खेत जोतेर मतदाता फकाउँदै उम्मेदवार



शेरबहादुर थापा, सुर्खेत ।
प्रतिनिधिसभाका उम्मेदवार नवराज रावत मतदाता भेट्न खेतमै पुगे । गोरु जोत्दै गरेकाहरूले उम्मेदवार भेट्न खेतमै आउँदा रमाइलो माने । चौकुने गाउँपालिका–३ सोभानचौर सुर्खेतमा खेत जोतिरहेका मतदातालाई भोट मागेर फकाउँदै गोरु आफैंले जोते । त्यो देखेर स्थानीय मतदाता हर्षित बने ।

जिल्लाकै विकट धनरास, लगामलगायतका गाउँका खेतबारीमा गोरु जोत्दै गरेका मतदातालाई भेट्न उम्मेदवार पुगेका थिए । यता प्रदेशसभा ‘ख’ का उम्मेदवार विन्दमान विष्टपनि जिल्लाको चौकुने गाउापालिकाको लगाम, धनरासलगायतका किसानको खेतखेत चहारिरहेका छन् । धान काटेर हिउँदे बाली लगाउन व्यस्त किसानका खेतबारीमै पुगेका रावत आफैंले हलो समातेर आफू पनि किसानकै छोरा भएको सन्देश दिए । ‘चुनावमा मत माग्न खेतमै उम्मेदवार आएको कहिल्यै जानेको थिइनँ,’ सोभानचौरका स्थानीय केशर नामजालीले भने, ‘अहिले खेतमै उम्मेदवार आएर मलाई भोट दिनुस् है भनिरहेका छन् ।’ चुनावका बेला खेतमै नमस्कार गर्दै आउने उम्मेदवारलाई जितेपछि गाउँ नबिर्सन मतदाताले सुझाएका छन् ।

यातायातको पहुँच सहज नहुँदा सदरमुकाम पुग्न झण्डै १ दिन लाग्ने बाध्यता रहेको उक्त क्षेत्रका बासिन्दाले कृषिभन्दा विद्युत, सडक, स्वास्थ्य र शिक्षामा जोड दिन उम्मेदवारलाई सुझाएका छन् । ‘वर्षाका ६ महिना सडक ठप्पै हुन्छ । हामीले प्रदेशको सम्भावित राजधानी सुर्खेत जिल्लाका स्थायी बासिन्दा भएको अनुभूति गर्नै पाएका छैनौं,’ स्थानीय विमला रानाले भनिन्, ‘अब जित्ने उम्मेदवारलाई सदरमुकामसम्मको कालोपत्रे बाटो हाम्रो मुख्य माग हो ।’ त्यहाँका मतदाताले सडकलाई केन्दीय योजनामा पारि विकास गर्न, २५ शय्याको अस्पताल, कृषिमा आधुनिकीकरण, जलविद्युत्लाई चुनावी एजेण्डा बनाएका छन् ।

स्थानीय मतदाताले बाँगेशिमल भन्दा पश्चिमतर्फ अहिलेसम्म विजुली नगएको, वर्षमा तीनपटक खेतिहुने पश्चिमी क्षेत्रमा व्यवसायीक कृषि अवलम्बन गर्न नसकिएको, स्तरीय क्याम्पस नभएको, सडकको अवस्था नाजुक रहेको, बर्षमा ६ महिना मात्रे सञ्चालन हुने सडकमा १ मात्र थोत्रो जीप जाने गरेको, पर्याप्त काठ उत्पादन हुने षेत्रमा जनताले काठ नपाएको जस्ता गुनासाहरु आफुसमक्ष मतदाताले पोख्ने गरेका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका रावत भने खेतखेतमा आफूलाई जिताएर पठाएको खण्डमा विजुली लयाउने, सडकलाई केन्द्रीय बजेटमा पारेर स्तरीय बनाउने, कृषिलाई आधुनिकिकरण गर्ने र विद्यापुर बहुमुखी क्याम्पसलाई थप व्यवस्थित पार्ने प्रतिबद्वता व्यक्त गर्दै हिडेका छन् ।
घरदैलोमा व्यस्त प्रदेस सभा ‘ख’ का उम्मेदवार विन्दमान विष्टले विगतजस्तो केन्द्रीकृत विकास नभई अब गाउँबाटै योजना बाँडफाँट र विकास बजेट ल्याउन सकिने भएकाले ढुक्क हुन मतदातालाई आग्रह गरेका छन् । उनले वाम गठबन्धन भन्दा पनि चुनाव लगत्ते एउटै पार्टी बन्ने भएकाले पनि जनताहरु उत्साहित भएको पाएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्