तरबुजा किन्दा घाइते, हुने ग्राहकलाई ७५ लाख डलर क्षतिपूर्ति



वासिङ्टन, (एजेन्सी)
अमेरिकी चेनमार्केट वालमार्टमा तरबुजा किन्ने क्रममा घाइते हुन पुगेका एक व्यक्तिलाई अदालतले ७५ लाख अमेरिकी डलर क्षतिपूर्ति दिन आदेश दिएको छ।

यो घटना अमेरिकाको अलबामा राज्यको हो। सन् २०१५ जुलाईमा हेनरी वाल्करको खुट्टा टरबुजा खरिद गर्ने क्रममा काठबीचमा फसेको थियो। त्यतिबेला वाल्कर ५९ वर्षका थिए। उक्त घटनालाई लिएर फिनिक्स सिटी कोर्टमा उनले आफू लडेको बताए। घटनामा उनको ढाड र खुट्टा भाँचेको उनले बताए। तर वालमार्टले उसको स्टोरमा डिस्प्ले पूर्ण सुरक्षित रहेको र उसले त्यसमा कुनै परिवर्तन नगर्ने जनाएको छ।
वालमार्टले अदालतको फैसलाविरुद्ध अपिल गर्ने बताएको छ। वाल्कर एक अवकाश प्राप्त सैनिक हुन्। अदालतले २५ लाख डलर क्षतिपूर्ति र ५० लाख डलर सजायका रूपमा दिनुपर्ने निर्णय दिएको थियो। वाल्करका वकिलले वालमार्टले उक्त मामिलामा उपेक्षा गरेको बताउँदै उक्त फैसला सही भएको बताए।

वाल्करका वकिलले भने– ‘वालमार्टले काठका पट्टीहरू असुरक्षित तरिकाले राखिएको थियो। यसमा कसैको पनि खुट्टा फस्न सक्छ।’ जुरीले वाल्कर पहिला हप्ताको तीन दिन बास्केटबल खेल्ने गरेको तथ्यलाई महत्त्व दिएको छ। तर अहिले उनी खेल्न सक्दैनन्।

वालमार्टले उसको डिस्प्लेमा कुनै खराबी नभएको र अमेरिकाभरि त्यसरी नै डिस्प्लेको प्रयोग गरेको जनाएको छ। वालमार्टले वाल्कर घाइते हुनुमा उनको आफ्नै लापरबाही भएको बताए।

प्रतिक्रिया दिनुहोस्