पञ्चेश्वर सधैं चुनावी एजेन्डा



विनोद सिंह विष्ट, बैतडी

बैतडीमा राजनीतिक दलहरूले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई चुनावी एजेन्डा बनाएका छन्। बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना आफुले जितेमा आयोजनाको निर्माण कार्य अगाडि बढाउने बताउन थालेका छन्।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम आफू अर्थराज्यमन्त्री भएको बेला अघि बढेको भन्दै वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दामोदर भण्डारीले जस लिने गरेका छन्। यस आयोजनालाई अघि बढाउनका लागि स्थिर सरकार आवश्यक रहेको र यसका लागि वाम गठबन्धनलाई जिताउनुपर्ने उहाँको भनाइ छ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर निर्माणको कार्य अन्तिम चरणमा रहेको यसलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउन आफूले पहल गर्ने भण्डारीले बताउनुभयो। पञ्चेश्वर परियोजना बाँधस्थललाई जोड्ने पाटन–पञ्चेश्वर सडक निर्माणको कार्यले पनि आफूले राज्यमन्त्री भएको पालामा अघि बढेको भण्डारीको दाबी छ। सो सडकलाई बहुवर्षीय ठेक्का प्रणालीमा राखेको र काम दु्रत गतिमा अघि बढेको भण्डारीले बताउनुभयो।

यता लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार एवम् वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले पञ्चेश्वर बहुउद्दश्यीय आयोजना नेपाली कांग्रेसले अघि बढाएको र यसको बारेमा आफूले पटक–पटक सदनमा समेत बोलेको बताउनुभयो। पञ्चेश्वर बहुउद्देश्यीय आयोजना दुई देशबीचको सहमतिको आधारमा अघि बढ्ने भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला यसले प्राथमिकता पाएको उहाँको दाबी छ।

परियोजनाको बाँधस्थलसम्म पुग्ने पाटन–पञ्चेश्वर सडकमा आफ्नो पार्टीका नेता रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका बेला ६२ करोड बजेट विनियोजन भएर काम भइरहेको र आफ्नो पार्टीले सो सडकलाई अहिले पनि मुख्य प्राथमिकतामा राखेको चन्दको कथन छ।
चुनाव नजिक आएका बेला मतदातालाई आफूतिर तान्न सबै दलका उम्मेदवारले आफ्ना एजेन्डाका बारेमा गाउँ–गाउँमा गएर नागरिकलाई सुनाइरहेका छन्। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनलाई चुनावी नारा मात्रै नभएर कार्यान्वयनमा ल्याउन स्थानीय नागरिकले आग्रह गरेका छन्।

यस्तै विवेकशील साझा पार्टीले पनि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई चुनावी एजेन्डा बनाएको छ। प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका नारायणदत्त अवस्थीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढ्यो भने हजारौ नागरिकले रोजगारी पाउने बताउनुभयो। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडी बढ्यो भने आर्थिक समृद्धि हुने समेत देखिएकोले बैतडीका राजनीतिक दलले अहिले यसलाई चुनावी एजेन्डा बनाएका हुन्।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि बैतडीमा उम्मेदवारहरू भोट माग्ने कार्यमा व्यस्त रहेका छन्। चुनावलाई लक्षित गरेर बैतडीमा सबै राजनीतिक दलहरूले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन्। सबै राजनीतिक दल हिजोआज भोट माग्न गाउँ केन्द्रित भएका छन्। मतदातालाई कामको चटारो भए पनि उम्मेदवारलाई मत माग्न हतार भइरहेको छ। लोकतान्त्रिक गठबन्धन, बामगठबन्धन र अन्य साना दलहरूले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

१ लाख ३२ हजार ३ सय १९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएको छ। उक्त निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय बैतडीले पनि तयारी तीव्र पारेको छ। निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारीका लागि सरकारी कार्यालय, संस्थान, संस्था र सामुदायिक विद्यालयका शिक्षकको नाम संकलन गर्न शुरू भएको उहाँले बताउनुभयो। साथै मतदानस्थल अनुगमन, निर्वाचनमा आवश्यक पर्ने भौतिक सामग्रीको समेत तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

गत असारमा प्रयोगमा भएका मतपेटिका, स्वस्तिक छापलगायतका निर्वाचन सामग्रीलाई पनि तयारी अवस्थामा राखिन लागिएको छ।भने मतदानस्थलहरू अनुगमनको कार्य भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्