सरकारको निर्देशन, निर्वाचन विरोधीलाई ठेगान लगाऊ



दीपक रिजाल, काठमाडौं
आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन केही दिन बाँकी हुँदा निर्वाचन विरोधी समूहले उम्मेदवारमाथि धावा बोल्न थालेपछि सरकारले उम्मेदवारको सुरक्षाका लागि नयाँ रणनीति बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका रूपमा आफूलाई चिनाउँदै आएको विप्लव माओवादीले मध्यपहाडी जिल्लामा आफ्नो गतिविधिलाई तीव्र बनाउँदै उम्मेदवारमाथि आक्रमण गर्न थालेको छ।

१० वर्षे माओवादी युद्धमा सँगै रहेका नेत्रविक्रम चन्द (विप्लव)ले विशेष गरी नेकपा माओवादी केन्द्रका नेता तथा उम्मेदवारमाथि धावा बोल्न थालेका छन्। सरकारले मध्यपश्चिमका पहाडी जिल्लामा विप्लव माओवादीले उम्मेदवारमाथि आक्रमण गर्न थालेपछि ती जिल्लामा थप फौज पठाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयले विप्लव माओवादीको प्रभाव रहेका क्षेत्रमा थप सुरक्षा फौजलाई परिचालन गरेको छ भने उनीहरूको गतिविधिलाई नजिकबाट निहालेको मन्त्रालयले जानकारी दिएको छ।

तराईका १८ जिल्लामध्ये २ नम्बर प्रदेशमा पर्ने जिल्लामा तराईका भूमिगत समूहले हिंसात्मक गतिविधि गर्न सक्ने भएकाले त्यसतर्फ पनि सतर्क रहन जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सुरक्षा रणनीति प्रयोग गर्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले जानकारी दिनुभयो। उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘पछिल्लो गतिविधिलाई नेपाल प्रहरीले नजिकबाट निहालिरहेको छ। आगामी निर्वाचनलाई भयरहित ढंगले सम्पन्न गर्न र उम्मेदवारको सुरक्षा गर्न नेपाल प्रहरी सक्षम छ।’

‘अहिले जिल्ला सुरक्षा समितिले संवेदनशील क्षेत्रको सुरक्षा अवस्थाबारे हामीलाई केन्द्रमा जानकारी गराइरहेका छन्, हामीले त्यहाँको सुरक्षा थ्रेटलाई मध्यनजर गरेर त्यस्ता ठाउँमा थप फौजसमेत पठाउने तयारी गरेका छौं।’ –प्रवक्ता नेउपानेले भन्नुभयो।

अहिले निर्वाचन सम्मुख भएका जिल्लामा उम्मेदवारहरूले घरदैलो अभियान चलाएपछि रोल्पा, रुकुमका दुई जिल्ला, जाजरकोट, सल्यान, गोरखालगायतका जिल्लामा विप्लव माओवादीले उम्मेदवारमाथि गोली प्रहार गर्ने, बाटो ढुकेर एम्बुसमा पार्ने काम गर्न थालेपछि थप फौज परिचालन गरी सुरक्षा थ्रेटमा परेका उम्मेदवारलाई चाहिनेजति सुरक्षा दिएको गृह मन्त्रालयले जनाएको छ।

प्रवक्ता नेउपालेले निर्वाचन विरोधी गतिविधि गर्नेहरूलाई सुरक्षा निकायले सूक्ष्म ढंगले निगरानी गरिरहेको र उनीहरूको गतिविधिलाई निस्तेज पार्न लागिपरेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्