राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने



काठमाडौँ, नेपाल तथा संयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको छ र आपसी सद्भावना र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहेका यी दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने त्यस मुलुकको भ्रमणले थप सहयोग पुग्ने परराष्ट्र मामिलामा कार्यरत व्यक्तित्वहरूको विश्वास छ ।

राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा औपचारिक भ्रमणका क्रममा कात्तिक २७ गते सोमबार त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन् र नेपालले सन् २००४ अप्रिल ११ मा अबुधावीमा कार्यवाहक राजदूत स्तरमा आवासीय दूतावास स्थापना गरेको हो । यस दूतावासलाई सन् २००७ डिसेम्बर ११ मा राजदूतावासमा परिवर्तन गरियो । युएईले पनि सन् २०१६ को मे १० मा नेपालमा आवासीय नियोग स्थापना गरेको हो ।

दुबै मुलुक संयुक्त राष्ट्र सङ्घ तथा असंलग्न आन्दोलनका सदस्य भएको र अन्तर्राष्ट्रिय मामिलामा दुबैले समान धारणा व्यक्त गरिरहेको अवस्थामा दुई मुलुकबीच आपसी सद्भावना तथा सहयोगमा आधारित हार्दिक तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको देखिन्छ ।

युएई नेपालका तेस्रो ठूलो व्यापार साझेदार हो तर नेपालको यस मुलुकसँगको व्यापार घाटा निकै ठूलो रहेको देखिन्छ । त्यसो त कूल गार्हस्थ उत्पादनका आधारमा युएई औपचारिक विकास सहयोगमा सबैभन्दा ठूलो दाता मुलुक हो ।

सन् १९७१ डिसेम्बर २ मा सात इमिरेट्सको सङ्घको रूपमा संयुक्त अरब इमिरेट्स स्थापना भएको हो । यसमा अबुधावी, अज्मान, दुबई, सारजाँ, उम्म अल कुवैन, फुजइराह रस अल खैमा रहेका छन् र यसको राजधानी अबुधावी हो । यो एक पेट्रोल निर्यातक मुलुक हो र यसको राजश्वको प्रमुख भाग यसैमा आधारित छ । दुबई यस मुलुकको सबैभन्दा ठूलो नगर हो ।

यी सात इमिरेट्स हरेकमा राजा (अमिर) छन् र उनीहरूको संयुक्त निकाय सङ्घीय सर्वोच्च परिषद्को पनि व्यवस्था छ । अबुधावीका अमिरलाई यहाँ संयुक्त अरब इमिरेट्सको राष्ट्रप्रमुखको रूपमा छनोट गरिन्छ । त्यसो त ७७ हजार ७०० वर्ग किलोमिटर क्षेत्रफल भएको यस मुलुकको ८६.७ प्रतिशत भाग अबुधाबीले मात्रै ओगटेको छ । यहाँको जनसङ्ख्या ९२ लाख भए पनि यी इमिरेट्सको जनसङ्ख्या १४ लाख मात्र भएको र बाँकी ७८ लाख जनता अन्य मुलुकबाट भित्रिएका नागरिक भएको शिष्टाचार महापाल दीपक अधिकारी बताउनुहुन्छ ।

यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुबई इमिरेटको भ्रमणमा पनि जानुहुनेछ । परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछ ।

शिष्टाचार महापाल अधिकारीको युएईमा यसअघिको चार वर्षको बसाइ तथा काम गराइको अनुभव छ । उहाँको अनुभवमा अबुधावी युरोप तथा अमेरिकी मुलुकहरूका लागि हवाई यातायातको केन्द्रको रूपमा सञ्चालित छ र यहाँबाट नेपालमा दैनिक ५ देखि ७ उडानसम्म हुने गरेको छ । युएईसँगको सम्बन्ध विस्तार हुँदा नेपालतर्फ अमेरिकी तथा युरोपेली पर्यटकको भ्रमण विस्तार हुनसक्ने धारणा उहाँको छ ।

युएईमा दुई लाखभन्दा बढी नेपाली कामदार रहेको बताइन्छ । नेपाली कामदारका लागि पछिल्लो समय यो एक राम्रो गन्तव्य स्थलका रुपमा विकसित हुँदै गएको छ । उहाँले युएईमा सीपयुक्त र पेशागत नेपाली श्रमिकको सङ्ख्या अधिक रहेको र आयकर नलाग्ने क्षेत्रमा नेपालीहरूले रामै लगानी गरिरहेको बताउनुभयो ।

युएईमा भारतीय, पाकिस्तानी, फिलिपिनो तथा श्रीलङ्काली श्रमिकको सङ्ख्या पनि निकै ठूलो छ । बेलायती नागरिककै सङ्ख्या पनि युएईमा एक लाखभन्दा बढी रहेको अनुमान छ ।

अरब प्रायःद्वीपमा महङ्गो नगरमध्यमै पर्छन् अबुधावी तथा दुबई तर महापाल अधिकारीका अनुसार यहाँ सुरक्षाको प्रत्याभूति छ र कानूनी व्यवस्था राम्रो छ । शहर सफा, राम्रो र विकसित छन् । उहाँ नेपाली सीपयुक्त कामदारका लागि संयुक्त अरब इमिरेट्स राम्रो कार्यस्थलको रूपमा देख्नुहुन्छ ।

परराष्ट्र मन्त्रालयमा राजनीतिक सम्बन्ध हेर्नुहुने सहसचिव तीर्थराज वाग्ले युएईलाई आधुनिक, खोजमूलक तथा निर्माण कार्यले गति लिइरहेको क्षेत्रको रूपमा हेर्नुहुन्छ । यस मुलुकको विकास तथा निर्माणको प्रक्रियामा नेपाली श्रमिकको ठूलो योगदान रहेको उहाँ ठान्नुहुन्छ । उहाँ स्थानीय लगानी, पश्चिमी सीप तथा एसियाली श्रमिकका कारण नै संयुक्त अरब इमिरेट्स विकसित भएको बताउनुहुन्छ । उहाँले श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा राष्ट्रपतिको भ्रमणका बेला छलफल हुनसक्ने बताउनुभयो ।

भ्रमण क्रममा राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजना गरिने एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ ।

सहसचिव वाग्लेले दिगो ऊर्जा विकासका लागि युएईले निकै प्रयास गरिरहेको र उसले प्राप्त गरेका उपलब्धि नेपालका लागि पनि उपयोगी हुने बताउनुभयो । उहाँले यस मुलुकको लगानी नेपाली निर्यात उत्पादनको क्षेत्रमा भित्र्याउन सकिए नेपालभित्रै रोजगारी सिर्जना गर्न सकिने र त्यसले युएईमा सिकेका सीप नेपालमा उपयोग गर्न सघाउने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार यस विषयमा सरकारी स्तरमा छलफल तथा कार्य भइरहेको छ ।

सहसचिव वाग्लेले हाल युएईमा सँस्कृति, खेल तथा युवा आदानप्रदानमा विशेष रूपमा काम भइरहेको र यस भ्रमण कालमा यो पनि छलफलको विषय हुनसक्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा उहाँकी छोरी निशाकुसुम भण्डारी, आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधिहरु रहनेछन् ।

नेपाल तथा युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वर्ष पुगेको सुखद अवसरमा यस भ्रमणले यी दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने धारणा राष्ट्रपतिका सञ्चार सल्लाहकार माधव शर्मा व्यक्त गर्नुहुन्छ । उहाँले यस भ्रमणबाट दुई मुलुकबीच श्रम, सीप तथा लगानीको क्षेत्र विस्तार गर्न निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कनुहुनेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्