चिनियाँ राष्ट्रपतिसमक्ष परिवार उत्तर कोरियालाई सुपुर्दगी नगर्न अनुरोध



 

बेइजिङ, (एजेन्सी)
एकजना उत्तर कोरियाली पुरुषले चिनियाँ राष्ट्रपति सि जिन पिङसमक्ष आफ्नी पत्नी र कलिलो उमेरका छोरालाई प्योङयाङ फिर्ता नपठाउन आइतबार अनुरोध गरेका छन्। लि नामक ती व्यक्तिले यदि तिनीहरूलाई स्वदेश फर्काइएको खण्डमा कारबाही हुने चिन्ता व्यक्त गरेका छन्।
गोप्य तरिकाले सिमाना पार गर्ने क्रममा ती महिला र उनका चार वर्षीय छोरालगायत १० जना उत्तर कोरियालीलाई गत साता चीनमा पक्राउ गरिएको थियो। ती सन् २०१५ मा दक्षिण कोरियातर्फ भाग्न सफल भएका थिए। उक्त अनुरोध गरिएको उनको सन्देशको भिडियो बीबीसीलाई पनि उपलब्ध गराइएको छ।

उनले सन्देशमा भनेका छन्– ‘यदि मेरो परिवारलाई उत्तर कोरिया फर्काइएको खण्डमा या तिनीहरूलाई मृत्युदण्ड दिइनेछ या राजवन्दी शिविरमा चलान गरिनेछ। म चाहन्छुँ , चीनका राष्ट्रपति सि जिन पिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरो बच्चालाई आफ्नै नाती ठानेर उनलाई स्वतन्त्र मुलुक दक्षिण कोरियामा पठाओस्। कृपया हामीलाई मद्दत गुर्नहोस्।

मेरो परिवारलाई स्वदेश फिर्ता गरिनबाट रोकियोस्। एक दुःखी पिताको हैसियतले म दुवै नेतासँग मेरो परिवारलाई सहयोग गर्न अनुरोध गर्दैछु। मेरो कलिलो छोरोलाई हिरासतमा राखिँदै गरेको कल्पनाले मात्र पनि सन्त्रसित भएको छु। मैले मेरो छोरो त्यो चिसो खोरमा बसेर मेरो नाम लिएर मलाई बोलाइरहेको र केही पनि गर्न नसकेर म चुपचाप उभिरहेको महशुस भइरहेको छ।’

गत ४ नोभेम्बरमा चीनको उत्तरपूर्वी लियाओनिङ प्रान्तको सेनयाँगस्थित एउटा घरमा छापा मार्ने क्रममा ती १० जना उत्तर कोरियाली भगौडालाई चिनियाँ प्रहरीले नियन्त्रणमा लिएको थियो।

चीनको विदेश मन्त्रालयका महिला प्रवक्ता हुवा चुन्यिङले नियमित न्युज ब्रिफिङका क्रममा आफूलाई यस विषयमा कुनै जानकारी नै नभएको बताएकी छिन्। साथै हुवाले चीनले यस्तो घटनालाई आन्तरिक तथा अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारसम्बन्धी सिद्धान्तलाई ध्यानमा राखेर कारबाही गरिने पनि बताएकी छिन्। चीनको उत्तर कोरियाली भगौडाहरूलाई दमन गर्ने योजनाअन्तर्गत तिनीहरू पक्राउमा परेका हुन्।
चिनियाँ सुरक्षा सेवाले गत जुलाइदेखि सेप्टेम्बरबीच मात्र कम्तिमा ४९ जना उत्तर कोरियालीलाई हिरासतमा लिइएको जनाएको छ। तर मानव अधिकारवादी पहरेदार निकायले भने विगत एक वर्षभित्र ५१ जनालाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस्