मतदाताको आस, सुरक्षित आवास



चिरञ्जीवी मास्के, दोलखा
हरेक निर्वाचनमा दलका नेताहरू मतदाताको घरसम्म पुग्छन् र समस्या सुन्ने तथा विभिन्न आश्वासन बाँड्ने गर्छन्। तर जब निर्वाचन सकिन्छ मतदाताको समस्या जस्ताको त्यस्तै रहन्छ।

दोलखा भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीकी सष्टिका श्रेष्ठले भनिन्– ‘यो पटक पनि नेताहरूले समस्या सुन्ने र आश्वासन बाढ्ने कामभन्दा बढी केही गर्छन् भन्ने आश त छैन तै पनि पुनर्निर्माणको समस्यालाई सम्बोधन गरिदिए राम्रो हुने अपेक्षा लिएको छु।’ भूकम्पले घर क्षतिग्रस्त भए पनि लाभग्राहीको सूचीमा नाम नआएको र पटकपटक गुनासो गरेको भए पनि सुनवाइ नभएको उनको भनाइ छ। मजस्ता धेरै पीडित छन् सष्टिकाले भनिन्– ‘कम्तिमा पनि दलका नेताहरूले सबै भूकम्पपीडित पक्की घरमा बस्ने कार्यक्रम ल्याउनुपर्यो।’

सडक निर्माणमा मजदुरी गर्दै आएकी सष्टिका राजनीतिक दलले युवाहरूको विदेश पलाएन रोक्न ग्रामीण तहमै रोजगारी सिर्जना हुने कार्यक्रममा जोड दिनुपर्ने बताउँछिन्।

सडक निर्माणमै मजदुरी गर्ने सुष्पाक्षमावतीकी देवी विश्वकर्मा पनि चुनावको बेला मात्र आश्वासन बाढ्ने राजनीतिक दलका नेताहरूको कार्यशैलीमा परिर्वतन जरुरी रहेको बताउँछिन्। नेताहरूले चुनावको बेला ठूला–ठूला सपना देखाउँछन् र चुनावपछि बिरानो बन्छन् देवीले भनिन्– ‘सपना सामान्य होस तर पूरा होस्।’ राजनीतिक दलले स्थानिय तहमार्फत कृषिमा आधुनिकीकरण, ग्रामीण क्षेत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता कुरालाई प्राथामिकतामा राखेर काम गर्नुपर्ने देवीको भनाइ छ।

कालिञ्चोक गाँउपालिकाकी संगीता थामी राजनीतिक दलहरूले चुनाव जितेपछि काम गर्ने विवरणसहितको घोषणापत्र निकालेको भन्ने सुनेको बताउँछिन्। तर घोषणापत्रमा के–के छ र त्यो पूरा हुने आधार के हो भन्ने बारेमा दलका नेताहरूले कहिल्यै नबताएको उनको भनाइ छ। गाउँको समस्या भनेको पक्की घरमा बस्ने र गाउँमै सानोतिनो काम गर्न पाउनुपर्ने नै हो संगीताले भनिन् – त्यसैले राजनीतिक दलले कृषि उत्पादनमा वृद्धि, घरेलु उद्योग, सिंचाइ, खानेपानीको व्यवस्थापन जस्ता कुरामा जोड दिनुपर्छ।

निर्वाचनमा सहभागी राजनीतिक दलहरूले केन्द्रीय स्तरमा आ–आफ्नो घोषणापत्र सार्वजनिक गरेको भए पनि दोलखामा भने वाम गठबन्धनले मात्र स्थानीय स्तरमा घोषणापत्र सार्वजनिक गरेको छ। वाम गठबन्धनको घोषणापत्रमा दोलखाको विकास र समृद्धिका लागि जलश्रोत, पर्यटन, कृषि, युवा रोजगारी, पुनर्निर्माणजस्ता कुरालाई नै प्राथामिकतामा राखिएको छ। तर ती योजनाहरू पूरा गर्ने विश्वासिलो आधार र प्रतिवद्धता भने घोषणापत्रमा समेटिएको देखिँदैन।

एमाले पोलिटब्युरो सदस्य तथा दोलखा प्रदेश नम्बर २ का उम्मेदवार पशुपति चौलागाईं वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख भएका विषयवस्तुलाई कार्यान्वन गर्न कम्युनिस्टको सरकार आवश्यक हुने उल्लेख गर्दै सबै योजना कार्यान्वयन गर्न सकिने र आवश्यकताको आधारमा समावेश गरिएको बताउछन्। नेता चौलागाईं भूकम्पपछिको पुनर्निर्माण वाम गठबन्धनको मुख्य प्राथामिकता रहेको बताउछन्। मतदाताको माग पनि पुनर्निर्माणको कामलाई प्राथामिकता दिनुपर्यो भन्ने नै छ चौलागाईंले भने– ‘वाम गठबन्धनले पनि यसलाई प्राथामिकतामा राखेको छ। हामी भूकम्पपीडितलाई चाँडै पक्की घरमा बस्ने वातावरण बनाउनेछौं।’

प्रतिक्रिया दिनुहोस्