दुई सातापछि शेयर लगानीकर्ता नाफामा



 

नेपाल समाचारपत्र
काठमाडौं
दुई सातासम्म लगातार गिरावट आएको नेप्से परिसूचक आइतबार मात्रै सुधार आएको छ। साताको पहिलो दिन शेयर बजार १६ दशमलव ४१ अंकले बढेको हो।

दुई सातामा करिब सय अंकले ओरालो लागेको बजारले पहिलोपटक सुधार आउँदा बजार पुँजीकरण २० अर्ब रुपियाँले बढेको छ। आइतबार बजार बन्द हुँदा नेप्सेको कुल पुँजीकरण १७ खर्ब १४ अर्ब ८३ करोडमा पुगेको छ। आइतबार कारोबारमा आएका ९ वटा उपसूचक बढ्दा शेयर बजार सम्हालिएको हो।

१ हजार ४ सय ६० दशमलव ७३ अंकबाट शुरू भएको बजारले पहिलो ३० मिनेट पुरानै गति लिएको थियो। तर, अर्को आधा घण्टाभित्रै बजार सम्हालिँदै दिनभरि नै सकारात्मक रहेको थियो। अन्ततः बजार परिसूचक १ हजार ४ सय ७७ दशमलव १४ अंकमा पुगेर रोकिएको हो।
नेप्से परिसूचक बढ्दा आइतबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७५ अंकले बढेर ३ सय १० दशमलव ५४ अंकमा पुगेको छ।

परिसूचक बढेसँगै आइतबार कारोबार रकम भने घटेको छ। आइतबार बजारमा १ सय ५९ कम्पनीका ११ लाख २० हजार ६ सय ६० कित्ता शेयर ४० करोड ७ लाख १० हजार ९ सय ६२ रुपियाँमा किनबेच भए। अघिल्लो साताको अन्तिम दिन बिहीबार बजारमा ४६ करोड ८२ लाख ४ हजार १ सय २१ रुपियाँको कारोबार भएको थियो।

आइतबार शेयर बजारमा १० वटै समूह कारोबारमा आएका थिए। तीमध्ये उत्पादनमुलक समूह स्थिर रहँदा ट्रेडिङ समूह भने ओरालो लागेको थियो।
बढ्नेमा जलविद्युत् समूह १ दशमलव ७८ प्रतिशतले बढ्यो। त्यस्तै बीमा, विकास बैंक र बैंकिङ समूह क्रमशः १ दशमलव ४९, १ दशमलव ३५ र १ दशमलव २६ प्रतिशतले बढेका थिए। अन्य, वित्त र होटल समूह पनि त्रमशः शून्य दशमलव ६४, शून्य दशमलव ३७ र शून्य दशमलव २१ प्रतिशतले सुधारिए। लघुवित्त समूह शून्य दशमलव शून्य ७ अंकले बढ्दा ट्रेडिङ समूह भने १ दशमलव ४१ अंकले ओरालो लागेको थियो। अंकका आधारमा बीमा समूह सर्वाधिक १ सय १८ दशमलव ७१ अंकले बढेको थियो।

आइतबार बैंक अफ काठमान्डुको संस्थापक शेयरको सबैभन्दा बढी कारोबार भएको छ। बैंकका २ करोड ८९ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ। त्यस्तै प्रभु बैंकको संस्थापक शेयरको पनि २ करोड ८८ लाख ५६ हजार रुपियाँको शेयर किनबेच भयो।

आइतबार सबैभन्दा धेरै कमाउनेमा सहयोगी विकास बैंकका शेयरधनी रहे। कम्पनीको शेयर मूल्य ७ दशमलव २७ प्रतिशतले बढ्दा विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्