मिलेमतोमा ९६ लाख ठगेर बेपत्ता



मोतीराम तिमल्सिना, काभ्रे
सीएमए र अनमी अध्ययनका लागि देशका विभिन्न जिल्लाबाट अध्ययनका लागि बनेपा आएका ८० विद्यार्थी सञ्चालकको ठगीका कारण विचल्लीमा परेका छन्। वार्षिक १ लाख २० हजारका दरले ९६ लाख रुपियाँ संकलन गरेर ‘अध्ययनका लागि दिएको डेड लाख रकम त खाए खाए, हाम्रो वर्ष दिनको समय र भविष्यसमेत अन्धकार बनाए’, एक विद्यार्थीले भने– ‘बनेपामा रहेको नेसनल हेल्थ फाउण्डेसनका नाममा विद्यार्थी भर्ना गराएर सञ्चालक सदस्य सचिव शिलाकान्त झा र प्रशासन प्रमुख सुरज ज्ञवालीले दर्ता नै नभएको नुवाकोट टेक्निकल इन्स्टिच्युटको नाममा झुक्याएर फाराम भरेका रहेछन्।’ ‘शुक्रबारदेखि शुरू भएको फाइनल परीक्षामा समेत हामी सहभागी हुन पाएनौं’, उनले भने– ‘प्रशासन प्रमुख सुरज ज्ञवालीले शुक्रबारको परीक्षा हुन्छ भन्दै आइतबारसमेत परीक्षा दिने अवसरबाट वञ्चित गराए।’

नेसनल हेल्थ फाउण्डेसनले सीएमए र अनमी अध्ययनका लागि ४०⁄४० जनाको अनुमति प्राप्त गरेको छ। जिल्लामा काभ्रे हेल्थ ट्रेनिङ इन्स्टिच्युट र नेसनल हेल्थ फाउण्डेसनबाट १ सय ६० विद्यार्थीले अध्ययनको अनुमति प्राप्त गरेका छन्। तर नेसनल हेल्थ फाउण्डेसनले अनुमति भएको भन्दा दोब्बर विद्यार्थी अध्यापन गराउँदै आएको थियो। सोही इन्स्टिच्युटमा अध्ययन गरेकामध्ये ८० जनाले शुक्रबारदेखि बनेपा पोलिटेक्निक स्कुलमा भएको परीक्षामा सहभागी हुने अवसर पाए भने बाँकी ८० जना बिचल्लीमा परे।

बिचल्लीमा परेका ८० जनालाई सञ्चालक ज्ञवालीले बनेपा नगरपालिका वडा नम्बर ८ स्थित रामकुमार श्रेष्ठको घर भाडामा लिएर परीक्षा सञ्चालनको तयारी गरी प्रवेशपत्र वितरण गरेका थिए। ‘अध्ययन एउटामा प्रवेशपत्र अर्काे इन्स्टिच्युटको वितरण गरेपछि शंका लागेर बुझ्दा उल्टै प्रमाणपत्र भएन भनेर गाली गर्नुभयो’, एक विद्यार्थीले भने– ‘भोलिपल्टको परीक्षा बिग्रिने डरले केही नभनी चुपचाप बस्दाबस्दै ज्ञवाली बेपत्ता भएछन्, झा त केही महिना अघिदेखि नै बाहिर बस्दै आएको थाहा पायौं।’

विद्यार्थी ठगीका बारेमा प्रशासन प्रमुख सुरज ज्ञवालीले भने– ‘कलेज दर्ता नभए पनि हामीले माथिबाटै आस्वासन पाएर विद्यार्थीको फाराम भरेका हौं, विद्यार्थीको रजिस्ट्रेसन नभएको हो कलेज दर्ता भएको छ।’ सँगै पढेका सहपाठीले परीक्षा दिइसके भन्ने जिज्ञासामा ज्ञवालीले २९ महिनासम्म जहिले परीक्षा लिए पनि हुने जवाफ दिए। सीटीईभीटीमा दर्ता नभएको नुवाकोट टेक्निकल इन्स्टिच्युटकै नाममा ज्ञवालीले विद्यार्थीको नक्कली हस्ताक्षर गराएछन्।

विद्यालयका सञ्चालक सचिव शिलाकान्त झाले विद्यार्थीको भविष्य बिग्रिएकोमा दुःख लागेको बताए। ‘कानुनअनुसार जे सजाय भोग्न पनि तयार छौं’, उनले भने– ‘कोटा थप हुन्छ भनेर भर्ना लियौं। शिक्षामन्त्रीले निर्णय लिन सक्नुभएन। १६⁄१७ जनालाई ड्रप आउट भएका स्थानमा एडजस्ट गरायौं।’ ‘विद्यार्थीको एक वर्षको भविष्य अन्धकार बनाएका छौं तपाईं जे भन्नुस त्यही गर्न तयार छौं’ –झाले भने।

विद्यार्थीको विचल्ली बनाएर ज्ञवाली र झा शुक्रबारदेखि बेपत्ता छन्। मोबाइलमा उनीहरूले चितवन र राजधानी रहेको, परीक्षाको तयारीका लागि माथि मिलाउने प्रयास भइरहेको बताउँदै विद्यार्थीलाई भ्रमपूर्ण जवाफ दिएका छन्। नक्कली प्रवेशपत्र र नक्कली परीक्षा केन्द्रको तयारी गरेर उनीहरू दुवै फरार भएका हुन्।

सीटीईभीटीका कर्मचारीको मिलेमत्तोमा उनीहरूले नुवाकोट टेक्निकल इन्स्टिच्युटको प्रवेशपत्र वितरण गरेका थिए। परीक्षा नियन्त्रक दोब्बरलाल शिल्पकारले नुवाकोट टेक्निकल इन्स्टिच्युट दर्ता पनि नभएको र सोही विद्यालयबाट विद्यार्थीको रजिस्ट्रेसनसमेत नभएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्