खुकुरी हानी ३ को हत्या



 

हेटौंडा, (नेस)
एक व्यक्तिले अन्धाधुन्ध खुकुरी चलाउँदा तीन छिमेकीको ज्यान गएको छ। मकवानपुरको मनहरि गाउँपालिका–७, बिजौनामा खुकुरी प्रहारका कारण स्थानीय ५२ वर्षीय सीताराम धिताल, उनका छोरा १३ वर्षीय सुदीप र झाँक्री बुढा भनेर चिनिने करिब ६० वर्षीय जितबहादुर ब्लोनको मृत्यु भएको हो।

मंगलबार साँझ करिब साढे ५ बजे स्थानीय सुमन बराइलीले एकाएक खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। बराइलीले अन्धाधुन्ध आक्रमण गर्दा घाइते भएका सीतारामको मनहरि स्वास्थ्य केन्द्रमा र सुदीप र ब्लोनको उपचारका क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा साँझ करिब पौने ७ बजे मृत घोषित गरिएको प्रहरीले बताएको छ।

बराइलीले छिमेकीहरूको किन हत्या गरे भन्ने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरिले जानकारी दिएको छ। आक्रमणकारी बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्