निःशुल्क ब्यालेन्स



 

चुनावी माहोलको गरमागर्मी बढेका बेला सधैं फलानो नेताले खर्च हाले भोट हाल्न गइन्छ नत्र गइँदैन भन्ने कुरा सुन्दै आएको यो धरहरालाई आज चुनावी खर्च उठाउने मेसो फुरेको छ। अब सबै उम्मेदवारले यो आइडिया लगाए भने पक्कै पनि आफ्ना मतदाता खुसी हुनेमा धरहरा ढुक्क छ। के रहेछ त खाँटी कुरा भनी धरहराले आफ्नो बाइनाकुलर बालाजुतिर सोझ्याएको त एक जना मित्र फटाफट मोबाइलमा क्यु पे नाम गरेको एउटा एपबाट आफ्ना चिनेजानेका आफन्त, इष्टमित्र, साथीभाइलाई फोन नं. माग्दै पैसा पठाउँदै गरेको देखियो। आफ्नो ब्यालेन्स रकम थपिएपछि अन्य साथीहरू मस्त भएको देख्दा धरहरा आश्चर्यचकित भएको छ।

ई–सेवाजस्तै क्यु पेले पनि आफ्नो सेवा विस्तार गर्न प्रचारप्रसार अभियान नै चलाएको रहेछ। सीमित अवधिका लागि यसले एकपटकमा एउटा नम्बरबाट ५० रुपियाँबराबरको मोबाइल ब्यालेन्स दिएको रहेछ। तर उही नम्बरमा अर्कोपटक भने यो सेवा प्रयोग गर्न नमिल्ने रहेछ।
अब हाम्रा नेता महोदयहरूले आफ्ना कार्यकर्ता, समर्थक तथा मतदातालाई फटाफट ५० रुपियाँ ब्यालेन्स हालिदिने हो भने भोट पक्का। नोटको जरुरत नै परेन। त्यसैले समयमै निःशुल्क ब्यालेन्सको सुविधा प्रयोग गर्न नेताज्यूहरूलाई धरहराको सुझाव, आगे यहाँकै मर्जी।

प्रतिक्रिया दिनुहोस्