मानवीय कार्यमा जुट्दै नेता शाह, हेलिकोप्टरबाट सुत्केरीको उद्धार



 

प्रकाश पन्त, वीरेन्द्रनगर
जाजरकोटमा प्रतिनिधिसभाका उम्मेदवार राजीवविक्रम शाहले एक सुत्केरी महिलाको ज्यान बचाएका छन्। शाहले हेलिकोप्टरद्वारा उच्च रक्तश्रावबाट पीडित कुशेगाउँपालिका–८, रिजापहाडाकी ३० वर्षीया चन्द्रादेवी रोका मगरलाई नेपालगन्ज पठाएर ज्यान जोगाएका हुन्।

१८ घण्टासम्मको लगातार रक्तश्राव नरोकिएपछि मगरलाई शाहको पहलमा थप उपचारका लागि हेलिकोप्टरद्वारा नेपालगन्ज पुर्याइएको हो। मगर ९ दिनअघि दुर्गम गाउँ रिजापहाडास्थित घरमै असुरक्षित सुत्केरी भएकी थिइन्। प्रतिनिधिसभाका उम्मेदवार शाहले ५ लाख निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकोप्टर उपलब्ध गराएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभएको छ।

चुनावी अभियानका क्रममा रिजापहाडादेखि २५ कोस टाढाको जुनीचाँदे गाउँपालिकामा रहेका शाहलाई फोनमार्फत् सुत्केरीको उच्च रक्तश्रावबाट ज्यान जान लागेको भन्ने खबर गरेपछि शाहले हेलिकोप्टरको व्यवस्था गरेको अध्यक्ष बस्नेतले बताउनुभयो। समाजसेवी शाहले तत्काल हेलिकोप्टरको व्यवस्था नगरेको भए सुत्केरीको ज्यान जाने खतरा रहेको बस्नेतले बताउनुभयो। उच्च रक्तश्रावका कारण उनको शरीरमा रगत अभाव भएको र ३⁄४ घण्टाभित्र थप रगत उपलब्ध नभए ज्यान जाने खतरा भएको भन्ने स्थानीय स्वास्थ्यकर्मीले बताएपछि महँगो खर्च व्यहोरेर हेलिकोप्टरको प्रयोग गर्न बाध्य भएको बस्नेतले बताउनुभयो।
सुत्केरीलाई डोकोमा बोकाएर सडक पहुँचसम्म पुर्याउनै १० घण्टा लाग्थ्यो। त्यसपछि गाडीद्वारा नेपालगन्ज पुर्याउन थप ७⁄८ घण्टा लाग्ने र सुत्केरीको बाटोमै ज्यान जाने देखेपछि शाहलाई तत्काल हेलिकोप्टरको व्यवस्था गर्न आग्रह गरिएको थियो।

शाहले पोखराबाट ३ घण्टाभित्र हेलिकोप्टर बोलाउँदा अचेत अवस्थामा रहेकी सुत्केरीको उद्धार भएको थियो। ४ सन्तानकी मगरले पाँचौ सन्तानको असुरक्षित जन्म दिँदा उच्च रक्तश्राव भएको हो।
सुत्केरीपछि उच्च रक्तश्राव हुन्छ भन्ने नै थाह नभएको पति अमरले बताए। सुत्केरीको सामान्य रक्तश्राव होला भनेर ९ दिनसम्म हेलचेक्रइईं गर्दा अप्ठेरोमा परेको उनले बताए।

‘शाहले आफ्नै खर्चमा हेलिकोप्टरको व्यवस्था नगरेको भए म गरिबले महँगो खर्च व्यहोरेर पत्नीलाई बचाउन सक्ने सम्भावना नै थिएन’, उनले भने– ‘मेरी श्रीमतीका लागि शाह भगवान् नै भए। शाहको यो गुण कसरी तिर्ने ?’

प्रतिक्रिया दिनुहोस्