मन्त्रालय र प्राधिकरणको जुहारीले बजेट पारित भएन



दीपेन्द्र थापा, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको मनमुटावका कारण प्राधिकरणका लागि छुट्याइएको बजेट निकासा हुन सकेको छैन। तीन महिनासम्म पनि बजेट निकासा हुन नसक्दा प्राधिकणको काम प्रभावित भएको छ।

प्राधिकरण स्रोतले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव बोर्ड बैठक बसालेर बजेट पास गर्न सकारात्मक देखिए पनि मन्त्रालयका कर्मचारीले उहाँलाई असहयोग गरेका छन्। प्राधिकरणको बोर्डका सदस्यसमेत रहनुभएका मन्त्रालयका सहसचिव सुरेश आचार्यले भन्नुभयो–‘बोर्डको बैठक अहिलेसम्म किन बस्न नसकेको हो त्यो मैले बुझ्न सकेको छैन, महानिर्देशकले बैठकमा बोलाए हामी जाने हो।’

चालू वर्ष प्राधिकरणको बजेट ४३ अर्ब ६५ करोड छ भने अघिल्लो वर्ष ३७ अर्ब ६८ करेड ८८ लाखको बजेट छुट्याएको थियो। मन्त्री देव आएदेखि दुईपटक मात्रै बोर्डको बैठक बसेको छ। पहिलो बैठकले मन्त्रीको स्वागत राखेको थियो भने दोस्रोले उपसमिति गठन गरेको थियो। भदौ १९ देखि बोर्डको बैठक बस्न सकेको छैन।

चालू आर्थिक वर्षको प्रथम त्रैमासिक बितिसक्दा समेत प्राधिकरण बोर्डको बैठक बस्न नसकेको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताउनुभयो। उहँँले भन्नुभयो–‘जसले गर्दा आयोजनाको रकम भुक्तानी गर्न र नयाँ आयोजना अगाडि बढाउन प्राधिकरणले सकेको छैन।’

अर्थ मन्त्रालयका राजस्व सचिव नभएका कारण पनि बैठक बस्न नसक्नुको अर्काे कारण हो। प्राधिकरणको बोर्डमा विभागीय मन्त्रीको अध्यक्षयतामा ८ जनाको बोर्ड समिति रहने कानुनी व्यवस्था छ। ‘मन्त्रालयकै कर्मचारीको निर्देशनमा बजेट पास नभएको देखिन्छ जसले गर्दा प्राधिकरणको काम कारवाहीमा ठूलो असर परिरहेको छ,’ प्राधिकरण स्रोतले भन्यो–‘ठूला परियोजनामा र चालू परियोजनामा असर नगर्ने भए पनि नयाँ परियोजना भने अगाडि बढ्न सकेको छैन।’

प्राधिकरणको आन्तरिक बैठक भने बसिरहेको छ। तर, प्राधिकरणले व्यवस्थापकीय मात्र भएको र यसले बजेटको विषयमा कुनै खालको निर्णय गर्ने अधिकार रहेको छैन्। बजेट पास नहुँदा प्राधिकरणले सञ्चालन गर्न लागेको करिब २ दर्जन आयोजना अलपत्र परेका छन् भने थप १ वर्ष ढिला हुनेछ। पटकपटक बोर्डको बैठक बस्ने भने पनि बोर्ड सदस्यहरू बैठकमा उपस्थित हुन नसकदा कोरम नपुग्ने गरेको भन्दै बैठक रद्द हुने गरेको छ।

मन्त्रीले अब २९ गते बैठक बस्ने बताए पनि बैठक बस्छ बस्दैन प्राधिकरण नै अन्योलमा रहेकोछ। विगतमा पटकपटक बैठक बस्ने भने पनि बस्न नसकेकाले अन्योल रहेको हो। बैठक मन्त्रीको पहलमा प्राधिकरणका महानिर्देशकको सहकार्यमा बोलाउने प्रावधान रहेको छ।

चुनावी तयारीका लगि गृह जिल्ला सप्तरीमा रहेका मन्त्री देव पटकपटक सम्पर्क गर्दा सम्पर्कमा हसन सकेन। ८ जना बोर्ड सदस्यमा रहने सञ्चालक समितिमा पर्यटनमन्त्री अध्यक्ष, पर्यटन मन्त्रालयकै हवाई सेवा विभाग हेर्ने सहसचिव, अर्थ मन्त्रालयले तोकेको सहसचिव, नेपाल वायुसेवा निगमका महाप्रबन्धक, पर्यटन क्षेत्रका विज्ञ एक, उड्डयन विज्ञ एक, सदस्य र प्राधिकरणका महानिर्देशक सदस्यसचिव रहने व्यवस्था छ।
निजी हवाई सेवा प्रवाहको तर्फबाट बोर्ड सदस्य रहेका निमा लामा करिब ३ महिना अगाडि मृत्यु भएकाले सो पद खाली छ भने भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले केही महिना अगाडि अवकास लिएपछि सो पद पनि खाली छ।

यसअघि पूर्वस्वीकृति नलिइकन नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सरुवा गरेको भन्दै निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवसँग स्पष्टीकरण माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्