राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०१६, मातृ तथा बाल स्वास्थ्यमा सुधार



भगवती तिमल्सिना, काठमाडौं
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपाली जनता स्वस्थ हुँदै गएको रिपोर्ट सार्वजनिक गरिएको छ। सोमबार एक कार्यक्रमका बीच सार्वजनिक रिपोर्टमा सन् १९९६ यताको पाँचौं सर्वेक्षण २०१६ ले स्वास्थ्य सुधारको अवस्था पत्ता लागेको जनाएको छ।
अनुसन्धान रिपोर्टले दुई दशकमा आमा तथा बच्चाको स्वास्थ्यमा मुख्यरूपमा प्रगति भएको कुरालाई महत्त्वका साथ औंल्याएको छ।

उक्त रिपोर्टमा ५ वर्षमुनिका बालबालिकाको मृत्यु दर सन् १९९६ मा प्रति १ हजारमा १ सय १८ जनाको मृत्यु भएको थियो भने सन् २०१६ मा पुग्दा तीनगुनाले कमी भई ३९ जनामा झरेको जनाएको छ। तर, पनि यो सन्तोषजनक परिणाम नभएको भन्दै प्रत्येक २५ जीवित नवजात शिशुको जन्ममा कम्तीमा १ बच्चाको ५ वर्ष नपुग्दै मृत्यु हुनु थप चुनौतीको विषय भएकाले थप सुधारको आवश्यकता रहेको उल्लेख गरिएको छ।

नेपालले ‘दिगो विकास लक्ष्य’ हासिल गर्नका लागि सन् २०३० सम्ममा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति १ हजार जीवितमा २० मा घटाउने प्रतिबद्धता गरिसकेकाले नीतिगतरूपमा मात्र नभई व्यावहारिकरूपमा समेत वैज्ञानिक तरिका अपनाई सुधार ल्याउनु आजको आवश्यकता रहेको उल्लेख गरिएको छ।

गर्भवती सेवामा समेत सुधार भएको आधार १० जना गर्भवती महिलामा ८ भन्दा बढीले डाक्टर, नर्स, अनमी तथा दक्ष प्रसूतिकर्मीबाट ४ पटकभन्दा बढी गर्भवती सेवा लिएको २०१६ को तथ्यांकले देखाएको छ। यसअघि सन् २००१ मा गरिएको सर्वेक्षणमा १० जनामध्ये ३ जनाले मात्र यस्तो सेवा लिएको तथ्यांक रहेको छ।

स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या भने अझै लक्ष्यअनुरूप नपुगेको र सुधारको खाँचो रहेको औंल्याइएको छ। सन् १९९६ मा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या ८ प्रतिशत रहेकोमा २०१६ मा पुग्दा ५७ प्रतिशत पुग्नु निकै सुधारात्मक हो र यसलाई शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासन अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहले बताउनुभयो।

उहाँले यो तथ्यांकले ४३ प्रतिशत महिला अझै गर्भवती अवस्थामा जोखिम अवस्थामा घरमै बच्चा जन्माउन बाध्य रहेको देखाउँछ भन्नुभयो। एक जना विवाहित महिलाले औसतमा २ जटा बच्चा जन्माउने गरेको रिपोर्टमा उल्लेख गरिएको छ। यो अवस्थालाई नियाल्दा दुई दशकमा प्रजनन दर आधाभन्दा बढी घटेको देखिन्छ। यो तथ्यांक हेर्दा सन् १९९६ मा सरदर प्रतिमहिला ४ दशमलव ६ बच्चा जन्माउने गरेकोमा हाल आएर २ दशमलव ३ मा झर्नु महिलामा आएको जनस्वास्थ्यप्रतिको चनाखो र परिवार नियोजनको साधन उपलब्धतामा पहँुच पुग्नु नै भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

शिक्षाका क्षेत्रमा देखिएको चुनौतीले स्वास्थ्यमा ठूलो असर पारिरहेको छ। स्वास्थ्य सर्वेक्षणले धेरै क्षेत्रमा प्रगति भएको देखाए तापनि चुनौती अझै धेरै रहेको औंल्याएको छ। एक तिहाइ महिला तथा १० पुरुषमा एक जनाले कुनै शिक्षा हासिल गरेका छैनन्। बालबालिकालाई दिने खोपमा हेर्दा पनि १२ देखि २३ महिनाका बालबालिकामा २०१६ सम्म ७८ प्रतिशतले मात्र पूर्णखोप लिएको देखिन्छ।

यति मात्र नभई धेरै बालबालिका कुपोषणबाट ग्रसित छन्। कुपोषणका कारण उमेरअनुसारको उच्चाइ नबढ्ने दीर्घकालीन कुपोषणको संकेत बढी देखिएको छ। यो संख्या एक तिहाइभन्दा बढी बालबालिकामा रहेको छ। यसका साथै १५ वर्ष र सोभन्दा बढी उमेरका पुरुष तथा महिलामा रक्तचाप मापन गरिएको थियो। यसमा १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप भएको पाइएको छ। यसले मुटुको रोग बढाउने तथा स्ट्रोक बढ्ने जोखिमका बारेमा सचेत हुनुपर्ने जनाएको छ।

सोही अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. गीताभक्त जोशीले यो तथ्यांकले राज्यलाई पुनः सुधारका लागि घचघच्याउन मद्दत गरेको बताउनुभयो। स्वास्थ्यकर्मीको क्षमता, उपकरणमा सहजता, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सहजै उपलब्धताका लागि सबै क्षेत्रमा चनाखो भई नीतिगतरूपमा समेत आवश्यक सुधारको खाँचो रहेको कुरा औंल्याउनुभयो। कार्यक्रममा अमेरिकी दूतावासका अधिकारी माइकल सी गोन्जालेसले नेपालमा देखापरेको मातृ तथा बाल स्वास्थ्य र परिवार नियोजनका साधनको सही उपयोग प्रशंसनीय रहेको छ। यसलाई सुधार गर्दै लैजाने क्रममा नेपाल सरकारसँग सहकार्य गर्न अमेरिकी सरकार सदैव तत्पर रहेको जानकारी गराउनुभयो।

यो सर्वेक्षण स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यु एराले सम्पन्न गरेको थियो। सर्वेक्षणका लागि अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बाट आर्थिक सहयोग प्राप्त भएको स्वास्थ्य मन्त्रालयका मुख्य विशेषज्ञ डा. पुष्पा चौधरीले जानकारी गराउनुभयो।
उहाँले परम्परागत सिकाइ र प्रयोग विधिले आमा र बच्चाको ज्यान अझै पनि जोखिममा पर्दै आएको यथार्थलाई चित्रण गर्नुभयो। सर्वेक्षणमा देशभरिका १ हजार १ सय ४० घरधुरीका ९८ प्रतिशत महिला र ९६ प्रतिशत पुरुषसँग प्रत्यक्ष अन्तरवार्ता लिइएको रिपोर्टमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्