पेट्रोलियम पाइपलाइन निर्माणमा घर टहरा बाधक



दीपेन्द्र थापा, काठमाडौं

नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माणको स्थलगत अध्ययनका गरी भारतीय आयल कर्पोरेसन (आईओसी) को टोली शनिबार स्वदेश फर्किएको छ। निर्माणाधीन पाइपलाइन प्रगति विवरणबारे अध्ययन गर्न आईओसीका निर्देशक अनिश अग्रवालको नेतृत्वमा तीन सदस्यीय टोली बिहीबार नेपाल आएको थियो।

आपूर्तिसचिव कृष्णप्रसाद देवकोटाको नेतृत्वमा रहेको नेपाली टोलीमा आयल निगमका प्रबन्ध निमित्त निर्देशक सुशील भट्टराई र प्रवक्ता वीरेन्द्र गोइत तथा भारतीय आयल निगम (पाइपलाइन) निर्देशक अनिश अग्रवालको नेतृत्वको भारतीय टोलीमा सोही विभागका प्रमोद नारङ र भारतीय आयल निगमका महाप्रबन्धक एसएस बोस सहभागी संयुक्त टोलीले स्थलगत अध्ययनमा सहभागी थिए।

आईओसीको टोलीले नेपालमा रहँदा मोतीहारीदेखि अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन कार्यको स्थलगत अध्ययन गरेको थियो भने पर्साका सीडीओ, वीरगन्जका मेयरसहित अन्य सरोकारवालासँग छलफल गरेको थियो। अमलेखगन्जदेखि रक्सौलसम्मको निरीक्षण क्रममा संयुक्त टोलीले त्यस क्षेत्रमा भइरहेको सडक विस्तार पाइपलाइन बिछ्याउन सहज हुने भए पनि कतिपय स्थानमा ३ सय २४ घर टहरा र विद्युत् खम्बा तथा ट्रान्सफर्मर हटाउनुपर्ने निष्कर्ष निकालेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो।

वीरगन्जको गण्डकचोक र रजत जयन्तीचोकलगायतका क्ष्ँेत्रमा घर टहरा भत्काउने विषयमा स्थानीय प्रशासनसँग छलफल भएको थियो। रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आयोजनाका मेकानिकल इन्जिनियर सरोजप्रसाद पौडेलले पेट्रोलियम पाइपलाइन बिस्तारको काम अगाडि बढेको बताउनुभयो। भारतले समेत निर्माणको लागि टेन्डर आह्वान गरिसकेको पौडेलले बताउनुभयो।

१२ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपलाइन निर्माण क्रममा रहेको छ। जनवरीदेखि काम शुरू गरेर ३६ महिनामा भारतको मोतीहारीदेखि निगमको अमलेखगन्ज डिपोमा पाइपलाइन जोडिने पौडेलले बताउनुभयो। आईओसीको टोलीले आयोजनाको भौतिक पूर्वाधारको निर्माण कार्य, व्यवस्थापकीय प्रक्रिया र निर्माण सामग्री वस्तुगत अध्ययन गरेर फर्किएको हो।

सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो।कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको पाइपलाइन निर्माणममा आईओसीको २ अर्ब र नेपालको ७५ करोड भारतीय रुपियाँ खर्च हुने छ। पाइपलाइनबाट प्रतिघण्टा १ सय ९१ किलोलिटर पेट्रोलियम पदार्थ रक्सौलबाट अमलेखगन्जसम्म आउने छ। त्रिभुवन राजपथको किनारैकिनार जमिनमुनि बिछ्याइने छ। पाइपलाइन निर्माण भएपछि ढुवानी खर्चमा निगमको वार्षिक ३६ करोड रुपियाँ बचत हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्