इटालीले अर्को खेल जित्नैपर्ने



 

लन्डन, (एजेन्सी)
इटालीले स्विडेनलाई सोमबार राति सानसिरोमा हुने दोस्रो लेग खेलमा हराउनैपर्ने भएको छ। ४ पटकको विश्व च्याम्पियन इटालीले शुक्रबार राति पहिलो लेग खेल १–० ले गुमाएको थियो। जेकोब जोहानसनको एक मात्र गोलमा इटाली स्टकहोममा हारेको थियो। आगामी वर्ष रसियामा हुने विश्वकपमा इटाली नपुग्ने संभावना त्यति नै रहेको छ। यदि घरेलु मैदानमा २–० को स्पष्ट जित हात पार्न नसकेमा इटाली ६० वर्षपछि पहिलो पटक विश्वकपमा सहभागिता हुनेछैन। इटाली विश्वकपमा पहिलो पटक सन् १९५८ मा छनोट भएको थिएन।

पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको इटालीलाई स्विडेनले ६१औं मिनेटमा पछि पारेको थियो। जोहानसनले डेनील डी रोसीद्वारा डिफ्लेक्ट भएको बलमा गोल गरेका थिए। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोलसमेत थियो। स्विडेन यो जितले विश्वकप पुग्न ९० मिनेट टाढा रहेको छ। टोलीका लागि आगामी खेल बराबरी खेले पुग्नेछ।
यसअघि विश्वकप अन्तर्गत समूह चरणमा इटाली र स्विडेन दोस्रो स्थानमा रहेका थिए। इटालीको समूहबाट स्पेन र स्विडेनको समूहबाट फ्रान्स सिधै विश्वकपमा छनोट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्