सुकुम्वासीको विक्दैन लालपुर्जा



सलिम अन्सारी, प्यूठान ।
जिल्लाको सरुमारानी गाउँपालिका–१ का इस्माइल मिया वैंकमा जमिन धितो राखेर केही व्यावसाय गर्ने मनसायमा छन् । व्यवसाय सुरुवातका लागि जमिन धितो राख्न केहि वैंकमा समेत पुगे उनि । तर,कुनै पनि वैंकले धितो राखी ऋण दिन नमानेपछि सुविधावाटै वन्चित हुनु परेको उनले बताए।

‘हामी संग जमिनको लालपुर्जा छ, वार्षिक तिरो पनि तिर्दै आएका छौं तर धितो मान्य हुँदैन’, सुकुम्वासी अगुवा मियाले भने, ‘हामीले व्यवसाय गर्न पनि ऋण पाउँदैनौं ।’ मिया संगै ४२ जना सुकुम्वासी घरपरिवारहरुको वसोवास छ यहाँ । तर, उनिहरु ऋण लिएरै व्यवसाय संचालन गर्ने योजना भए पनि ऋण पाउन नसक्दा चिन्तीत छन् । ‘सरकारी,नीजि वैंक देखि स्थानीय सहकारी सम्ममा हाम्रो लालपुर्जा विक्दैन’ मियाले भने,‘व्यवसायिक क्रियाकलापमा लगानीका लागि अरु उपाए छैन ।’ अन्य नागरिक सरह कर तिर्दै आएपनि न्यूनतम ऋण समेत पाउन नसकेको उनिहरुको गुनासो छ ।

ठूला नदि देखि ५ सय मिटर सम्मको जमिन धितो राख्न नसकिने व्यवस्थाका कारण ऋण दिन नसकिएको यहाँका वैंकहरुले बताउदै आएका छन् । तर,सुकुम्वासीहरुको अन्य स्थानमा जग्गा जमिन नहँुदा उनिहरु समस्यामा परेका हुन । ‘नीतिगत समस्याले गर्दा उहाँहरुलाई कर्जा प्रवाह गर्न मिल्दैन’ नेपाल वैंक लिमिटेड प्यूठानका प्रवन्धक नरेन्द्र कुमार मिश्रले भने, ‘ठूलो नदि पर्ने ठाउँमा ५ सय मिटर भन्दा भित्र ऋण दिन मिल्दैन ।’
यस वस्तीमा पिछडा वर्गको वसोवास छ । वस्तिका अधिकांश यूवा वैदेशिक रोजगार र ज्याला मजदुरी गरेर जिविको पार्जन गर्दै आएका छन् । यस क्षेत्र दक्षिणी प्यूठानको व्यापारिक केन्द्रको रुपमा विकास हुदै गए पनि लगानी अभावमा आफूहरु व्यवसाय संचालन गर्न वन्चित बनेको उनिहरुको गुनासो छ । व्यापारिक केन्द्र वढे संगै स्थानीय रुपमै वैंक समेत संचालनमा आएता पनि त्यस वाट आफूहरु लाभान्वित हुन नसकेको मियाले बताए । ‘घर आगानमै सहकारी संस्था र वैंक समेत आएका छन् तर हामीलाई कुनै लाभ छैन’ उनले भने । वागेंशालमै रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले सम्म अहिले सम्म उनिहरुलाई ऋण लगानी नगरेको उनिहरु वताउँछन् ।

२०५२ सालमा घरवास नभएकाहरुलाई प्रतिव्यक्ति ५ रोपनी जग्गाका दरले जग्गा प्रदान गरिएको थियो । कुल ६९ कित्ता मध्ये हाल ४२ जना मात्र स्थायी सुकुम्वासी यहाँ वसोवास अर्दै आएका छन् । वाँकी २७ जना आफ्नो नाममा पूर्जा बनाएर अन्यत्रै सरेको स्थानीय वताउँछन् । वडा कार्यालय वाट करिव ६ सय मिटर पूर्व तर्फ सुकुम्वासी वस्ती छ । ऐरावती जाने मोटरवाटोमा वस्ती रहेकाले पनि यहाँको जग्गाको मूल्याकन राम्रो छ ।

बाटोले छोएको जग्गा प्रति रोपनी २ लाख ५० हजार देखि ३ लाख रुपैया सम्म मूल्य पर्छ । भित्रि जग्गा १ लाख देखि डेढलाख रुपैया सम्म प्रतिरोपनी कारोवार हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्