निर्वाचन हार्ने महिला भन्छन्– “पारिवारिक पीडा झेलेका छौं”



हिक्मत नेपाली, दैलेख
गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बाट चुनाव लडेकी बसन्ता सापकोटा आफ्नै घरकी जेठानीसँग पराजय भइन्। नेकपा एमालेबाट खुल्ला महिला वडा सदस्यमा चुनाड लडेकी सापकोटा र घरकी जेठानी नेपाली काँग्रेस भएकाले उनको घरमा पारिवारिक कलहनै सिर्जना हुन पुग्यो। उनी भन्छिन– ‘म एमालेबाट उम्मेदवार बनें, जेठानी कांग्रेसबाट।’ दुई फरक पार्टीबाट एउटै घरका उम्मेदवार भयौं, त्यसैले परिवारमा मतभेद नै भयो।
सापकोटा भन्छिन्– ‘निर्वाचनको मत परिणाम आउनुअघि जसले जिते पनि घरमै वडा सदस्य आउँछ भन्ने जेठानी निर्वाचन जितेपछि बोल्नै छाड्नुभयो।’ निर्वाचनकै कारण परिवारभित्रैका सदस्यसँग बोलचाल बन्द भएपछि घरका अन्य सदस्यले अपमान गर्न थालेका छन्। उनी भन्छिन्– ‘परिवारबाटै अपमान हुन थालेपछि अहिले सामाजिक पीडामा बसेको छु।’ ‘निर्वाचनमा सहयोग गर्ने आफ्ना छोराछोरी चाँहिदारहेछन्। निर्वाचन लड्दा आफन्त चाँहिनेरहेछ,’ –सापकोटा भन्छिन्।

सापकोटा जस्तै गुराँस गाउँपालिका–५ की यामकुमारी चन्दको पीडा पनि उस्तै छ। चन्दले नेकपा एमालेबाट टिकट पाइन् तर पराजित भइन्। आफू चुनावभन्दाअगाडि महिला सञ्जालको अध्यक्ष भएर काम गरेको र सबैको मन जितेकाले निर्वाचनमा विजयी हुने उनको विश्वास साकार हुन सकेन। उनी भन्छिन्– ‘निर्वाचनमा पराजित भएपछि समाजले समेत फलानकी श्रीमती पराजित भएको भन्दै जिस्काउँछन्।’ त्यसैकै कारण अहिले म समाजिक पीडासँगै पारिवारिक पीडा भोगिरहेको छु। गुराँस गाउँपालिका–४ की हरिमाया सारु मगर स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार दिने सोचमा थिइन्। उपाध्यक्षमा पार्टीले टिकट नदिएपछि सबैको सल्लाहमा वडा सदस्यमा उम्मेदवार भएकी उनी अन्त्यमा १ मतले पराजित हुनुपर्यो।

घरमा श्रीमान् माओवादीको नेता हुँदा पनि आफू कांग्रेसबाट उम्मेदवार भएकी हरिमाया अन्तिममा १ मतले पराजित भइन्। उनी भन्छिन् ‘त्यही निर्वाचनको परिणामस्वरूप अहिले दिनहुँ जसो पराजितको पीडा सहनुपरेको छ।’ घरका श्रीमान्ले किचकिच गरिरहन्छन्। समाजमा समेत फलानाकी श्रीमती चुनाव हारी ठिक्क भयो भन्ने धैरै छन्,’ –उनले पीडा सुनाइन्।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ मा नेकपा एमालेबाट दलित महिला सदस्यमा निर्वाचित भएकी कौशीला विकको पीडा भने फरक छ। आफूहरू निर्वाचनमा जितेपनि कुनै काम गर्न नसकेको कौशिला बताउँछिन्। निर्वाचन जिते पनि हामीले ल्याएका योजना समावेश हुँदैनन्। उनले भनिन्– ‘स्थानीय सरकारको रूपमा रहेको वडा सदस्यका रूपमा विजयी भए पनि अहिलेसम्म केही गर्न सकेका छैनौं। केही काम गर्न नसकेको भन्दै अहिले घर र सामाजले आलोचना गर्छन्। वडा सदस्य भएपनि अब के गर्ने भन्ने अन्यौलमै छौं। आफूहरूले जनताका योजनाहरू ल्याए पनि आवश्यक पर्ने रकम नभएको भन्दै योजना समावेश नभएपछि किन जितियो भन्नेमा पुगेको उनले बताइन्।

उनले निर्वाचनको बेला स्थानीय जनतासँग गरेको बाचा पूरा हुन नसकेको भन्दै दुःख व्यक्त गरिन्। उनीजस्तै स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर विजयी भएका महिलासमेत आफूहरूले भनेको योजना समावेश नभएका कारण जनतासमक्ष गरेका बाचा पूरा हुन नसक्ने देखेपछि अन्यौलमा भएको भगवतीमाई गाउँपालिका– २ की सदस्य सितला जैसीले बताइन्।

दुई दशकपछि सम्पन्न स्थानीय तह निर्वाचनमा महिलाहरूलाई प्रमुख र उपप्रमुखमध्ये एउटा पदमा अनिवार्य तथा दलित महिला सदस्य र एक जना खुल्ला महिला सदस्य पदमा अनिवार्य उपस्थिति हुनुपर्ने कानुनी व्यवस्था गरेकै कारण दैलेखका ११ वटा स्थानीय तह र ९० वटा वडाहरूमा विभिन्न पदमा महिलाहरूले उम्मेदवारी दिए। अहिले चुनाव हारेकै कारण सामाजिक समस्या भोग्दै आएका महिलाहरूलाई मनोविमर्स तालिम प्रदान गरिएको छ। चुनाव हारेका र जितेका महिलाहरूको आत्मबल बढाउनका लागि ११ वटै स्थानीय तहमा अर्जेन्ट एक्सन फन्डको सहयोगमा महिला सशक्तिकरण मञ्च नेला दैलेखले जिल्लाका विभिन्न स्थानीय तहहरूमा परामर्श तालिम सञ्चालन गरिएको हो। मनोविमर्श तालिमपश्चात चुनाव जितेका र हारेका महिलाहरूले आत्मबलसँगै हौसला बढेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्