मदन भण्डारीको सपना साकार हुने दिन आयो: प्रचण्ड



चितवन,  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनुभएको छ ।

चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर आज उहाँले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताउनुभयो ।

वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताउँदे उहाँले विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी चितवनमा भएको स्पष्ट गर्नुभयो ।

व्यापार, व्यवसाय गरेर जनतालाई पैसाको प्रलोभनमा पार्ने, जनतालाई रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरुद्ध खबरदारी गर्न जनसमुदायलाई आग्रह गर्दै उहाँले भन्नुभयो “केही उम्मेदवार पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको आफूलाई जानकारी आएको छ । तिनीहरुका पैसा खोसेर जनतालाई बाँड्नुपर्छ ।”

अबको पाँच वर्षमा चितवन विकास र सभ्यताको दृष्टिले देशकै नमूना जिल्ला बनाइछाड्ने दृढता व्यक्त गर्दै उहाँले विगतमा नभएको काम आफूले योजनाबद्ध ढंगले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्