आचारसंहिताले सस्तियो निर्वाचन



 

ललित सिंह, बझाङ
स्थानिय तहको निर्वाचनमा अधिक तडकभडक र खर्चिलो प्रचार गरेको आरोप खेपेका दलहरूले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भने सस्तो भएको बताएका छन्। निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आचारसंहिताको संशोधन गरी अनावश्यक खर्चमा रोक लगाएपछि चुनाव सस्तिएको दलहरूले बताएका छन्।

‘गाउँपालिकाका अध्यक्षहरूले पनि ५⁄७ लाखको त टि–र्सट नै छपाएका थिए’ एमालेका नेता तथा निर्वतमान सांसद अफिलाल ओखेडाले भने ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आचारसंहिताले रोक नलगाएको भए एउटै उम्मेदवारले २०⁄२२ लाखको टि–र्सट नै छाप्नुपर्ने हुन्थ्यो’ आचारसंहिताको संशोधनले गरिब नेताहरूले पनि चुनाव लड्न सहज भएको उनले बताए।

निर्वाचन आयोगले असोज २३ गते निर्वाचन आचारसंहिताको दफा ४ संशोधन गरी उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, टि–र्सट, टोपी गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, प्रर्दशन गर्न गराउन रोक लगाएको थियो।

‘यो निर्वाचन विगतका सबै निर्वाचनभन्दा सस्तो हुने देखियो’ नेपाली कांग्रेसका जिल्ला सभापति हर्कजंगबहादुर सिंहले भने ‘झण्डाबाहेक अरू अनावश्यक सामग्रीहरूमा खर्च घट्ने बित्तिकै त आधाभन्दा बढी खर्च घट्ने रहेछ’ नीतिमा सुधार र कडा कार्यान्वयन हुने सके पद्धतिमा सुधार हुनसक्दोरहेछ भन्ने कुरा यसबाट प्रमाणित भएको उनले बताए।

स्थानीय तहको निर्वाचनका बेला चाहना र आर्थिक क्षमता नहुँदा पनि ऋण गरेर टि–र्सट र टोपी छपाएको सुनाउने जयपृथ्वी नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष गगनबहादुर सिंहले आचारसंहितामा भएको व्यवस्थाप्रति खुसी जनाउदै भने ‘अरू उम्मेदवारले टि–र्सट टोपी वितरण गर्न थालेपछि कार्यकर्ताहरूले मान्दै नमान्ने भए। ऋण खोजेर ७० हजारको त टि–र्सट मात्र छपाए होला। यस्तै व्यवस्था पहिला पनि भैदिएको भए उम्मेदवारहरूको अनावश्यक खर्च हुने थिएन’ निर्वाचन आचारसंहितामा भएको संशोधनका कारण यो निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूमा आर्थिक भार निकै कम हुने उनले बताए।

निर्वाचन आचारसंहिताका कारण निकै आकासिने टि–र्सट, टोपी र झोलाको व्यापार भने सुस्ताएको व्यापारीहरू बताउँछन्। ‘स्थानीय तह निर्वाचनमा १० लाखबराबरको टि–र्सट र झोला मात्रै बिक्री भएको थियो’१ जना व्यापारी मदन जेठाराले भने योपालिको चुनावमा अहिलेसम्म कसैले अर्डर गरेका छैनन्।

चुनावमा सामाग्रीको कम प्रयोग हुने भएपछि व्यवस्थापन गर्नसमेत दलहरूलाई सजिलो भएको छ। नेकपा एमालेका सामाग्री व्यवस्थापन तथा वितरण समितिका संयोजक जन्मजय जोशीले भने– ‘पहिलापहिला टि–र्सट, टोपी, झोलालगायतका सामग्री जिल्लाभर बाँड्नुपर्ने भएकाले धेरै कार्यकर्ताहरू यसैमा खट्नुपथ्र्यो। अहिले सजिलो भएको छ। झण्डाका पोकाहरू गाउँपालिकाको जिम्मा लगाएका छौं। हाम्रो समितिको काम अस्ति नै सकियो’

अघिल्ला निर्वाचनमा पर्चा पम्पलेटहरूमा धेरै खर्च गर्ने दलहरूले यसपटक त्यतातिर पनि खर्च घटाएको बताएका छन्। नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका पृथ्वीबहादुर सिंहले पर्चा पम्पलेटभन्दा पनि जनतालाई अन्य माध्यमबाट मत माग्ने रणनीति अपनाइएको बताए।

प्रतिक्रिया दिनुहोस्