उम्मेदवारमाथि आक्रमण हुन थालेको भन्दै आयोग चिन्तित



सुनील महर्जन, काठमाडौं
तिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारमाथि बढ्दै गएको आक्रमणलाई लिएर निर्वाचन आयोगले चिन्तित रहेको छ। उम्मेदवारमाथि आक्रमणका घटना बढ्दै गए मतदातामा समेत सुरक्षा चुनौती बढ्ने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको भनाइ रहेको छ।

उम्मेदवारको चुनाव प्रचारप्रसारका क्रममा घरदैलो अभियान, चुनावी सभा गरेर चुनावी माहौललाई रौनकता दिइरहेको बेला उम्मेदवारमाथि आक्रमण गर्न घटना बढ्दै गएकोप्रति आयोग चिन्तित रहेको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारमाथि भएको एकपछिको आक्रमणले सुरक्षा चुनौती बढेको स्वीकार गर्दै प्रमुख निर्वाचन आयोगले उम्मेदवारको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारमाथि भौतिक आक्रमण हुन सक्ने, प्रचारका क्रममा झडप हुन सक्ने र चुनावी सभामा अवरोध हुनसक्ने गतिविधिप्रति आयोगले शुरूदेखि गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएको बताइएको छ।

आयोग र सुरक्षा निकायका प्रमुख बसेर पछिल्लो सुरक्षा स्थितिबारे आइतबार छलफल गरेको दुई दिन नबित्दै मंगलबार पूर्वमन्त्री एवं एमाले नेता शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार गरिएको थियो। सो छलफलमा आयोगले देशको समग्र शान्ति सुरक्षाका बारेमा जानकारी लिँदै विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको थियो।
एकपछि अर्को गरी लगातार उम्मेदवारमाथि आक्रमण गर्दै आएको घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले सुरक्षा चुनौती न्यून गर्न सरकार गम्भीर हुने विश्वास व्यक्त गर्नुभयो। यसअघि रोल्पाको माडी गाउँपालिका–१ स्थित भिट्टाभाङ पुगेका माओवादी नेता वर्षमान पुनलाई लक्षित गरी गत शनिबार रोल्पामा बम आक्रमण भयो।

यस्तै, शुक्रबार माओवादी नेता जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गर्दै विप्लव समूहका कार्यकर्ताले बम प्रहार गरेको थियो। ‘यस्ता घटनाले निर्वाचनको माहोल र वातावरणमा असर पुग्ने देखिएको छ। यस्ता घटनाप्रति सरकार गम्भीर हुनुपर्दछ।’ –उहाँले भन्नुभयो।

निर्वाचनमा होमिएका उम्मेदवारलाई त्रसित पार्ने, आक्रमणको प्रयास गर्ने, उम्मेदवार चढेको गाडीलाई नै लक्षित गरी बम⁄माइन विस्फोट गराउनेजस्ता गतिविधिले गर्दा उम्मेदवारको सुरक्षा व्यवस्थामा चुनौती सिर्जना गरेको आयोगले जनाएको छ।

प्रहरीले जिल्ला जिल्लामा विशेष सुरक्षा सतर्कता बढाएको भए पनि निर्वाचनमा सुरक्षा चुनौती बढेर गएको आयुक्तको बुझाइ रहेको छ। शान्तिपूर्ण र भयरहित वातावरण सिर्जना हुन सकेमात्रै मतदातामा निर्वाचनप्रति आकर्षण बढ्छ।

गृहले रूकुम, रोल्पा, गोरखा र जाजरकोट सुरक्षाका हिसाबले चुनौतीपूर्ण जिल्ला मानिएको छ। ‘सरकारले उम्मेदवारको सुरक्षाको प्रत्याभूति गर्नुपर्छ। निर्वाचन विरोधी जस्तोसुकै गतिविधिविरूद्ध सरकार गम्भीर बन्नुपर्छ। यस्ता गतिविधि गर्नेविरूद्ध कानुनी कारबाही गरिनुपर्छ।’ प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो।

यसैबीच काभ्रेमा आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त यादवले उमेदवारलाई मात्र नभई मतदातामासमेत सुरक्षा चुनौती बढेको भन्दै सचेत र सुरक्षित हुन आग्रह गर्नुभएको छ। सुरक्षा निकायको मात्रै भर नपरी मतदाता आफैं पनि सुरक्षित र सचेत रहन प्रमुख आयुक्त यादवले आग्रह गर्नुभयो। सोही कार्यक्रममा उहाँले राष्ट्रसेवक कर्मचारीले पार्टीको झण्डा र प्रचारमा हिँड्नु लज्जास्पद भएको पनि बताउनुभयो। शिक्षक र निजामती कर्मचारीले दलपिच्छे झोला बोक्नु अशोभनीय भएको भन्दै यस्ता काम बन्द गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्