काँग्रेस सधैँ शेर्पा समुदायको साथमा छः प्रधानमन्त्री देउवा



सोलुखुम्बु, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पासाङल्हामु शेर्पालाई आफू सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताउनुभएको छ ।

आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको प्रशंग उल्लेख गर्दै काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ भन्नुभयो ।
उहाँले योपटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै काँग्रेसले नै प्रदेशसभाको प्रत्यक्षतर्फ आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको बताउनुभयो ।

सो अवसरमा काँग्रेस सभापति देउवाले मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्मेदवार आङ्गेलु शेर्पाले लुक्लाको सुर्केसम्म कालोपत्र सडक पु¥याउन माग गर्नुभयो । उम्मेदवार शेर्पा र स्थानीयवासीको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दुई वर्षभित्र सुर्केसम्म कालोपत्र गर्ने र सोलुदूधकुण्ड नगरपालिकमा एउटा राष्ट्रियसभा गृह बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चुनावी कार्यक्रममा प्रदेशसभाका उम्मेदवार शेर्पाले आफूलाई यहाँका जनताले निर्वाचित गर्ने विश्वास व्यक्त गर्दै चुनाव जितेपछि १ नं प्रदेशकै नमूना क्षेत्र बनाउने बताउनुभयो ।

कार्यक्रममा खुम्बु क्षेत्रका अगुवाले त्यहाँको विकास निर्माणमा ध्यान दिन माग गरेका थिए । लुक्लाको चुनावी कार्यक्रम सकेर प्रधानमन्त्री देउवा आजै काठमाडौँ फर्कनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्