संग्रहालयबाट हिटलरको मूर्ति हटाइयो



 

जाकार्ता, (एजेन्सी)
इन्डोनेसियाको एउटा संग्रहालयमा सेल्फी खिच्नका लागि राखिएको जर्मनीका नाजी तानशाह एडोल्फ हिटलरको मैनवत्तीबाट बनेको पूर्णकदको प्रतिमा त्यहाँबाट हटाइएको छ। सामाजिक सञ्जालमा सेयर गरिएका तस्वीरहरूमा दोस्रो विश्वयुद्धकालीन कुख्यात अस्कवित्ज यातना शिविरका ढोकाका तस्वीरसामू उभिएका नाजी नेता हिटलरको उक्त प्रतिमासँगै मानिसहरू ङिच्च हाँसेर फोटो खिचाइरहेको देखिन्छन्।

डी आर्का स्टाच्यु आर्ट म्युजियममा राखिएको उक्त प्रतिमाका कारण अन्तर्राष्ट्रिय जगत्ले आक्रोश र आपत्ति व्यक्त गरेपछि सो मूर्ति हटाइएको बताइएको छ। यसबारे सफाइ दिने क्रममा जाभाको जोग जाकर्तास्थित सो संग्रहालयका अपरेसन म्यानेजर ज्यामी मिस्वाहले एएफपी समाचार निकायलाई भनेका छन्, ‘हामीले इतिहाससम्बन्धी ज्ञान मात्र दिन खोजेका हौं। हामीले यसबाट आक्रोस सिर्जना गर्न खोजेका होइनौं।’

सामाजिक सञ्जालमा देखिएका केही तस्वीरमा त सुन्तला रंगको पोशाक लगाएका केही युवाहरूले तर सो मूर्तिसँगै बसेर नाजी स्याल्युट गरिरहेको पनि देखिन्छ। विश्वव्यापी रूपमा यसबारे चर्चा र आलोचना भए पनि त्यहाँ आउने आगन्तुकहरूले भने सो मूर्तिबारे कहिल्यै पनि असन्तुष्टि व्यक्त नगरेको संग्रहालय व्यवस्थापन पक्षले जनाएको छ।

यहुदी मानव अधिकार संस्था दी सिमोन विसेन्थल सेन्टरका रब्बी अब्राहम कुपरले एसोसियटेट प्रेस समाचार निकायलाई भनेका छन्–‘यस बारे सम्पूर्ण कुरो गलत छ। यस बारे बोल्न सही शब्द भेटाउन पनि गाह«ो भएको छ। त्यस मूर्ति पृष्ठभूमि नै घिनलाग्दो छ। यसले सो यातना शिविरमा छिरेर त्यहाँबाट कहिल्यै नफर्केका व्यक्तिहरूलाई गिज्याइरहेको जस्तो देखिन्छ।’

अस्कवित्जमा भएको नाजी नरसंहारको दौरानमा विशेष गरी युरोपेली यहुदी, रोमा जिप्सिज तथा सोभियत युद्धबन्दी गरी करिब ११ लाख व्यक्ति मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्