वाम गठबन्धनलाई जिताउन भेला आयोजना



 

वीरगन्ज, (नेस)
एमाले र माओवादी केन्द्र निकट रहेको पत्रकारको संगठन प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त भेला आइतबार सम्पन्न भएको छ।

भेलाले आसन्न निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ। भेलामा एमालेका नेता नागेन्द्र चौधरीले माओवादी र एमालेले देश जनताको पक्षमा गरेको जनपक्षीय कामलाई जनताको पक्षमा कलम चलाएर सहयोग गर्न आग्रह गर्नुभएको थियो।

भेलामा माओवादीका पोलिटब्युरो सदस्य हरि मण्डलले गठबन्धनको भावनाअनुरूप अघि बढ्न आग्रह गर्नुभएको थियो भने एमालेका नेता प्रभु हजराले उम्मेदवार र गठबन्धनसँग निरन्तर सम्पर्क गरी समाचार सम्प्रेषण गरेर जनताको चाहानाअनुरूपको सरकार निर्माणमा सहयोग पुर्याउन आग्रह गर्नुभएको थियो।

सो अवसरमा प्रचार विभागका सदस्य अरविन्द सिंह, पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार शम्भु गुप्ताले सबैको अस्तित्व स्वीकार हुने खालको अवस्था निर्माणमा वाम गठबन्धनले जित्नुपर्ने धारणा राख्नुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य महेश दास, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारालगायतले प्रगतिशील पत्रकारले खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्