कलेजका नाममा ठगी, सञ्चालकद्वारा विद्यार्थी गायब



 

मोतीराम तिमल्सिना, काभ्रेसीएमए र अनमी अध्ययनका लागि देशका विभिन्न जिल्लाबाट अध्ययनका लागि नेसनल हेल्थ फाउन्डेसन जनागाल बनेपामा भर्ना भएका ८० विद्यार्थी ठगी गर्ने सञ्चालक अझै कारबाहीको दायरामा आउन सकेका छैनन्।
‘ठगी गर्ने सञ्चालकहरूले नै विद्यार्थीलाई अर्काे वर्ष परीक्षा दिने तर कतै उजुरी नगर्ने कागजमा सही गराएका छन्’, एक विद्यार्थीले भने– ‘हामीसँगै अध्ययन गरेका साथीहरू फाइनल परीक्षा दिइरहेका छन्, हामीलाई घुमाउन लगिएको छ।’

सञ्चालकहरूले बन्दीजस्तै गरी मोबाइल फोनसमेत सम्पर्क नहुने गरी कसैसँग भेट्न समेत दिएका छैनन्। ‘अभिभावकहरूलाई समेत ठगीका बारेमा कसैलाई उजुरी नगरिदिन अनुरोध गरेका छन्’, विद्यार्थीले भने– ‘सीटीईभीटीका कर्मचारीहरूको मिलेमतोमा अनुमति पाएको भन्दा दोब्बर विद्यार्थी भर्ना लिएपछि नुवाकोट टेक्निकल इन्स्टिच्युटका नाममा नक्कली फाराम भराइएको भए पनि रजिस्टर हुन नसक्दा परीक्षाबाट वञ्चित हुनुपर्यो।’

समयमै नवीकरणसमेत नगरेको नेसनल हेल्थ फाउन्डेसनका बारेमा ठगीको समाचार आएलगत्तै सोमबार बिहानै जिल्ला प्रशासन कार्यालयमा एनजीओ नवीकरणका लागि फाइल पुगेको थियो। असोज २८ गते साधारणसभा भएको विवरणसहित कात्तिक २७ गते नवीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा फाइल पुगेको थियो।

‘हतार–हतार नवीकरणका लागि पुगेको टोलीले वडाको सिफारिस नलगेपछि पुनः सिफारिस लगेर नवीकरण गरे’ –प्रशासनका एक कर्मचारीले भने। २०५३ साल चैत २९ गते जिल्ला प्रशासनको ३३४ नम्बरमा दर्ता भएको उक्त संस्थामा अध्यक्ष प्रकाश रजौरीया, सचिव जया ढुंगाना, कोषाध्यक्ष सत्यनारायण यादव रहेका छन् भने कोषाध्यक्ष पुष्पराज खनाल, कन्हैयालाल संघाई, रोशनी अमात्य र मिनु जोशी रहेका छन्। कोटेश्वरमा शाखा कार्यालय राख्ने अनुमति लिएको उक्त संस्थाको मुख्य कार्यालय साविक जनागाल गाविस ८ हो।

वार्षिक १ लाख ५० हजारका दरले करोडभन्दा धेरै रुपियाँ संकलन गरेर फरार भएका सञ्चालकहरू राजनीतिक दलको फेर समातेर ठगीबाट उम्कने प्रयासमा छन्। ‘बनेपामा रहेको नेसनल हेल्थ फाउन्डेसनका नाममा विद्यार्थी भर्ना गराएर सञ्चालक सदस्य सचिव शिलाकान्त झा र प्रशासन प्रमुख सुरज ज्ञवालीले दर्ता नै नभएको नुवाकोट टेक्निकल इन्स्टिच्युटका नाममा झुक्याएर फाराम भराएका थिए। गत शुक्रबारदेखि शुरू भएको फाइनल परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूलाई प्रशासन प्रमुख सुरज ज्ञवालीले पीरक्षा हुन्छ भन्दै परीक्षा दिने अवसरबाट वञ्चित गराएका थिए।

नेसनल हेल्थ फाउन्डेसनले सीएमए र अनमी अध्ययनका लागि ४०⁄४० जनाको अनुमति प्राप्त गरेको छ। जिल्लामा काभ्रे हेल्थ ट्रेनिङ इन्स्टिच्युट र नेसनल हेल्थ फाउन्डेसनबाट १ सय ६० विद्यार्थीले अध्ययनको अनुमति प्राप्त गरेका छन्। तर नेसनल हेल्थ फाउन्डेसनले अनुमति भएको भन्दा दोब्बर विद्यार्थीहरू अध्यापन गराउँदै आएको थियो। सोही इन्स्टिच्युटमा अध्ययन गरेकामध्ये ८० जनाले शुक्रबारदेखि बनेपा पोलिटेक्निक स्कुलमा भएको परीक्षामा सहभागी हुने अवसर पाए भने बाँकी ८० जना विचल्लीमा परे।विचल्लीमा परेका ८० जनालाई सञ्चालक ज्ञवालीले बनेपा नगरपालिका वडा नम्बर ८ स्थित रामकुमार श्रेष्ठको घर भाडामा लिएर परीक्षा सञ्चालनको तयारी गरी प्रवेशपत्र वितरण गरेका थिए। ‘अध्ययन एउटामा प्रवेशपत्र अर्काे इन्स्टिच्युटको वितरण गरेपछि शंका लागेर बुझ्दा उल्टै प्रमाणपत्र भए भएन भनेर गाली गर्नुभयो’, एक विद्यार्थीले भने– ‘भोलिपल्टको परीक्षा बिग्रिने डरले केही नभनी चुपचाप बस्दाबस्दै ज्ञवाली बेपत्ता भएछन्, झा त केही महिनाअघि देखि नै बाहिर बस्दै आएको थाहा पायौं।’

सीटीईभीटीका कर्मचारीहरूको संलग्नतामा उक्त कलेजले अनुमतिभन्दा धेरै विद्यार्थी भर्ना गरेर पढाउँदै आएको थियो। अनुगमनका क्रममा पनि उक्त विद्यालयलाई कुनै सजाय दिइएको थिएन। उल्टै नुवाकोट टेक्निकल इन्स्टिच्युटको नामबाट दर्ता पनि नभएको र सोही विद्यालयबाट विद्यार्थीको रजिस्ट्रेसनसमेत नभएको जानकारी दिए।सीटीईभीटीका प्रशासन प्रमुख रमेशकुमार बखतीले दोषीलाई कारबाही हुने बताए। सीटीईभीटीका स्तर निर्धारण महाशाखा प्रमुख जीवनारायण काफ्लेले तत्काल कारबाहीको दायरामा ल्याउने बताए। ‘नेसनल हेल्थ फाउन्डेसनका नामबाट ठगी गर्ने शिलाकान्त झालाई यसअघि डडेल्धुरामा ठगी गरेको अभियोगमा कारबाही गरिएको थियो’ –काफ्लेले भने।

प्रतिक्रिया दिनुहोस्