“फिरौतीकै कारण गौचनको हत्या”



ईश्वरराज ढकाल, काठमाडौं
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

विदेशमा बसेर गौचनको हत्याको योजना बनाएका समिरमानसिंह बस्नेतको योजनाअनुरूप हत्या भएको दाबी प्रहरीले गरेको छ। अध्यक्ष गौचनको हत्या गर्न भारतीय नागरिकसमेत प्रयोग भएको प्रहरीको अनुसन्धाले देखाएको छ।

गौचनको हत्या फिरौती नपाएका कारण हत्या भएको हुनसक्ने आशंका गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रहरीले बताएको छ। गौचन हत्याको छानविन गर्न गठित समितिका संयोजक प्रहरी नायब महानिरीक्षक गणेश केसीले हत्या के कारणले भयो भन्नेबारे अझै अनुसन्धान भइरहेको बताउनुभयो। ‘हामीले पहिलो चरणको काम सकेका छौं, दोस्रो चरणमा अन्य विवरण सार्वजनिक गर्नेछौं।’ –उहाँले भन्नुभयो।
उहाँका अनुसार हत्यामा संलग्न सुटरले समेत रकम पाएका छैनन्। केसीले घटनाको विस्तृत विवरण मुख्य योजनाकार पक्राउ परेपछि मात्रै जानकारी हुने बताउनुभयो।

प्रहरीका अनुसार गुण्डा नाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको हो, जसमा मनोज पुनको पनि संलग्नता देखिएको छ। हत्यामा पक्राउ परेकामध्ये नुवाकोटका राजीव स्याङ्तान सुटर भएको प्रहरीले दाबी गरेको छ।

हत्यामा पर्साका शिवजी महतो, भारत विहारका मुकेशकुमार पाण्डे, पर्सा ठोरीका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकीको संलग्नता देखिएको प्रहरीले जानकारी दिएको छ।

महानगरीय प्रहरी आयुक्त कार्यालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पक्राउ परेका महतोले हतियार र मोटरसाइकलको व्यवस्थापन गरेको, पाण्डेले हतियार व्यवस्थापन गरेको, गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकलको व्यवस्थापन गरेको र बुढाथोकी समिरका सहयोगी रहेको प्रहरीले जनाएको छ। हत्याराले एक महिनादेखि गौचनको गतिविधि, बस्ने र खाने स्थानका बारेमा रेकी गर्दै आएका थिए। गौचनको असोज २३ गते घरनजिकै नयाँ बानेश्वरको प्रयागमार्ग चोकमा हत्या भएको थियो। उहाँलाई दुई गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

हत्यामा प्रयोग भएको मोटरसाइकल भारतबाट चोरेर ल्याइएको त्यसमा नक्कली नेपाली नम्बर प्लेट राखेर प्रयोग गरिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ। प्रहरीले बरामद गरेको बा३५प २४६१ नम्बरको मोटरसाइकल नै गौचनको हत्यामा प्रयोग गरिएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले विभिन्न स्थानको सीसीटीभी फुटेजबाट हत्यारा पत्ता लगाएको हो। प्रहरीले राजधानी र देशका विभिन्न भागबाट हत्यामा संलग्नलाई पक्राउ गरेको थियो। शिवजी महतोले भारतको बेतियाबाट १८ हजारमा साइन मोटरसाइकल खरिद गरी श्याम गुम्बे गुरूङलाई २४ हजारमा बिक्री गरेका थिए।

शिवजी महतोले बेतियाबाट ५५ हजारमा हतियार खरिद गरी गुरुङलाई ६५ हजारमा बेचेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न अर्का सुटर श्यामगुम्बे गुरुङ फरार रहेका छन्। दुई वटा फरक पेस्तोल प्रयोग गरी गौचनको हत्या भएको थियो।

‘हामीले हत्या गर्दा स्याङतानले जुन पोसाक प्रयोग गरेका थिए, त्यही पोसाकमा उनलाई पक्राउ गरेका हौं’ –संयोजक डीआईजी केसीले भन्नुभयो। सुटर स्याङतानले क्याप र ज्याकेटको हुलियामा देखिए पनि गौचनको हत्या गर्दा टीसर्ट मात्रै लगाएका थिए।

हत्यामा संलग्न बस्नेत, पुन, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन्। उनीहरूका गुण्डाका नाइके बस्नेतसँग प्रत्यक्ष कनेक्सन रहेको र बस्नेतकै निर्देशनमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी कार्यालयका आयुक्त एआईजी जयबहादुर चन्दले राजधानीमा आपराधिक क्रियाकलाप घटेको दाबी गरेको केही दिनमै गौचनको हत्या भएको बताउँदै सो घटनाले प्रहरीलाई गम्भीर बन्न बाध्य बनाएको बताउनुभयो।

पक्राउ परेका व्यक्ति यसअघि हत्याकाण्डमा संलग्न भएनभएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ‘हत्याको मुख्य योजनाकार बस्नेत नै भएको हामीले पुष्टि गरेका छौं’ –डीआईजी केसीले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्