नुसट्टा बायोडाइजेस्टरको प्रयोग गरिरहेका छन्।
बायोडाइजेस्टरको मद्दतले बिजुली उत्पादन हुन्छ र जसबाट पानीलाई फिल्टर गरी सफा बनाइन्छ। उक्त फिल्टर पानीलाई बोतलमा भरेर ५० पैसा प्रतिलिटरमा विक्री गरिनेछ। यसबाट उठेको पैसा शौचालको हेरचाहमा खर्च गरिनेछ। एसएचआरआईले अहिले एक दिनमा ३ हजार लिटर पानी फिल्टर गर्छ। प्रवीण कुमार र उनका साथी चन्दन कुमारले क्यानाडामा जन्मेका इन्जिनियर अनुप जैनसँग मिलेर विहारको सुपौल जिलाको गाउँ नेमुआमा पहिलो सामुदायिक शौचालय बनाएका थिए। उनीहरूले पुरुष र महिलाका लागि ८–८ शौचालय बनाएका थिए।
उक्त शौचालय बिहान ४ बजेदेखि राति दश बजेसम्म खुला हुन्छ। उनीहरूको टोलीले पाँच गाउँमा शौचालय बनाएका छन्। त्यसलाई हरेक दिन ८ सय जनाले प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्