डोटीका नेता बिकास योजनाको सपना बाँढ्दै



विमल विष्ट, डोटी ।
डोटीमा बिभिन्न राजनैतिक नेता तथा उमेदवारहरुले पछिल्ले समय चुनावी कार्यक्रममा बिकास योजनाको सपना बाडिरहेका छन् ।

चुनावको मिति नजिकिदै जाँदा गाउ केन्द्रित भएका नेताहरु धमाधम रुपमा जनतालाई आफनो पार्टि जिताय बिभिन्न बिकास गर्ने भन्दै बिकासको सपना बाड्न थालेका छन् । चुनावी योजना संगै गाउ पसेका यहाँका नेता तथा उमेदवारहरु जनमत आफ्नो पक्षमा पार्न निकै दौड धुपमा लागेका छन् ।

डोटीमा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेद्वारहरुले आफनो पार्टिलाई जिताए डोटीमा गाउ घरमा विकास निर्माणका योजनाहरुको ओइरो लगाउने दाबी समेत गर्दै आएका छन् ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेद्वार भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री वीरबहादुर बलायरले अबको ३५ बर्षसम्म थप योजना माग गर्नु नपर्ने गरी सडक सञ्जालको योजना तयार भएको जनता सामु दावी गर्नु भएको छ । उहाँ भन्नु हुन्छ ‘म मन्त्री भएकै बेला चुनावी आचारसंहिता लागू भएका कारण ती योजनाहरु कार्यान्वयनमा नआएका हुन् तर सवै योजनाहरुको आवश्यक प्रक्रिया पूरा भइसकेको छ ,सडक योजनाहरुमध्ये कैलालीको खुटीयाबाट डोटीको दिपायल, बझाङ्गको चैनपुर हुँदै चीनको ताक्लाकोट जोड्ने सडक पहिलो सूचीमा छ ।’
मन्त्री बलायरसँग प्रतिस्पर्धा गरिरहेका बाम गठबन्धनका उम्मेद्वार एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगरको भाषणमा पनि योजनाको ओइरो छ । त्यसो त मन्त्री बलायरले आफ्नो भाषणमा समावेश गरेका अधिकांश सडक योजनाहरु आलेमगरले यस अघि पनि उठाउँदै आएका थिए ।

खुटीया,बिपीनगर दिपायल सडक, बोगटान सडक, बुडर जोरायल सडक लगायतका आधा दर्जन सडकहरुमा आफ्नो पहलबाट गतिलो बजेट आएको आलेमगरको दावी छ । ‘२०६४ सालको चुनावमा हारेर पनि डोटीको बिकासका लागि निरन्तर खटिरहेको थिएँ र २०७० मा चुनाव जितिसकेपछि मैले जिल्लाको बिकासका लागि धेरै गरेको छु ।’ आलेमगरले जिल्लाका बिभिन्न सडकहरुमा बजेट बिनियोजन भई टेण्डर समेत निस्किसकेकोले आफुले झुटा नबोलेको दावी गर्दै आउनु भएको छ ।

मन्त्री बलायर डोटीको राजपुरमा निर्माण भइरहेको प्रदेशस्तरीय सभाहल आफ्नो सक्रिय पहलमा बन्न लागेको बताउँछन् । २०७१ सालदेखि निर्माणाधिन उक्त सभाहल तीन सय जनाको क्षमताको रहेको छ ।

बलायरले आफ्नो प्रमुख कामको रुपमा उक्त सभाहललाई प्रचार गरिरहेका छन् । यता आलेमगरले डोटी बिमानस्थलको स्तरोन्नतीलाई आफ्नो प्रमुख कामको रुपमा व्याख्या गर्दै आएका छन् । लामो समयदेखि बन्द रहेको बिमान स्थल आफूले पहल गरेर स्तरोन्नतिका लागि वजेट निकासा भएको र पिच हुन थालेको दाबी आलेमगरको दाबी छ । उक्त बिमानस्थलको स्तरोन्नतिको काम जारी छ ।

चुनावमा होमिएका सबै उम्मेदवारहरुको साझा एजेण्डा चाही के छ भने प्रदेश नम्बर ७ को राजधानी दिपायललाई बनाउने । प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बलायर र आलेमगर २०६९ सालमा भएको अखण्ड सुदूरपश्चिम आन्दोलनका अगुवा हुन् । २०७० सालमा चुनावमा उहाँहरु दुवैले अखण्ड सुदूरपश्चिमलाई मुख्य चुनावी एजेण्डा बनाएका थिए । उहाँहरुको भनाई अनुसार साविकको सुदूरपश्चिम बिकास क्षेत्र एक प्रदेश भएपछि अव राजधानी दिपायल बनाउने भन्दै जनतासँग मत माग्न मागिरहेका छन् ।

एकले अर्कालाई कमजोर देखाएर चुनाव जित्ने सपना बोक्दै जनताका बिचमा गइरहेका उम्मेद्वारहरुसँग नयाँ योजनाहरु भने भेटिँदैनन् । सडक निर्माण गर्ने, खानेपानी बनाउने, बिद्यालय भवन बनाउने, सभा हल बनाउने, बिमानस्थल बनाउने, राजधानी बनाउने पुरानै योजनालाई उल्टाई,पल्टाई गर्दै दलहरु मत माग्दै आइरहेका छन् ।

उमेदवारहरुका व्यरोजगार युवाहरुलाई कसरी रोजगारी दिने, गरीवी कसरी न्युनीकरण गर्ने, अशिक्षा, असमानता जस्ता बिषयहरु खासै प्राथमिकतामा परेका भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्