नेतृत्वप्रति देखिएको वितृष्णा



 

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै छ । ठूला दलहरु चुनाव जित्न साना पार्टीलाई भित्र्याई मोर्चाबन्दी कसेर गाउँ–गाउँमा पुगेका छन् । दलबलसहित गाउँ पुगेका नेताहरु भोट हाल्ने जनतासँग भेट गर्न नपाएपछि निराश मात्र भएका छैनन्, अब चुनाव कसरी जित्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । मंसिरको महिना अहिले मतदातालाई अन्नबाली भित्र्याउन चटारो छ । उनीहरु अन्न भित्र्याउन लेक–बेंसी गरिरहेका छन् । यता दलका नेता तथा कार्यकर्ताहरुले भने चुनावले च्यापेपछि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

यसअघिका चुनावमा नाम चलेका नेताको चुनाव प्रचारमा हजारको हारहारीमा कार्यकर्ता गाउँ–गाउँ हिँड्ने गरेका थिए तर यसपटकको चुनावमा नाम चलेकै नेताको चुनाव प्रचारमा मुस्किलले सयजना कार्यकर्ताको पनि उपस्थित देखिन छाडेको छ । दलका नेताहरुले बितेको २८ वर्षदेखि देखाएको व्यवहारका कारण जनता निराश भएर दलको कार्यक्रममा सहभागी हुन छाडेको विश्लेषण गर्न थालिएको छ ।

राजनीतिक विश्लेषकहरुका अनुसार नेताहरुले ढाँट र छलको राजनीतिलाई बढी प्रश्रय दिएका कारण जनताले अहिले दलका कार्यक्रममा सहभागिता जनाउन हिचकिचाएका हुन् । मुलुकमा बहुदल आएपछि केही नभएको पनि होइन तर जनताको चाहनाअनुसार दलले आफूलाई प्रस्तुत गर्न नसक्दा यस्तो समस्या भएको हो कि भन्ने आशंका पनि गर्न सकिन्छ । नेताहरुले आफूले जनतालाई चुनावका बेला दिएको आश्वासन पूरा गर्न नसक्नु र जनताले पनि सामूहिकभन्दा पनि व्यक्तिगत स्वार्थलाई मात्रै ध्यान दिँदा समस्यामाथि समस्या थपिँदै गएको छ । राजनीतिक नेतृत्वले पनि जनताको चाहनालाई सम्बोधन गर्न नसक्ने हो भने यो निराशा अझै बढ्न सक्ने देखिन्छ । तसर्थ नेताहरुले जनताको मनोभावना बुझेर मात्रै आफ्ना भनाइ सार्वजनिक गर्नुपर्ने अवस्था सृजना भएको छ ।

६ दशकपछि जनताको चाहनाबमोजिम जारी भएको संविधान कार्यान्वयन गराउने क्रममा हुन लागेको चिर्वाचनमा जनसहभागिता उत्साहजनक नदेखिनुलाई राजनीतिक नेतृत्वप्रति देखिएको वितृष्णा भन्दा अत्युक्ति नहोला । नेता जनताका प्रिय मात्र होइन, नायक हुनुपर्ने हो । तर हामीकहाँ नेतालाई नायक होइन, खलनायकको रुपमा प्रस्तुत गरिने गरेको पाइन्छ । यो पक्कै पनि राम्रो र सुहाउने विषय होइन । यसतर्फ राजनीतिक नेतृत्वले समयमा नै सोच्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्