कम्युनिष्ट शासन आए धार्मिक स्वतन्त्रता समाप्त हुन्छः प्रधानमन्त्री देउवा



नेपाल समाचारपत्र,पाँचथर ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरु धर्म र सस्कृति बिरोधी भएकोले उनीहरुले भने जस्तो शासन आए नेपालको धार्मिक स्वतन्त्रता समाप्त हुने बताउनुभएको छ ।

नेपालका १६ औं विभूति तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङदेनको १ सय ३३ औं जन्म जयन्तिका अवसरमा पाँचथरको लब्रेकुटीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा भन्नु भएको हो ।

प्रधानमन्त्री देउवाले कम्युनिष्ट नेताहरुले भने जस्तो शासन आएमा हालसम्मका आन्दोलन र क्रान्तिहरुका माध्यमबाट प्राप्त सबै नागरिक हक अधिकार समेत गुम्ने बताउनुभयो । उहाँले माओवादी केन्द्र र एमालेबीच भएको बाम गठबन्धनको माध्यमबाट कम्युनिष्ट एकता गरी कम्युनिष्ट शासन ल्याउन खोजिएको आरोप पनि लगाउनुभयो । उहाँले धर्म,संस्कृति र परम्परा सहित नागरिकका मौलिक स्वतन्त्रताहरुको रक्षाको लागि आसन्न निर्वाचनमा लोकतन्त्र पक्षधरहरुलाई भोट दिन आह्वान गर्नुभएको थियो ।

उहाँले सबै जातजाति, भाषा—भाषी, धर्म—संस्कृतिको जगेर्ना र लोकतन्त्रको रक्षा गर्ने पार्टी नेपाली काँग्रेस मात्र रहेकाले कांग्रेसको विजय भएमा लोकतन्त्रको रक्षा गर्र्दै फाल्गुनन्दको तपोभूमीमा किराँत साँस्कृतिक अध्ययन केन्द्र तथा विश्वविद्यालय खोल्ने आश्वासन दिनुभयो ।

कम्युनिष्ट पाटीप्रति आक्रमक रुपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री देउवाले लोकतन्त्रमा मात्र जनता मालिक हुने बताउँदै बोल्न लेख्न पाउने र डरत्रास विनाको शासन व्यवस्था काँग्रेसको लक्ष भएको बताउनुभयो ।

मंसिर १० र २१ गतेको निर्वाचन कम्युनिष्ट र लोकतन्त्र पक्षधर बीचको जनमत संग्रह जस्तै भएको बताउदै प्रधानमन्त्री देउवाले काँग्रेस बाहेक अर्को कुनै शक्ति प्रजातन्त्रको पक्षधर नभएको आरोप समेत लगाउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएको वर्तमान संविधान कार्यान्वयनको जिम्मा लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलले मात्र गर्न सक्ने र कम्युनिष्टहरुले संविधानको प्रस्तावनादेखि भावना प्रतिकूलका अभिव्यक्ति दिएकोले उनीहरुको बल पुगेमा जनताका अधिकार सुरक्षित भएको संविधानमाथि पहिलो प्रहार हुने पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवाले त्यसअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्नुभएको थियो । नेपालका १६ औं विभुती तथा किरा“त धर्मका प्रर्बतक फालग्ुनन्द लिङदेनको १ सय ३३ औं जन्म जयन्ती आज पाँचथर सहित पुर्बी नेपालका विभिन्न स्थानमा भव्यताका साथ मनाइएको छ ।

फल्गुनन्द जयन्तीको अवसरमा पारी आज पाचथरको फिदिम ५ स्थित १७ थुम गोश्वारी मन्दिर सहित विभिन्न्न किराँ“त माङहिम हरुमा पुजा आजा र औपचारिक कार्यक्रम आयोजना फाल्गुनन्द जयन्ती मनाइएको हो ।

कार्यक्रममा कांग्रेस नेता बालकृष्ण खाड,कांग्रेसकै केन्दीय सदस्य तथा पाँचथरवाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार भिष्मराज आङदेम्वे,पुर्व गृहराज्य मन्त्री दीपकप्रकाश वास्कोटा र पाँचथर क बाट कांग्रेसका प्रत्यक्ष उम्मेद्वार नरेन्द्रकुमार केरुङ लगायतका वक्ताले फाल्गुनन्द जयन्तीको सान्दर्भिक्ताबारे बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्