घरदैलोमा जनता पाउनै मुस्किल



मधुसूदन रायमाझी, काठमाडौं
निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारले चुनावी अभियानलाई तीव्रता दिएका छन्। तर, निर्वाचनमा उत्साहित भएर लाग्नुपर्ने मतदाता भने त्यति धेरै उत्साहित हुन सकेका छैनन्।

निर्वाचनमा भोट माग्न मतदाताको घरदैलामा उम्मेदवार पुगेपछि राजनीतिक दलले गर्ने चुनावी सभामा जनताको सहभागिता अपेक्षाअनुसार नरहेको स्वयं राजनीतिक दलहरूले नै स्वीकार गरेका छन्।

विगतको निर्वाचनमा हुने चुनावी सभामा देखिने जनताको उत्साह यसपटकको निर्वाचनमा कम देखिएको छ। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबै उम्मेदवार आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रचार–प्रसारमा जुटेका छन्। १ सय ६५ प्रतिनिधिसभा र २ सय ३० सिटमा प्रदेशसभाको निर्वाचन दुई चरणमा हुँदै छ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्। निर्वाचनमा ६०⁄४० को भागवण्डा गरेर निर्वाचनमा होमिएका वाम गठबन्धनबीच त्यति धेरै उत्साह देखिँदैन।

यो निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन्। तर, नेपाली कांग्रेस भने वाम गठबन्धनलाई बहुमत ल्याउनबाट रोक्ने रणनीतिमा लागेको छ। स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने वाम गठबन्धनले सहजरूपमा बहुमत ल्याउने देखिन्छ। निर्वाचनको सम्भावित परिणामका बारेमा राजनीतिक दलहरूले जोडघटाउ शुरू गरेका छन्।

नेकपा माओवादी केन्द्रका नेता मणि थापाले आगामी निर्वाचनमा वाम गठबन्धनले सहजरूपमा बहुमत ल्याउने भनिएपछि कार्यकर्ता प्रचारमा कम खटिएको बताउनुहुन्छ। महँगो बन्दै गएको निर्वाचन प्रणालीका कारण पनि राजनीतिक दलका उम्मेदवारले सीमित मात्रामा कार्यकर्तालाई चुनावी अभियानमा समावेश गरेका छन्। धेरै कार्यकर्ता परिचालन गर्दा खर्च धान्न नसक्ने भएका कारण पनि कार्यकर्ता परिचालनमा कमी आएको बताइएको छ।

नेता थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा तर एकैपटक हुने भएकाले सबै आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिएका छन्, त्यही भएर पनि सोचेजस्तो माहोल आउन नसकेको हो।’ वाम गठबन्धनले सहजरूपमा निर्वाचन जित्ने भएकाले पनि धेरै कार्यकर्ता परिचालन नभएको उहाँले बताउनुभयो।

पहिलो चरणमा हुने निर्वाचन आउन १४ दिन मात्र बाँकी छ। उम्मेदवार मनोनय दर्ता गरेपछि पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा राजनीतिक दलहरू निर्वाचन जित्ने रणनीति बनाउन व्यस्त छन्।

चुनावी सभा, घरदैलोलगायतका कार्यक्रममा राजनीतिक दल जुटेका छन्।
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे निर्वाचनको मिति नजिकिँदै जाँदा मात्र जनतामा थप उत्साह थपिने बताउनुहुन्छ। उहाँले नेपालको राजनीतिक थप परिपक्क हुँदै गएको बताउँदै यसरी नै निर्वाचनको प्रचारप्रसार अगाडि बढ्नु राम्रो संकेत भएको बताउनुभयो। ‘राजनीतिक दलहरूको निर्वाचन अभियान शान्त र स्वास्थ्य हुँदै गएको छ’, नेता घिमिरेले भन्नुभयो– ‘निर्वाचनको सात दिनअघि मात्र मतदातामा उत्साह र उत्प्रेरणा बढ्छ।’

केही समयअघि मात्र स्थानीय तहको निर्वाचनमा मतदाताहरूको ऊर्जा खर्च भएकाले पनि सञ्चय हुन केही समय लाग्ने बताउँदै उहाँले निर्वाचनको माहोल मिति नजिकिँदै जाँदा मात्र बन्ने गरेको बताउनुभयो।

नेकपा एमालेका नेता ठाकुर गैरेले मतदाताहरूमा निर्वाचनप्रति आकर्षण बढ्दै गएको दाबी गर्नुभयो। देशभर एकैपटक निर्वाचन हुँदा क्रमशः जनतामा उत्साह बढ्दै गएको उहाँले बताउनुभयो।

निर्वाचनमा टिकट वितरणमा पनि धेरै नेताहरू असन्तुष्ट भएर निर्वाचनमा सहभागी भएका छैन्। निर्वाचनमा टिकट वितरण गर्दा नेताहरूले पार्टीमा लागेको त्याग र इमानदारिताभन्दा पनि नातावादलाई बढी महत्त्व दिएको असन्तुष्टि पनि राजनीतिक दलभित्र चुलिएको छ।

 

प्रतिक्रिया दिनुहोस्