डुंगा पल्टिँदा १६ यात्रु डुबे



 

नयाँदिल्ली, (एजेन्सी)
भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा सोमबार एउटा डुंगा पल्टिँदा कम्तीमा १६ जना डुबेको सरकारी सूत्रले जनाएको छ। प्रहरीले सो डुंगामा चढेका ३८ जना यात्रुमध्ये अधिकांश एउटा धार्मिक महोत्सवमा भाग लिन गइरहेको बताएको छ।

हैदरावाददेखि करिब २ सय ७५ किमि टाढाको विजयवाडानजिकको कृष्णा नदीमा भएको उक्त दुर्घटनामा २१ जनालाई सकुशल उद्धार गरिएको थियो। राष्ट्रिय दैवी प्रकोप उद्धार फौज (एनडीआरएफ)ले २० जनालाई उद्धार गरिएको जनाएको छ।

उद्धार निकायहरूले नदीमा थप शवको खोजी गरिरहेको छ। उक्त राज्यका पर्यटन मन्त्रीले यस घटनाबारे गम्भीर छानविन गर्न आग्रह गरेका छन्। स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै प्रहरीले सो डुंगाका मालिकसँग मानिसहरू तार्ने अनुमति पत्र नभएको र डुंगामा क्षमताभन्दा बढी यात्रु चढाइएको प्रहरीले बताएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार्यालयबाट ट्विट गर्दै यस घटनाप्रति दुःख व्यक्त गरेका छन्। गत सेप्टेम्बरमा पनि उत्तर भारतमा भएको डुंगा दुर्घटनामा २० जनाको मृत्यु भएको थियो। भारतका डुंगाहरूमा प्रायशः क्षमताभन्दा बढी यात्रु चढाइने र सुरक्षा मापदण्डको लापरबाही गर्ने कारण दुर्घटना हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्