इरान–इराकमा शक्तिशाली भूकम्प, मर्नेको संख्या ३ सय ५० पुग्यो



 

तेहरान⁄बग्दाद, (एजेन्सी)
इरान र इराकमा आएको भूकम्पमा मर्नेको संख्या ३ सय ५० पुगेको छ। आइतबार आएको भूकम्पबाट मर्ने धेरै जसो इरानको पश्चिमी प्रान्त करमनशाहको भएको जनाइएको छ।

त्यसैगरी इराकमा अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। इरानको सरकारी समाचार एजेन्सीले एकजना अधिकारीलाई उद्धृत गर्दै करिब ४ हजार जना घाइते भएको जनाएको छ। एउटा सहायता एजेन्सीले भूकम्पबाट ७० हजार मानिस घरबार विहीन भएको जनाएको छ।

अन्य केही समाचार एजेन्सीहरूले इरानमा घाइते हुनेको संख्या ५ हजार ३ सय पुगेको उल्लेख गरेका छन्। सबैभन्दा धेरै घाइते भएको क्षेत्र सरपोल ए जहाबमा स्थानीय अस्पताल सबै घाइतेले भरिभराउ भएको जनाइएको छ।

७ दशमलव ३ म्याग्निच्युडको यो भूकम्प यो वर्ष आएका ठूला भूकम्पमध्येको एक मानिएको छ। भूकम्पको केन्द्र बिन्दु इराक र इरानको सीमावर्ती क्षेत्रमा परेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण निकायले भूकम्पको केन्द्र इराकको कुर्द बाहुल्य रहेको हलब्जाको दक्षिण पश्चिम ३२ किलोमिटर दूरीमा रहेको जनाएको छ। उक्त भूकम्पको धक्का टर्की, इजरायल र कुवेतमा पनि महसुस गरिएको थियो। इरानका आपत्कालीन सेवाका अध्यक्ष पीर हुसैन कुलीवन्दले भूकम्पबाट सबैभन्दा धेरै क्षति देशको सीमाबाट १५ किलोमिटरको दूरीमा पर्ने सरपोल ए हजाब क्षेत्रमा भएको टेलिभिजन च्यानललाई जानकारी दिएका छन्।

उक्त क्षेत्रका अस्पतालहरूलमा पनि धेरै क्षति भएको उनले बताए। यसले घाइतेहरूको उपचारमा बाधा पुगेको उनले जानकारी दिए। सरपोल ए जहाब एक पहाडी इलाका हो र त्यहाँका धेरैजसो घर माटोले बनेका छन्। ती घरहरूले यति ठूलो भूकम्पको धक्का सहन सक्दैन।

इरानको रेड क्रेसन्ट संस्थाका मुर्तजा सलिमले आठवटा गाउँ भूकम्पबाट नराम्रोसँग प्रभावित भएको जानकारी दिएका छन्। केही अन्य गाउँमा बिजुली र टेलिफोन सेवामा पनि असर परेको बताइएको छ। भूस्खलनका कारण उद्धारकर्मी टोलीको काममा रुकावट आइरहेको पीर हुसैन कुलीबन्दले बताए।

भूकम्प प्रभावित इलाकामा सडक चिरा परेकाले सवारी आवागमनमा व्यवधान आइरहेको र उद्धार टोलीलाई ती क्षेत्रमा पुग्न कठिनाइ भइरहेको बताइएको छ।

भूकम्प स्थानीय समय आइतबार राति ९ बजेर १८ मिनेटमा आएको र यसको केन्द्र सतहबाट २३ दशमलव २ किलोमिटर तल रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्