नेपालले पहिलोपटक भारतलाई हरायो



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली क्रिकेटको इतिहासमा नेपालले पहिलोपटक भारतलाई हराएर ऐतिहासिक सफलता हासिल गरेको छ।

मलेसियामा जारी एसीसी यु–१९ युथ एसिया कप क्रिकेटअन्तर्गत नेपालले ३ पटकको च्याम्पियन भारतलाई १९ रनले हराएको हो। पहिलो खेलमा बंगलादेशसँग जितनिकट पुगेर पनि २ विकेटले हारेर निराश भएको नेपाली युवा टोलीले भारतलाई हराएर त्यो नैराश्य मेटाएको छ। भारतको प्रशिक्षकमा भारतीय क्रिकेटमा द वालले चर्चित पूर्वक्रिकेटर राहुल द्रविड रहेका छन्।

नेपालसँग टेस्ट खेल्ने राष्ट्र हार्नेमा भारत छैटो राष्ट्र बनेको छ। यसअघि नेपालले टेस्ट खेल्ने राष्ट्र दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई २ पटक, जिम्बावे, बंगलादेश र पाकिस्तानलाई हराइसकेको छ। सबै यु–१९ विश्वकपअन्तर्गतमा नेपालले जितेको थियो।

बायोमास ओभल मैदानमा आइतबार नेपालले १ सय ८६ रनको लक्ष्य दिएको थियो। जुन नेपाली बलरको घातक बलिङको सामु भारतका लागि ठूलै लक्ष्य बन्न पुग्यो। भारत ४८ दशमलव १ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ६६ रनमै समेटिएको थियो।

भारतविरुद्ध नेपाली क्रिकेटले कुनै पनि उमेर समूहमा पहिलोपटक सफलता हात पारेको हो। सन् १९९६ मा नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट राष्ट्र बनेदेखि भारतलाई सिनियर र जुनियर नेपाली क्रिकेट टोलीले हराउन सकेको थिएन। करिब २१ वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटले भारतलाई हराएर ठूलै उपलब्धि प्राप्त गरेको छ।

नेपालको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रदर्शन प्रमुख कारक बनेको थियो। ब्याटिङमा उनले ८८ रनको योगदान दिए भने बलिङमा भारतका ४ ब्याटस्म्यानलाई पवेलियन फर्काएका थिए। म्यान अफ द म्याच घोषित दीपेन्द्रको प्रदर्शनमा प्रशिक्षक विनोद दासले प्रशंसा गरेका थिए।

दासले बताए– ‘दीपेन्द्रले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे। उनले ब्याटबाट नेतृत्व लिनुका साथै बलबाट पनि उत्तिकै डेलिभर गरे। यो ऐतिहासिक जित हो। टिमले गरेको कडा मेहनत र आत्मविश्वासले यो सम्भव भएको हो।’

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो। जसमा कप्तान दीपेन्द्रको अर्धशतकीय इनिङ नै नेपालको जितका लागि आधार बनेको थियो। उनीपछि ओपनर जितेन्द्र सिंहले ३६ रन र भीम सार्कीले १५ रन बनाए भने अन्यले उल्लेखनीय ब्याटिङ गर्न सकेनन्। यो जितसँगै नेपालले अर्को चरणमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। नेपालले २ अंक जोडेको छ भने आज आयोजक
मलेसियासँग खेल्नेछ।

नेपालको टेस्ट खेल्ने
राष्ट्रविरुद्ध जित
२००२ आईसीसी यु–१९ विश्वकपको समूह चरणमा पाकिस्तानलाई ३० रनले हराएको।
२००२ आईसीसी यु–१९ विश्वकप प्लेट च्याम्पियनसिप बंगलादेशविरुद्ध सेमिफाइनलमा २३ रनले जितेको।
२००४ आईसीसी यु–१९ विश्वकप प्लेट च्याम्पियनसिप दक्षिण अफ्रिकालाई १ विकेटले हराएको।
२००६ आईसीसी यु–१९ विश्वकप प्लेट च्याम्पियनसिप दक्षिण अफ्रिकालाई सेमिफाइनलमा २ रनले हराएको।
२००६ आईसीसी यु–१९ विश्वकप प्लेट च्याम्पियनसिप न्युजिल्यान्डलाई १ विकेटले हराएर नेपाल विजेता बनेको।
२००८ आईसीसी यु–१९ विश्वकपको नवौं स्थानको प्लेअफ क्वार्टरफाइनल खेलमा जिम्बावेलाई ९९ रनले हराएको।
२०१६ आईसीसी यु–१९ क्रिकेट वल्र्डकपको समूह चरणमा न्युजिल्यान्डलाई ३२ रनले हराएको।
२०१७ एसीसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणमा भारतलाई १९ रनले हराएको।

प्रतिक्रिया दिनुहोस्