प्रत्यक्षका उम्मेदवार व्यक्तिमा केन्द्रित, दललाई भोट माग्ने समानुपातिक उम्मेदवार मात्रै



 

नरेन्द्र केसी, घोराही, दाङ
चुनावी सरगर्मी शुरू भएसँगै राजनीतिक दलका नेता कार्यकर्ता प्रचारप्रसारमा व्यस्त छन्। चुनावी सभा, घरदैलो र भेटघाट आदिका माध्यमबाट उम्मेदवारको पक्षमा मत माग्ने शुरू भइसकेको छ। उम्मेदवारले ‘मलाई भोट दिनुस्’ भन्ने भए, सँगसँगै हिँडेका कार्यकर्ताले पनि ‘उहाँलाई भोट दिनुहोला’ भन्दै हिँड्छन्। यो भीडमा थोरै यस्ता उम्मेदवार पनि छन्, जसले आफूलाई होइन दललाई भोट मागिरहेका भेटिन्छन्।

यो कसैको रहरभन्दा पनि चुनावी प्रणालीले नै यस्तो बनाइदिएको हो। पहिलो निर्वाचित हुने प्रणालीमा चुनाव लडेका उम्मेदवारले आफूलाई भोट मागिरहँदा समानुपातिक उम्मेदवारले भने आफूलाई होइन दललाई भोट मागिरहेका छन्। पत्यक्षर्फत प्रतिनिधिसभा र प्रदेशमा फरक–फरक उम्मेदवार चुनाव लडेका छन्। त्यसै गरी समानुपातिकतर्फ पनि प्रतिनिधिसभा र प्रत्यक्षतर्फ फरक–फरक उम्मेदवार छन्। तर, उनीहरूले आफूले पाउने मतसँग सरोकार नहुने भएकाले दलले जति धेरै मत पाउँछ, उति धेरै जना समानुपातिक सांसद बन्ने अवसर आउँछ। त्यसैले प्रत्यक्षतर्फका उम्मेदवारसँग वा एक्लाएक्लैरूपमा समानुपातिक उम्मेदवारले दलको पक्षमा मत माग्ने गरेका छन्।

अहिले गठबन्धनमा रहेका दलहरूलाई प्रत्यक्षतर्फ निर्वाचन आयोगले सजिलो बनाइदिएको छ। जुन क्षेत्रमा जुन दलको उम्मेदवार उठेको छ उसको मात्र चुनाव चिन्ह राखेकाले उम्मेदवार नउठाएका दललाई सो क्षेत्रमा आफ्नो चुनाव चिन्हबारे प्रचार गरिरहनुपरेन। तर, समानुपातिकमा भने आ–आफ्नै चुनाव चिन्हमा मत माग्नुपरेकाले पनि दलहरूले आफ्नो प्रचार बढाएका छन्। त्यसैका लागि समानुपातिकलाई बढी मतदाताबीच लैजानुपर्ने र दलका लागि मत माग्ने व्यवस्था मिलाउनुपर्ने बाध्यतामा दलहरू छन्।

दाङमा क्रियाशील प्रमुख राजनीतिक दलहरूले पहिलो चरणमा समानुपातिक उम्मेदवारलाई पनि प्रत्यक्षतर्फका उम्मेदवारसँगै हिडाएर दलको पक्षमा मत माग्ने रणनीति बनाएका छन्। ‘समानुपतिक उम्मेदवारले प्रत्यक्षसँगै हिँडेर मत मागिरहनुभएको छ’ –कांग्रेस दाङका सचिव शंकर डाँगीले भन्नुभयो, ‘फरक यति होकि प्रत्यक्षका उम्मेदवारले आफूलाई भोट माग्नुहुन्छ भने समानुपातिकका उम्मेदवारले दलको पक्षमा मत माग्नुभएको छ।’

वाम गठबन्धनसम्बद्ध एमाले र माओवादी केन्द्रले पनि यस्तै रणनीति लिएका छन्। ‘कतिपय समानुपतिक उम्मेदवार प्रत्यक्षतर्फका उम्मेदवारसँगै हिँड्नुभएको छ भने कतिपय स्थानीयस्तरमा हुने भेला र भेटघाटमार्फत पार्टीको पक्षमा मत मागिरहनुभएको छ’– एमाले जिल्ला अध्यक्ष टीकाराम खड्काले भन्नुभयो। त्यस्तै माओवादी केन्द्रका जिल्ला इञ्चार्ज जीवन गौतमले पनि समानुपातिक उम्मेदवारहरू सम्बन्धित क्षेत्रमा रहेर दलको पक्षमा मत माग्न व्यस्त रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्