वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर



 

स्वदेशमा राजेगारीको अवसर नभएपछि लाखौं युवायुवती वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरु विदेशमा मात्र होइन, स्वदेशमै पनि बढी गठिने गरेको गुनासो छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नै वैदेशिक रोजगारीमा जानेहरुबाट करोडौंको ठगी हुने गरेको छ । सो तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा २६ करोड रुपियाँभन्दा बढी ठगी भएको पाइएको छ । तीन महिनाको अवधिमा व्यक्तिगत र संस्थागतरुपमा ५ सय ५० ठगीको उजुरी परेको छ ।

नेपाली कामदारलाई विदेश पठाउन लाइसेन्स होल्डर वैदेशिक रोजगार कम्पनी, एजेन्ट, कन्सल्टेन्सीलगायत अन्य विभिन्न व्यक्तिगत माध्यमबाट ठगी हुने गरेका घटना नौला होइनन् । वैदेशिक रोजगारीमा जानेहरु स्वदेशमा नै म्यानपावर कम्पनी, एजेन्टबाट दैनिक गठिँदै आएका छन् । वैदेशिक रोजगारीमा जानेहरुमा चेतनाको अभावका कारण पनि सरकारले तोकेको मापदण्डभन्दा दोब्बर रुपियाँ लिएर ठगी हुने गरेको छ ।

यहाँ कम्पनीले एउटा काम तोक्ने तर विदेशमा पुगेपछि कठिन काम गर्न बाध्य बनाउने गरेको छ । पैसा लिएर पनि विदेशमा अलपत्र पार्ने मेनपावर कम्पनीहरु थुप्रै छन् । सरकारले तोकेको मापदण्डअनुसार पैसा तिरेको कागज बनाउने तर मापदण्ड विपरीत १० गुणसम्म पैसा लिने गर्दा गठिनेहरु थप पीडित हुने गरेका छन् । वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्किंदा पनि आफूले तिरेको पैसाको प्रमाण नहुँदा फिर्ता लिन कठिन हुने गरेको छ ।

संस्थागत ठगीको तुलनामा व्यक्तिगतरुपमा हुने ठगी साढे दुई गुणा बढी छ । पहिलो तीन महिनामा व्यक्तिगतरुपमा १८ करोड ५४ लाख ३२ हजार ७ सय ९१ रुपियाँ ठगी भएकोमा संस्थागतरुपमा ठगीविरुद्ध ७ करोड ६६ लाख ५७ हजार ३ सय ९१ रुपियाँ आर्थिक नोक्सानी भएको तथ्याङ्क छ । महँगो ब्याजमा ऋण काढेर वैदेशिक रोजगारीमा जाने र भनेजस्तो काम नहुँदा अलपत्र हुनेको संख्या पनि ठूलै छ ।

खाडी मुलुकमा वैदेशिक रोजगारीमा जानेभन्दा युरोपलगायतका अन्य देशमा जानेहरु बढी ठगीमा पर्ने देखिएको छ । लाखौं रुपियाँ बुझाएर ठूलो देश जाने सपनाको कारण हजारौं युवाहरु दलालमार्फत ठगिँदै आएका छन् । यस्ता मामिलामा दलालले लिएको रकम उठाउन झन् कठिन हुने देखिएको छ । संस्थागतभन्दा पनि व्यक्तिगत उजुरी मिलाउन कठिन देखिएको विभागले बताउँदै आएको छ । यस परिस्थितिमा सरकारले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न ध्यान दिनै पर्छ । वैदेशिक रोजगारीमा जानेहरु पनि सचेत भएर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्